गोठबाट सल्किएको आगोले ३ घर र ६ गोठ जलेर नष्ट

 फागुन ३०, २०७६ शुक्रबार ७:२८:५७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – कालीगण्डकी गाँउपालिका ५ बाँसटारीमा आगलागीभएको छ । स्थानीय नेत्रप्रसाद न्यौपानेको गोठबाट सल्किएको आगोले तीन घर र ६ गोठ तथा कटेराहरु जलेका छन् । 

आगलागीबाट २३ लाख १३ हजार रुपैयाँ बराबरको प्रारम्भिक क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो । 

नेत्रप्रसाद न्यौपानेको गोठमा कुडो पकाउनको लागि बालिएको आगोे गोठमा सल्किएर वपिरि फैलिएकाले ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीमा नेत्रप्रसाद न्यौपानेको एउटा गोठ तथा एउटा कटेरो जलेको छ भने दुई वटा भैँसी जलेर मरेका छन् । आगलागीबाट छिमेकी तोलाकान्त न्यौपानेको टिनले छाएको गोठ जलेको छ भने दुई भैँसी घाइते भएका छन् ।

यसैगरी सन्तोष पाण्डेको दुई वटा कच्ची घर तथा एउटा कटेरो जलेको प्रहरीले जनाएको छ । आगलागीमा ताराप्रसाद न्यौपानेको गोठ र कटेरो जलेको छ भने रामप्रसाद न्यौपानेको घर आंशिक रूपमा जलेको छ । 

प्रहरी, बेल्टारी आर्मी क्याम्पबाट खटिएका नेपाली सेना तथा स्थानीबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

‘आगो लागेको सूचनापाउनासाथ वालिङबाट दमकलसहितको १५ जना प्रहरीको टोली घटनास्थलमा पठाएका हौँ’, वडा प्रहरी कार्यालय वालिङका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरन्जन घिमिरेले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया