दुई विषयमा डिग्री पास गरेकी गीता जागिर छोडेर कुखुरा पालनमा

 साउन ११, २०७५ शुक्रबार १०:२९:३४ | रमा खड्का
unn.prixa.net

बाँके – पढेलेखेका धेरै युवायुवतीको उद्देश्य भनेकै राम्रो जागिर खाने हुन्छ । त्यसमा पनि सकभर एनजीओ, आइएनजीओ र सरकारी जागिर । आफ्ना छोराछोरी पढेर राम्रो जागिर गरुन् भन्ने अभिभावकको पनि सपना हुन्छ ।

तर कोही यस्ता व्यक्तिहरु पनि छन्, जसले राम्रो जागिर छोडेर आफ्नै गाउँघरमा राम्रो व्यवसाय गरिरहेका छन् । तिनैमध्येकी एक हुनुहुन्छ, जानकी गाउँपालिका –२ बाँकेकी गीता  मौर्या ।

उहाँले दुईवटा विषयमा स्नातकत्तोर पास गर्नु भएको छ । पढेर जागिर नै गर्नुपर्छ भन्ने दबाब र चलनका कारण सुरुमा गीताले पनि जागिर गर्नुभयो धेरै ठाउँमा ।

१२ कक्षा पास गरेपछि जागिर गर्दै पढ्नुभएकी गीताले दुईवटा विषयमा ‘डिग्री’ गर्दासम्म करिब ११ वर्ष विभिन्न ठाउँमा जागिरको अनुभव लिनु भयो । सुरुमा नेपालगञ्जमा रहेको नागरिक विकास केन्द्र नामक संस्थामा परिवार नियोजन कार्यक्रम अन्तर्गत फिल्ड सुपरभारइजरका रुपमा तीनवर्ष काम गर्नुभयो ।

त्यसपछि रुपडिया मिसन अस्पतालमा ७ वर्ष र २ वर्ष काभ्रेमा रहेको शेयर, केयर संस्थामा काम पनि गर्नुभयो ।

गीताले अब जागिर गर्छु भनेर पढाईलाई भने छोड्नु भएन । सुरुमा भारतको अबद युनिभर्सिटीबाट व्यवस्थापन संकायमा ‘डिग्री’ गर्नुभयो । त्यसपछि नेशनल ओपन कलेज सानेपाबाट अस्पताल व्यवस्थापनमा दोस्रो ‘डिग्री’ लिनुभयो ।

‘डिग्री’ गर्दै जागिर खानुभएकी उहाँलाई जागिरले सन्तुष्टी दिएन । आफ्नै व्यवसाय गर्ने रहर जाग्यो । विगत पाँच वर्षदेखि उहाँले आफ्नै गाउँमा पोल्ट्री फर्म सुरु गर्नुभएको छ । बिभिन्न जिल्लामा अण्डा र कुखुरा वितरण गर्दा हुने आम्दानीले उहाँलाई निकै सन्तुष्ट दिएको छ ।

नेपालगञ्जको बिपी चोकबाट करिब ९ किलोमिटर पूर्व गीताको कुखुरा फर्म छ । करिब एक बिगाहा जग्गामा दुईवटा छुट्टाछुट्टै फर्ममा ६ हजार कुखरा राखिएको छ । तीनहजार कुकुरा हुर्किंदैछन् भने तीनहजार कुखुराले अण्डा दिन सुरु गरिसकेका छन् । 

बिहानै उठ्यो, कुखुराको खोरमा पुग्यो, कुखुराको अवस्था बुझ्यो, दानापानी दियो, बिरामी कुखुरालाई औषधी ग¥यो, फोहोर भएका भाँडाहरु सफा ग¥यो । त्यसपछि आफ्नो सरसफाई र खानेकुरा तयार गर्दै गीताको दैनिकी बित्छ । समय र मौसम अनुकूल औषधी खुवाउने, कुखुराको जाँच गर्ने सबै काम उहाँ आफैंले गर्नुहुन्छ । 

कुखुरा व्यवसायको थालनी  

सुरुमा उहाँलाई कुखुरा पालनको सोच थिएन । दक्षिण अमेरिका पुग्दा उहाँले त्यहाँ कुखुरा पालन व्यवसायबाट राम्रो फाइदा हुन्छ भन्ने थाहा पाउनुभयो । 

तीन वर्ष त्यहाँ बस्दा उहाँले कुखुराको स्याहार गर्ने तरिका, बिरामी हुँदा उपचार गर्ने विधि, रोगका लक्षणलगायत धेरै कुरा सिक्नुभयो । र तीन वर्षपछि नेपाल फर्केर आमा बुवासँग सल्लाह गरी पोल्ट्रीफर्म दर्ता गर्नुभयो ।

सुरुमा पैसाको व्यवस्थापन गर्न निकै समस्या भएपछि सहयोग गर्न अभिभावकले मानेनन् । तर परिवारलाई आफूले गर्न लागेका कामबारे सबै कुरा बुझाएपछि उहाँले सहयोग पाउनुभयो । बुवाले २० कठ्ठा जमिनलाई बैंंकमा राखेर ऋण उपलब्ध गराइदिनुभयो ।

जुनसुकै व्यवसाय सुरु गर्दा पनि आवश्यक ज्ञान, सीप, बजार, कच्चा पर्दाथ आदिको अभाव हुन्छ । त्यस्तै कठिन भयो गीतालाई पनि । विदेशमा सिकेको ज्ञान र सीपले सहयोग गरे पनि कतिपय आवश्यक सामाग्री, उपकरण उपलब्ध नहुँदा गीताले सुरुका दिनमा निकै संघर्ष गर्नुप¥यो ।

कुखुराका चल्लाहरु हुर्काउने बेला कति रात त उहाँ सुत्नु नै भएन । चल्ला नहुर्किंदासम्म कति दिन खाना समेत खान फुर्सद पनि भएन । तर मेहनत गर्दै जाँदा उहाँ सफल हुनुभयो । 

अण्डाबाट मात्रै महिनाको ६० हजारसम्म कमाई

गीताको फर्ममा अहिले ६ हजार कुखुरा बेच्नका लागि तयारी अवस्थामा छन् । तीन हजारले अण्डा पार्छन् भने तीन हजार कुखुरा तयार हँुदैछन । एक दिनमा करिब २६ सय कुखुराले अण्डा पार्छन् । गीताले ग्राहकलाई फर्मबाटै प्रतिअण्डा ८ रुपैंया ५० पैसामा बेच्नुहुन्छ । यसरी अण्डाबाट मात्रै महिनामा ५० देखि ६० हजारसम्म कमाई हुन्छ, गीताको । त्यसैगरी कुखुरा बेचेर पनि महिनामा ५० हजार भन्दा धेरैको आम्दानी हुन्छ ।

आम्दानी धेरैथोरै भन्दा पनि आफू आफ्नै व्यवसायबाट सन्तुष्ट भएको गीताले भन्नुभयो । उहाँ भन्नुहुन्छ, ‘कमाई धेरैथोरै आफ्नो ठाउँमा छ, तर म मेरो कामबाट ज्यादै नै सन्तुष्ट छु, सबैभन्दा आत्मसन्तुष्टी नै ठूलो कुरा हो ।’

स्वदेशमै बसेर केही गर्ने अठोट

अझै धेरैवटा फर्म खोलेर ठाउँठाउँमा कुखुराको अण्डा र मासु उत्पादन गरी देशमा मात्रै होइन विदेशमा समेत निर्यात गर्ने उहाँको सोच छ । एउटा सफल महिला व्यवसायी भएर अरुलाई पनि आत्मनिर्भर बनाउने र पढेर जागिर मात्रै गनुपर्छ भन्ने सोंच हटाउँदै स्वदेशमै बसेर केही गर्ने प्रेरणा दिने मन रहेको उहाँले बताउनुभयो ।

‘पढेलेखेकाले सरकारी जागिर र एनजीओ, आइएनजीओमा मात्रै काम गर्ने प्रवृत्ति हटाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘काम सानो र ठूलो हुँदैन, तर, सोंच सधै सकारात्मक राखेर अघि बढेमा अवश्य सफल भइन्छ ।’

मधेसी समुदायकी गीतालाई शिक्षा, चेतनासँगै आत्मविश्वासले अघि बढ्न प्रेरित गर्यो । उहाँका आमाबुवाले आफ्ना छोराछोरीमा कुनै विभेद गर्नुभएन । तीन दिदीबहिनी र १ दाजुसँगै लेखपढ गरेर गीता अहिले सफल व्यवसायी बन्नुभएको छ । उहाँको प्रगति देखेर परिवार र छिमेकी दंग छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

रमा खड्का

रमा खड्का उज्यालोमा कार्यरत हुनुहुन्छ । 

4 Comments

  • lochan kumar shrestha

    July 31, 2018, 10:20 a.m.

    Thanks for wounderful job and entrepreneur, your future is bright. I like and love your hard labor. I am also very curiosity to plan and do layer poultry farm in some where place in Nepal, I am doing research layer poultry since and then and now, making 200000 bird layer poultry farm auto system in Nepal, and want something to get information from you, would you like to share information with me? गिता जि को यो कुरा बाट समुदाय ले पाठ र पढे लेखेका ले सिक्नु पर्छ्। please send message about one layer poultry cost and return parameter

  •  0 Reply
  • Prem bahadur bista

    July 27, 2018, 3:43 p.m.

    आर्थिक अभाव का कारण जागिर गर्नुपर्ने बाध्यता त छदैछ त्यसमा पनि हाम्रो समाज मा पढेको मान्छेले अनिवार्य जागिर खानै पर्छ यदि जागिर नखाए यो मान्छे काम लागेन भन्छन् । यसतो समाजमा भएको कुरालाई जरइ देखि उखेल्नु पर्दछ ।। गिता जि को यो कुरा बाट समुदाय ले पाठ र पढे लेखेका ले सिक्नु पर्छ्।

  •  0 Reply
  • Navin Raj Dahal

    July 27, 2018, 12:56 p.m.

    It is best action for all. I realized and will replicate soon for other business. I am measuring other business. Best regards NRD

  •  0 Reply
  • Aaiti chaudhari

    July 27, 2018, 10:57 a.m.

    Thanks for wounderful entrepreneur, your future is bright.

  •  0 Reply

तपाईको प्रतिक्रिया