ट्राफिक नियमको पालना गरी सभ्य नागरिकको परिचय दिऔँ

 चैत ४, २०७६ मंगलबार १७:३०:३४ | जीवनकुमार श्रेष्ठ
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाको पहिलो आधुनिक सडक हो, जडीबुटी –सूर्यविनायक  सडक खण्ड । यस सडकखण्डमा ६ लेन छन् जसमध्ये चार वटा लेन मुख्य सडक र दुई वटा सहायक लेन हुन् ।

यो सडकखण्ड प्रयोग गर्ने सर्वसाधारण, चालक, सहचालक, यातायात व्यवसायी, सरोकारवाला निकाय र स्थानीयसँगको छलफलपछि यो सडक खण्डलाई नमुना सडक बनाउने भनेर अन्तर्राष्ट्रिय नियमलाई अनुसरण गर्ने भनेर निर्णय गर्यौँ । त्यसै अनुसार गएको फागुन १४ गते जडीबुटी–सूर्यविनायक सडकखण्डमा लेन नियम लागू भयाे । 

अन्तर्राष्ट्रिय नियम र प्रचलन अनुसार यात्रुवाहक गाडी, मिनि बस, माइक्रो बस र मालवाहक गाडीहरु बिस्तारै गुड्छन् र ती सबै गाडीहरु बायाँ अथवा देब्रे लेनबाट चलाउनुपर्छ । त्यस्तै नरोकिइ र छिटो चल्ने गाडीहरु दाँया अथवा दाहिने लेनबाट चलाउनुपर्छ । 

यो नियम विश्वमा सबैतिर पालना हुन्छ । यसलाई हामी पनि पालना गराैँ भनेर ट्राफिक प्रहरीले यो नियम लागू गर्‍यो जुन अहिले निकै प्रभावकारी भइरहेको छ । 
यो नियम लागू गर्नुको मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण गर्नु र जाम हटाउनु हो । सबैभन्दा महत्वपूर्ण भनेको सडक सभ्यता कायम गर्नु हो । 

यो नियम लागू भएपछि त्यो सडकखण्डमा भइरहेको जाम पनि कम भएको छ । जथाभाबी गाडी, मोटरसाइकल चलाउँदा भएका दुर्घटना पनि कम भएको पाएका छौँ । 
यो सडकखण्डमा लागू भएको नियम कार्यान्वयन भएको वा नभएको अनुगमन गर्न स्थानीय प्रहरी र ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को राेहबरमा अनुगमन टोली पनि गठन गरेको थियाे । जसले १० दिन यो नियमको पालना भए वा नभएको, कत्तिको प्रभावकारी रहेको जस्तो अनुगमन गरेको थियो । 
अनुगमनका क्रममा प्रायः काठमाण्डौ उपत्यकाबाहिरबाट आएका गाडी र केही चालकबाहेक सबैले यो नियम पालना गरेको पाइएको छ । यस नियमको पालना र कार्यान्वयनको प्रभावकारिताका बारेमा अहिले त्यहाँ रहेको स्थानीय प्रहरी र ट्राफिक प्रहरीले निरन्तर निरीक्षण गरिरहेको हुन्छ र गरिरहेको छ । 

अहिले हामीले यो नियमको पालना नगर्ने चालकलाई कारबाहीको प्रक्रियामा ल्याएका छौँ । म यो नियमको पालना गराैँ र कारबाहीको भागीदार नबनौँ भनेर ट्राफिक प्रहरीको तर्फबाट अनुरोध पनि गर्न चाहन्छु । 

ट्राफिक प्रहरीले यही सडकखण्डमा लागू गरेको लेन नियमलाई गएको आइतबारबाट कोटेश्वर–कलङ्की सडकखण्डमा पनि लागू गरेको छ । पहिलो चरणको छलफलको निष्कर्ष अनुसार कोटेश्वर–कलङ्की सडकखण्डमा पनि लेन नियम लागू गरिएको हो ।  

यसलाई प्रभावकारी बनाउन विभिन्न सन्देशसहितको ब्यानरहरु बनाएर राखेका छौँ । कोटेश्वर–कलङ्की सडकखण्डमा पनि जडीबुटी–सूर्यविनायक सडकखण्डमा जसरी नै गाडीहरु गुड्छन् ।

यो सडकखण्ड नेपालको सबैभन्दा आधुनिक सडक खण्ड हो । यस सडकखण्डमा राम्रो सर्भिस ट्रयाक छ । 

यो नियममा लागू भएको स्थानमा सबैले आफ्नो गाडीको वर्गीकरणलाई बुझेर बायाँ र दायाँ लेन छानेर गुड्नुपर्छ । फेरि बायाँ लेनमा गुड्ने गाडी दायाँ आउन नपाउने र दायाँ लेनमा चल्ने गाडीले बाँया लेनमा जानै नपाउने भन्ने होइन । गाडीहरुले सुरक्षित रुपमा ओभरटेक गरी अर्काे लेन प्रयोग गर्न पाँउछन् । तर त्यही लेनमा चल्न पाउँदैनन्  । ओभर टेक गरिसकेपछि फर्किएर सुरक्षित रुपमा आफ्नै लेनमा आउनुपर्छ । 

यो नियमले सडकलाई मर्यादित बनाउनुको साथै सबैलाई अनुशासित र सभ्य हुन मद्दत पनि गर्छ  । यसको सबैलाई फाइदा छ । 

सडकमा भाडा र मालवाहक गाडीहरुले दायाँ लेन प्रयोग गरेर गुड्दा ती गाडी रोकिँदा छिटो गुड्ने गाडीले पनि रोकिने गर्नुपरेको छ । यसले सडकमा जाम हुनुका साथै यात्रुले पनि असुरक्षित तरिकाले यात्रा गर्नुभएको हुन्छ । यो नियमले यात्रुलाई सुरक्षित रुपमा गाडी चढ्न र गाडीबाट झर्न सहयोग गर्छ । दायाँ र बायाँ लेनको वास्ता नगरि गाडी हाँक्ने चालकलाई संयमित बनाउँछ । 

त्यसैले सबै नागरिक, यातायात व्यवसायी, व्यक्ति, भाडा र मालवाहक गाडी, मोटरसाइकल चलाउने चालकहरुलाई ट्राफिक प्रहरीको तर्फबाट म नियम पालना गर्न अनुरोध गर्छु । ट्राफिक प्रहरीले यो नियमको बारेमा केही दिन जानकारी दिनेछ र त्यसपछि नियम नमान्ने चालकहरुलाई सवारी तथा यातायात ऐन अनुसार कारबाही पनि गर्नेछ ।  

त्यसैले सबैजनाले कारबाहीमा पर्नुको साटो ट्राफिक नियमको पालना गरी सुरक्षित, अुनशासित, र मर्यादित भइ सडक सभ्यताको परिचय दिनु हुन अनुरोध गर्दछु ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जीवनकुमार श्रेष्ठ

प्रहरी उपरीक्षक श्रेष्ठ ट्राफिक प्रहरी प्रवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया