बलात्कार प्रयासको घटना चारदिनसम्म गुपचुप

 साउन ११, २०७५ शुक्रबार १२:३४:५१ | सुमन पुरी
unn.prixa.net

सुनसरी – सुनसरीको दुहबी १ मा चार दिन अघि भएको जबर्जस्ती करणीको प्रयासको घटना गाउँका टाठाबाठाले मिलाएर गुपचुप राख्न दबाब दिएपछि पीडित परिवार मर्कामा परेका छन् । चार दिनअघि १३ बर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास भएको थियो । गएको सोमबार राती स्थानीय सुभान मियाले जबजस्ती करणीको प्रयास गरेको पीडित बालिकाले बताएकी छिन् ।

चारदिन अघि भएको घटनामा बालिकाका परिवारले विहीबार बिहान इलाका प्रहरी कार्यलय दुहबीमा मिया विरुद्ध जर्बजस्ती करणी उद्योगमा जाहेरी दिएका छन् । आफ्नी छोरीमाथि बलात्कार प्रयास गरेको मुद्धा गाउमै मिलाउन स्थानीय केही व्यक्तिले दाबाब दिएपछि जाहेरी दिन ढिलाइ भएको बालिकाका बुबाले जानकारी दिनुभयो ।

बालिकाका बुबाले घटनालाई गाउँमै मिलाउन र मियामाथि अपराधको मुद्धा नलगाउन गाउँका टाठाबाठा र वडा अध्यक्ष समेत लागि परेको बताउनुभयो ।

दुहबी नगरपालिकाको नगरप्रमुख बेद गच्छदारले जर्बजस्ती करणीको प्रयास जस्तो जघन्य अपराधको घटना स्थानीयस्तरमै मिलाउन खोज्नु ठीक नभएको प्रतिक्रिया दिनुभयो । उहाँले वडा नं १ का वडा अध्यक्ष अजुल हुसेन जिल्ला बाहिर गएकाले उनीसँग सम्पर्क गरी विस्तृतमा जानकारी लिने र पीडितलाई न्याय दिन पहल गरिने जानकारी दिनुभयो ।

यसरी भएको थियो घटना 

गएको साउन ७ गते सोमबार साँझ खाना खाएर परिवारका सबै जना सुतेका थिए । १३ वर्षीय पीडित बालिका हजुरबुवासँगै घरमा सुतेकी थिइन् । हजुरबुवा र हजुरआमा राति ९ बजे खेतमा पानी लगाउन कोदालो बोकेर हिँडे । हजुरबुवा हजुरआमा पानी लगाउन खेततिर हिनेको मौका छोपेर पीडित बालिकाको घर अगाडि नै घर भएका पिडक मिया बालिका सुतेको ठाउँमा पुगे ।

बालिका एक्लै निदाएको मौका छोपी उनीमाथि राती साढे १० बजे जबर्जस्ती करणीको प्रयास भएको बालिकाका हजुरबुवाले बताउनुभयो । मियाले एक्लै भएको मौका छोपी आफूलाई हातले मुख छोपेर जबर्जस्ती करणीको प्रयास गर्दा आफूले मियाको हात टोकेर चिच्याएको बालिकाले बताइन् । त्यसपछि मिया भागेको बालिकाको भनाई छ ।

घटनाको भोलिपल्ट स्थानीय बुद्धिजिवीले गाउँघरको घटना हो गाउँमा नै मिलाउनुपर्ने भन्दै दबाब दिएपछि आफूहरु अन्यौलमा परेको पीडित बालिकाका बुवाले बताउनुभयो । बलात्कार प्रयास गरेको घटना बाहिर आएपछि मिया भागेका छन् ।

इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले घटनाको भोलिपल्टै पीडित बालिकाको महिला प्रहरीले बयान लिएको र निवेदन दिन भनेको बताउनुभयो । पीडित परिवारले नै ढिलाइ गर्दा कारवाही प्रक्रिया अगाडि बढाउन नसकिएको उहाँको भनाई छ ।

प्रहरी निरीक्षक माझीले बालिकाको परिवारलाई मुद्धा बारेमा आवश्यक जानकारी नभएका कारण दबाब दिएर मिलाउन खोजिएको भन्दै दोषीलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया