बिदामा आएका श्रमिकले पुन: श्रम स्वीकृति नपाउने, प्रतिबन्ध नखुल्दासम्म पर्खन आग्रह

 फागुन ३०, २०७६ शुक्रबार १४:२९:४७ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीबाट घर बिदामा फर्किनुभएको छ ? कोरोना भाइसरका कारण पुन: श्रम स्वीकृति पाइन्छ या पाईंदैन भनेर अन्यौलमा पर्नुभएको छ ? अथवा स्वदेश फर्किने तयारीमा हुनुहुन्छ, तर कोरोनाको जोखिमका कारण फर्किन पाइन्छ कि पाईंदैन भनेर अलमलमा हुनुहुन्छ ?

वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेतका अनुसार विदेशमा रहेका नेपालीलाई स्वदेश फकर्न रोक नलगाए पनि वैदेशिक रोजगारीमा जानेले पुन: श्रम स्वीकृति भने पाउँदैनन् । श्रम स्वीकृतिको म्याद ९१ दिन बाँकी छ भने विदेश फर्किन सकिने, तर सरकारले पुन: श्रम स्वीकृति भने नदिने प्रमुख बस्नेतले बताउनुभयो । 

‘पासपोर्टमा जति दिनको श्रम स्वीकृतिको म्याद भए पनि हामी रोक्दैनौं, तर यस्तो बेलामा आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ’ प्रमुख बस्नेत भन्नुहुन्छ, ‘अहिले सरकारले अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द गरेको पनि आफ्नो नागरिकको सुरक्षाकै लागि हो, त्यसैले विदेश जानुभन्दा पनि यस्तो बेला सतर्कता अपनाऔं ।’
शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले घरमै १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ । 

यस्तै कोरोना भाइरसको संक्रमण जोखिम धेरै भएको आठ देश इरान, इटली, दक्षिण कोरिया, जापानका, स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई सरकारले आउँदो वैशाख १८ गतेसम्मका अनअराइभल भिसामा बन्द गरेको छ । 

तर यी देशसहित सबै सबै देशमा रहेका नेपाली नागरिकले चाहेमा र ती देशले पठाएमा स्वदेश फर्कन सक्छन् । तर श्रम स्वीकृति लिएर काममा फेरि फर्किनुपर्ने श्रमिकले भने यस्तो अवस्थामा पुन:श्रम स्वीकृति भने पाउने छैनन् ।

स्वदेश फर्किएका कतिपयको फर्किनुपर्ने समय गुज्रिसकेको हुन सक्छ । तर यस्तो अवस्थामा कोरोनाको जोखिमबाट बच्न र उच्च सतर्कता अपनाउन ताहाचल कार्यालयका प्रमुख बस्नेत आग्रह गर्नुहुन्छ । 

‘गन्तव्य देशहरुले कोरोनाको जोखिम कम छ भनेर भन्नेबित्तिकै त सरकारले श्रम खुलाइनै हाल्छ,’ उहाँ भन्नुहुन्छ, ‘यसबेला भिसा सकियो भने बरु स्वदेश फर्कनुहोस्, यहीँ हुनुहुन्छ भने पनि आफू र आफ्नो परिवार सुरक्षित रहनुहोस् ।’

अहिले नेपालीको श्रमको प्रमुख गन्तव्य देशहरुमा पनि कोरोनाको जोखिम बढ्दो छ । यूएईमा त दुई नेपाली श्रमिकमा नै कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । कतारले नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ भने कतारमा कार्यररत श्रमिक बिदामा नेपाल फर्किएका छन् भने प्रतिबन्ध नखुल्दासम्म कुर्न कतारको गृह मन्त्रालयले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

3 Comments

  • Chakra bista

    March 16, 2020, 8:48 p.m.

    सरकारको कुरा डबल स्ट्याण्डर्ड भयो, स्पस्ट भन्नुपर्यो कि श्रम भए पनि नभए पनि जान रोक लागेको छ / नभए डेट एक्सपायरलाई नदिने भएकोलाई दिने यस्तो पनि हुन्छ र !!

  •  0 Reply
  • Pujan adhikari

    March 14, 2020, 8:55 p.m.

    म पनि छुट्टीमा आएको छु , त्यसैले अप्रिल ९ मा फर्कनुपर्छ /मैले पनि श्रम स्विकृती गरेको छैन , कहिले खुल्छ होला ??

  •  0 Reply
  • Bipan Rai

    March 14, 2020, 8:09 a.m.

    म छुट्टीमा आएको , अप्रिल १ मा फर्किनुछ र श्रम गरेको छैन / अब के गर्नु ? कहिले खुल्छ ??

  •  0 Reply

तपाईको प्रतिक्रिया