ढुंगेललाई आममाफी दिनेबारे २४ घण्टामा लिखित जवाफ दिन सर्वोच्चको आदेश

 जेठ ११, २०७५ शुक्रबार १६:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ११ – सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई आममाफी दिने विषयमा २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

सरकारले ढुंगेललाई आम माफी दिएर थुनामुक्त गर्ने तयारी गरिरहेकाले त्यसलाई रोक्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश दीपक कार्कीको इजलाशले २४ घण्टामा लिखित जवाफ दिन आदेश दिएको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई रिहा गराउन नहुने जिकिर गर्दै रिट दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले यो मुद्दालाई गम्भीरताका साथ लिंएकाले अन्तरिम आदेशका लागि बहस गर्न आउने आइतबारका लागि पेशी तोकेको छ ।

व्यक्ति हत्यामा दोषी ठहर गर्दै सर्वोच्चले जन्मकैदको सजाय तोकेपनि फरार रहेका ढुंगेललाई प्रहरीले ललितपुरबाट पक्राउ गरि जेल चलान गरेको थियो । जेलमै रहेका ढुंगेलको चालचलन असल रहेको भन्दै गणतन्त्र दिवसको दिन जेलमुक्त गर्न सरकारले तयारी गरिरहेको छ । कारागार ब्यवस्थापन विभागले ढुंगेलको नाम आम माफीका लागि सिफारिस गरिसकेको छ । 

बिहीबार त्रिपाठीले दायर गरेको रिटमा सर्वोच्चको आदेशमा जेल गएका र प्रधानन्यायाधीस सहित सर्वोच्चकै न्यायाधीशलाई भौतिक आक्रमण गर्ने धम्की दिएका व्यक्तिलाई चालचलन असल भएको बहानामा जेलमुक्त गर्ने तयारी भइरहेकाले त्यसलाई रोक्न माग गर्दै निवेदन रिट माग गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया