संसदीय समितिमा लिपुलेक र एमसीसीको चर्चा

 चैत १०, २०७६ सोमबार १७:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गर्न बसेको संसदीय समितिमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र लिपुलेकको चर्चा भएको छ । प्रस्तावित राजदूतको नाम सिफारिस गर्न बसेको संसदीय सुनुवाइ समितिमा सांसदहरुले लिपुलेक र एमसीसीका विषयमा प्रश्न गरेका थिए । 

सांसद जितेन्द्र नारायण देवले राजनीतिक र आर्थिक रुपमा प्रतिस्पर्धा गरिरहेका चीन र अमेरिकाबीचको सम्बन्ध कसरी सन्तुलित बनाउनुहुन्छ भन्दै प्रश्न गर्नुभएको थियो । चीनले अघि सारेको बीआरआई र अमेरिकाले अघि सारेको एमसीसीले दुई देशबीचको प्रतिस्पर्धा सतहमा देखिएको उल्लेख गर्दै उहाँले यी दुई देशबीच सन्तुलन मिलाउनुपर्ने अवस्था आएमा के गर्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।


सांसद पुष्पा भूसालले सन् २०१५ मा नेपाललाई बेवास्ता गर्दै भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति भएको स्मरण गराउँदै लिपुलेकलाई त्रिपक्षीय ‘जक्सन’ का रुपमा सम्झौता गर्न कसरी अगाडि बढ््नुहुन्छ भन्दै प्रश्न गर्नुभएको थियो ।

बैठकमा अन्य सांसदहरुले नेपालले चीनबाट सिक्नुपर्ने कुरा, नेपाल चीनको व्यापार सम्बन्ध कसरी अगाडि बढाउने नेपालको पर्यटन, सामाजिक आर्थिक विकासका लागि चीनले गर्न सक्ने सहयोगका विषयमा जिज्ञासा राखेका थिए । 

जवाफमा प्रस्तावित राजदूत पाण्डेले एमसीसीको विषयमा आफूले समितिमा जवाफ दिनुपर्छ भन्ने नलागेको बताउनुभयो । कुनै पनि देशको प्रतिस्पर्धी देशहरुको बीचमा नेपाल परेर आफू विवादास्पद बिन्दुमा उभिन नहुने उहाँले बताउनुभयो ।

यस्तै भारत र चीनबीच सम्झौता हुने समयमा नै नेपालले आफ्नो आपत्ति प्रकट गरेर पत्र पठाएको उल्लेख गर्दै उहाँले चीनले सकारात्मक जवाफ दिएको बताउनुभयो । आफू परराष्ट्र मन्त्री भएको समयमा भएको सम्झौताका विषयलाई सहमतिको माध्यमबाट टुङ्गो लगाउन पहल गर्ने पाण्डेले बताउनुभयो ।

समितिले सोमबार चीनका लागि आवासीय राजदूतमा पाण्डेको नाम सिफारिस गरको हो । गएको फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकबाट चीनका लागि आवासीय, उत्तर कोरिया र मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका पाण्डेविरुद्ध कुनै पनि उजुरी परेको थिएन । संसदीय समितिले फागुन २८ गते उजुरी र गुनासो दिन आह्वान गर्दै १० दिनको समय दिएको थियो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया