लामो बिदामा बालबालिकालाई घरमै कसरी हेरविचार गर्ने ?

 चैत ५, २०७६ बुधबार १३:३८:१४ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – बुधबार देशभरका सबै विद्यालयमा कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएसँगै झण्डै ७० लाख बालबालिका तीन हप्तासम्म घरमै बस्ने भएका छन् । धेरै दिन बालबालिका घरमै बस्ने भएपछि उनीहरुको हेरविचार कसरी गर्ने भनेर धेरै अभिभावकलाई चिन्ता थपिएको छ ।  

विभिन्न ठाउँमा घुम्न जाने र नयाँ अनुभव बटुल्ने अवसरको रुपमा बिदाको समयलाई सदुपयोग गरिने भए पनि यो वर्ष भने कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण घरमै बस्नुपर्ने भएको छ  । भिडभाड र जमघट हुने ठाउँमा रोगको सङ्क्रमण हुने भएकोले बालबालिकालाई अरु ठाउँमा नलैजान र घरभित्रै राख्न सरकारको आग्रह छ । 

बालबालिकाहरु अरु ठाउँमा जान, घुम्न र रमाउन नपाउने भएपछि उनीहरु एक हिसाबले सामाजिक ‘आइसोलेशन’ मा बसेजस्तै हुनेछन् । त्यसैले यस्तो बेला अभिभावकले विशेष ख्याल गर्नुपर्छ । 

अहिलेको बिदामा घरमै बालबालिकाको हेरविचार कसरी गर्ने त ? बालमनोविद गङ्गा पाठकको सुझाव :

कार्यसूची बनाएर समय व्यवस्थापन

अभिभावकले आफ्ना बालबालिकालाई अलि धेरै समय दिनुपर्छ । उनीहरु घरभन्दा टाढा जान पनि नपाउने र घरभित्रै बस्दा विभिन्न मनोवैज्ञानिक असर पर्ने भएकोले आवश्यक समय बालबालिकाको लागि छुट्याउनुपर्छ ।

बिदा हुने तीन हप्ताको समयका लागि बालबालिकाले घरमा गर्ने क्रियाकलापको सूची नै तयार गरी उनीहरुको रुचि अनुसार गृहकार्य गर्नुपर्छ । यो अवधिमा घरभन्दा बाहिर काम गर्ने अभिभावकका बालबालिकामा अझ धेरै असर पर्न सक्छ । बिदाको समयमा बालबालिका गलत सङ्गतमा पनि फस्न सक्ने जोखिम भएकाले अभिभावकले समय व्यवस्थापन गरेर बालबालिकामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

मोबाइलबाट टाढा 

यो बिदामा बालबालिका बाहिर घुम्न र खेल्न जान नपाएपछि उनीहरु मोबाइलमा व्यस्त हुन सक्छन् । मोबाइलमा गेम खेल्ने लगायत लत बसेमा बालबालिकामा अर्को मनोवैज्ञानिक समस्या आउन सक्छ । मोबाइल चलाउन नै नहुने त होइन तर फकाउन या भुलाउनका लागि बालबालिकालाई घण्टौँसम्म मोबाइल खेलाउन दिन हुँदैन ।

मोबाइलको लत बसेपछि पढाइ र अरु क्रियाकलापमा ध्यान नदिने भएकाले सकेसम्म मोबाइल चलाउन नै नदिने र चलाइहाले पनि थोरै समयका लागि मात्रै दिनुपर्छ ।

बालबालिकालाई मोबाइलको लतमा फस्न नदिन अभिभावक आफ्ना बालबालिकासँग अतिरिक्त क्रियाकलापमा सरिक हुनुपर्छ । यसो गरेमा बालबालिकाहरु मोबाइलको लतमा पनि फस्दैनन् भने अरु ज्ञानगुनका कुरा सिक्ने मौका पाउँछन् ।

मोबाइलबाट पनि सिकाउन सकिन्छ 

गेम खेल्नका लागि मात्रै भन्दा पनि मोबाइललाई अरु ज्ञान आर्जन गर्ने साधनका रुपमा पनि प्रयोग गर्न सकिन्छ । युट्युब जस्ता सामाजिक सञ्जालमा खाना कसरी पकाउने, कपडा कसरी धुने लगायत सामग्री खोजेर बालबालिकालाई हेर्न लगाउने र त्यही क्रियाकलाप गर्न लगाउनाले पनि फाइदा पुग्छ । 

त्यसमा अभिभावक पनि सरिक हुने र भने अनुसारको क्रियाकलाप गर्न लगाउनाले एक्लोपन महसुस गर्न नपाउने र सीप आर्जन पनि हुने भएकोले मोबाइललाई सही सदुपयोग गर्न लगाउनुपर्छ । 

विभिन्न क्रियाकलाप गराउने

बालबालिकालाई योग, व्यायाम, खेल, पुस–अप, सिट–अप, साइक्लिङ, नृत्य लगायत क्रियाकलापमा पनि सहभागी गराउन सकिन्छ । यस्ता क्रियाकलापले उनीहरुमा रमाइलोपन आउने, शारीरिक तन्दुरुस्ती दिने र नयाँ कुरा पनि सिक्ने भएकोले अभिभावकले घर वरपर नै यस्ता गतिविधि सञ्चालन गर्न सक्ने सामग्री व्यवस्थापन गर्नुपर्छ ।

बालबालिकाले घरभित्रै बसेर खेल्न सक्ने खेलकुद प्रतियोगिताहरु पनि धेरै नै छन् । लुडो, पजल, मनी गेम, क्यारम बोर्ड लगायत प्रतियोगितामा सहभागी गराउन सकियो भने उनीहरु रमाउँछन् । यसले उनीहरुमा प्रतिस्पर्धाको भावना विकास हुनेछ भने एक्लोपनको महसुस पनि गर्न पाउँदैनन् ।

लेखाइ र पढाइ

बिदाको यो अवधिमा बालबालिकालाई लेखाइ र पढाइमा केन्द्रित गराउन पनि सकिन्छ । रमाइला कथा, कविता, जोक्स लगायत मनोरञ्जन र ज्ञान दुवै दिने किताबहरु बजारमा पाइने भएकोले त्यस्ता सामग्री लगेर उनीहरुलाई पढ्न र लेख्न लगाउने तथा आफूले पनि जानेका कथा, कविता, गीत लगायत सामग्री उनीहरुमाझ प्रस्तुत गर्नुपर्छ । उनीहरुले चाहेको विषय के हो त्यो पहिल्याएर सामग्री छान्न सकियो भने उनीहरुको मनोविज्ञानलाई अझ तन्दुरुस्त बनाउन सकिन्छ ।

केही समय भिडियोका लागि

विभिन्न टेलिभिजन च्यानलमा रमाइला तर ज्ञानवर्द्धक सामग्रीहरु प्रसारण भइरहेको हुन्छ । बालबालिकालाई पनि सँगै राखेर अभिभावकले त्यस्ता भिडियो हेरिदिए भने उनीहरुले मनोरञ्जनसँगै नयाँ कुराबारे जान्न पाउनेछन् । तर दिनभर नै टिभी नै हेर्न दिनु हुँदैन । अभिभावकले हेर्दाहेर्दै भिडियो सामग्रीबारे व्याख्या गर्दै जानुपर्छ ।

भिडियोमा देखिएका नृत्यजस्तै गरी बालबालिकाहरुलाई नाच्न लगाउने, चलचित्रमा बोलेजस्तै गरी बोल्न लगाउने गर्नाले उनीहरु थप सक्रिय हुन सक्नेछन् । यी क्रियाकपलाप गर्ने र गराउन सकेमा मात्रै पनि उनीहरुको समय व्यतित गर्न समस्या नहुन सक्छ ।                                                                                                    

अन्तिम अपडेट: चैत १४, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया