ग्यास आयातको परिमाण बढाइयो, एक हप्तामा सहज हुने

 चैत २, २०७६ आइतबार ७:३१:१९ | रासस
unn.prixa.net

काठामाण्डौ - सरकारले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएकाे भन्दै बजार अनुगमन गर्न थालेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वय‌म उपभोक्ताको भेषमा काठमाण्डौ र पोखराको बजार अनुगमनमा निस्कनुभएको हो । फागुन अन्तिम हप्तादेखि नै काठमाण्डौको विभिन्न ठाउँको स्थलगत अनुगमन गर्न थालिएको छ  ।

कोरोनाको त्रासका कारण आपूर्ति प्रणालीमा समस्या आएको, खाद्यान्न, औषधि तथा इन्धनको अभाव रहेको खबर आएपछि अनुगमनलाई तीव्र बनाइएको मन्त्री भट्टले बताउनु भएको छ । 

काठमाण्डौमा भने नेपाल ग्यासमा उपभोक्ताको चाप देखिएको छ । उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै सङ्कट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका कारण ग्यास चाप देखिएकाे हाे । 

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले ग्यासको अभाव हुनसक्ने आशङ्कामा सर्वसाधारणले ग्यास भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताउनुहुन्छ ।

‘ग्यास आपूर्तिमा कुनै समस्या छैन, निरन्तर नै ग्यास आइरहेको छ’, उहाँ भन्नुहुन्छ, ‘एक सातामा बजारमा देखिएको हाहाकार समाप्त हुन्छ ।’ 

ग्यासको आयात बढाएका छौैँ : निगम

नेपाल आयल निगमले बजारको मागअनुसार नै आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने जनाएको छ । अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असन्तुलन हुन पुगेको निगमको भनाइ छ । 

निगमका प्रवक्ता वीरेन्द्र गोइतले अभाव हुन्छ भन्ने त्रासका कारण सर्वसाधारणले ग्यास भरेको सिलिण्डरको मौज्दात राख्न खोज्दा केही समस्या देखिएको बताउनुभयो । 

उहाँले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासका आयात बढाइएको बताउनुभयो । ‘हामीले उद्योगीलाई माग अनुसारको ग्यास ल्याउन भनेका छाैँ ’, उहाँले भन्नुभयो, ‘उद्योगीको मागअनुसार ‘पर्चेज डेलिभरी अर्डर’ निगमले दिइरहेको छ ।’
    
नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह

अभाव हुने त्रासका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न आग्रह गरेकोे छ । निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो । 

एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया