सेरागाडमा निर्माणाधीन पुल भत्किँदा एक करोडभन्दा बढी क्षति

 साउन १०, २०७५ बिहिबार २०:५८:३३ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – भागेश्वर गाउँपालिका–४ डुङ्गरीदेखि  अजयमेरु गाउँपालिकाको देवल दिव्यपुर जोडने सडक खण्डको सेरागाडमा निर्माणाधीन पक्की मोटरेबल सडक पुल भत्किएको छ ।

चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल बुधबार बेलुकी देखिको अविरल वर्षाका कारण भत्किएको हो ।
 
डिभिजन सडक कार्यालय कुलपाते, दिपायलले पुल निर्माणका लागि २०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रा.लि.सँग ठेक्का सम्झौता भएको थियो । 

भ्याटसहित कूल ५ करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई बर्षको समयावधि तोकिएको थियो । 

२०७४ साल भदौ २४ गते ठेक्का अवधि सकिएपछि २०७५ भदौ ९ गते सम्म काम सक्ने गरी म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ । 

वर्षात्को समयमा जोखिम मोलेर पुल निर्माणको काम गरिएकाले बाढीका कारण निर्माणाधीन पुल भत्किएको डिभिजन सडक कार्यालय डोटीका इन्जिनियर महानन्द जोशीले बताए ।

देशभरिमै ख्यातिप्राप्त निर्माण कम्पनी भएकाले केही क्षति भएपनि पुल निर्माणमा बाधा नपुग्ने उनले दावी गरे ।
 
बिकोई बिल्र्डस प्रा.लि. का सञ्चालक होमनाथ कोइराला सडक विभागकै पूर्व इन्जिनियर हुन ।

सानोेतिनो पानी परिरहेकाले क्षति नपुग्ने अनुमान गरेर काम गरिरहेका थियौं,’ निर्माण कम्पनीका साइ६ इन्चार्ज इन्जिनियर तिर्थ गुरुङले भने, ‘एक्कासी ठूलो पानी परेपछि बाढीका कारण निर्माणाधीन पुल भत्किएको हो ।’

गुणस्तरहीन सामग्रीको प्रयोग, गलत डिजाइन र भारी बर्षातको बेला खोलामा ढलान गर्ने र गराउने काम भएकाले चरम लापरवाहीका कारण पुल भत्किएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताउनुभयो । 

निर्माण सामग्रीको गुणस्तरको बारेमा आफुले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताउँदै उहाँले निर्माण कार्यमा लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

निर्माण कम्पनीले भने झण्डै एक करोड बराबर क्षति भए पनि अगामी मंसिरसम्म पुल निर्माण कार्य सक्नेगरी पुलको पुनर्निर्माण गरिने जनाएको छ ।

निर्माणाधीन पुलको क्षतिको विवरण भने तयार भएको छैन ।

४० मिटर लम्बाई र ११ मिटर चौडा त्यो पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।

पुलको अभावमा वर्षायाममा यातायात सेवा अवरुद्ध हुने र खोलामा आउने बाढीका कारण बर्सेनि जनधनको क्षति हुने गरेको स्थानीय अगुवा तारक खडका बताउनुहुन्छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Manas lama

    July 26, 2018, 9:35 p.m.

    बर्षातको समयमा बिकाशको नाममा बालुवामा पानी खनाए सरि बजेट सक्काउने खेल खेल्ने सम्बन्धित ठेकेदार कम्पनि र सरकारी कर्मचारीलाई कारबाही गर्नुपर्छ। यसरी जनताबाट उठाएको करको दुरुपयोग गर्ने सबैलाई कारबाही गर्न आबश्यक छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया