डोटीमा अनिश्चितकालीन कर्फ्यु आदेश

 चैत १०, २०७६ सोमबार १९:१:७ | विमल बिष्ट
unn.prixa.net

डोटी – कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय डोटीले अर्को आदेश नभएसम्मका लागि जिल्लाभरि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले हस्ताक्षर गर्नुभएको एक सूचनामा डोटी जिल्ला कोरोनाको सम्भावित सङ्क्रमणको उच्च जोखिममा रहेको हुनाले अत्यावश्यक बाहेकका अन्य सेवा अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (६) अनुसार नगर्न नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको उल्लेख छ । 

यो आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिमको कारबाही गरिने समेत सूचनामा भनिएको छ । प्रशासन कार्यालयले जिल्लाभरि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि अहिले यहाँका प्रमुख बजारका पसल र यातायातका साधनहरु बन्द भएका छन् । 

त्यस्तै प्रशासनले भेला, आम सभा, सेमिनार, गोष्टि, धार्मिक तथा सांस्कृतिक मेला पर्व नगर्न नगराउन समेत उर्दी जारी गरेको छ । प्रशासनको निषेधाज्ञा आदेशपछि अहिले बजारमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया