काठमाण्डौ महानगरपालिका र खाली सिसिबीच सम्झाैता

कवाडी सामानकाे मूल्य ताेकियाे

 चैत ८, २०७६ शनिबार ६:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले आफ्ना क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरिद गर्न खाली सिसि व्यवस्थापन प्रालिसँग सम्झौता गरेको छ ।  

महानगर, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ र प्रालिका अध्यक्ष आयुषी केसीबीच सम्झौता भएको हो । सम्झौताबमोजिम महानगरवासीले बोलाएका ठाउँमा गएर प्रालिले सामान खरीद गर्नुपर्नेछ । 

नगरवासीले बिक्री गर्न चाहेको सामानको विवरण र ठेगाना पठाएपछि  प्रालिकाे पहिचान झल्कने पोशाक लगाएका व्यक्तिले सामान खरिद गरी ढुवानी गर्नेछन् ।

यसरी खरिद गरिने सामानको प्रकृतिअनुसार मूल्य तोकिएको छ । सम्झौताको अनुसूचीमा कागज, सिसा, प्लाष्टिक, धातु र स्टिल तथा विद्युतीय गरी पाँच प्रकृतिका पुनःप्रयोगजन्य फोहर खरिद गरिने वस्तु उल्लेख छ । 

आयुषी केसी, अध्यक्ष-खाली सिसि

प्रतिकिलो खबर कागज १० रुपैयाँ, कापी १२ रुपैयाँ, किताब, ए ४ साइज कागज र म्यागाजिनको सात रुपैयाँ, परीक्षा कागजको १० रुपैयाँ तथा कार्डबोर्ड र अण्डाको क्रेटकाे तीन रुपैयाँ ताेकिएको छ ।

मूल्य सामान खरीद गरिने स्थानका आधारमा पनि तय हुनेछ । प्रालिका अध्यक्ष केसीले लामो दूरीबाट ढुवानी गर्नुपर्‍यो भने मूल्य कम हुनसक्ने बताउनुभयो।अनुसूचीमा राखिएको दोस्रो प्रकृतिका पुनःप्रयोगीय फोहर अन्तर्गत बियरको बोतलको प्रतिगोटा एक रुपैयाँ र वाइनको बोतलको प्रतिगोटा ५० पैसा राखिएको छ । 

तेस्रो प्रकृतिको पुनःप्रयोगीय फोहोरमा प्लाष्टिकजन्य वस्तु राखिएको छ । स्याम्पुको खोल र पानीलगायत प्लाष्टिकका बोतलमा राखिएका पेय वस्तुका खोलको मूल्य प्रतिकिलो पाँच रुपैयाँ राखिएको छ । 

धातुजन्य फोहोरअन्तर्गत आल्म्युनियमका सामानको प्रतिकिलो ९० रुपैयाँ र  सोडा र बियरका क्यानको प्रतिकिलो २५ पैसा राखिएको छ । स्टिलको फर्निचरको अवस्थानुसार मूल्य निर्धारण गरिने उल्लेख छ । त्यस्तै पित्तल, तामा, स्टिल र टिनको मूल्य प्रतिकिलो क्रमशः रु २०, ३८०, ४५०, २० र ४ निर्धारण गरिएको छ ।

‘ती सामानको मूल्य हामी वडा कार्यालयमार्फत स्थानीयबासीको सूचनामा पुर्‍याउँछौंँ’ महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले भन्नुभयो ।

प्रालिसँगकाे सहमतिले कामपालाई फोहर व्यवस्थापन गर्न सहयोग पुग्ने बताउँदै श्रेष्ठले फोहरको वर्गीकरण गर्ने नगरबासीको विकाससमेत हुने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया