अरु देशमा ‘लकडाउन’ अभ्यास : कहाँ के भइरहेको छ ?

 चैत ११, २०७६ मंगलबार १४:१२:५२ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण अहिलेसम्म विश्वका एक सय ९५ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको एउटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ । अहिलेसम्म नेपालका दुई जना सहित पौने चार लाख मानिसमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने एक लाखभन्दा धेरै मानिस निको भएका छन् । 

वल्डोेमिटरका अनुसार अहिलेसम्म तीन लाख ८२ हजार चार सय १७ जनामा सङ्क्रमण भएकोमा एक लाख दुई हजार पाँच सय १३ जना स्वस्थ भएका छन् । यसमा गएको माघ ९ गते नेपालमा भेटिएका कोरोना सङ्क्रमित निको भइसकेका छन् भने अहिले एक जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार चलिरहेको छ । उनीसहित दुई  लाख ६३ हजार तीन सय ३५ जनाले उपचार गराइरहेका छन् । १६ हजार ५ सय ५८ जनाको ज्यान गएको छ । 

साउथ मर्निङ चाइना पोस्टका अनुसार सन् २०१९ को नोभेम्बर १७ मा पहिलो पटक चीनको हुबेई प्रान्तमा ५५ वर्षीय पुरुषमा कोरोनाको सङ्क्रमण भेटिएको थियो । त्यसपछि दैनिक पाँचमध्ये एक जनामा यो सङ्क्रमण देखियो । डिसेम्बर १५ अर्थात् गएको मंसिर २९ गते सङ्क्रमितको सङ्ख्या २७ पुग्यो । 

त्यसपछि सङ्क्रमितको सङ्ख्या बढेर झण्डै ६ सय र ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेपछि जनवरी २३ अर्थात् गएको माघ ९ गते चीनले कोरोना फैलिएको शहर वुहानमा लकडाउनको घोषणा गर्यो । चीनले वुहानका आफ्ना नागरिकका लागि सार्वजनिक यातायात बन्द र शहर छाड्न निषेध गर्यो । तर त्यसअघि नै धेरै जनाले वुहान छाडेर बाहिर गएको अनुमान छ । चीनले कोरोना सङ्क्रमितको सङ्ख्या कम गर्ने उद्देश्यले सुरु गरेको लकडाउन अहिले विश्वका विभिन्न देशले पनि कार्यान्वयन गरेका छन् । 

पछिल्लो समय कोरोना भाइरसको केन्द्र बनेको युरोपका धेरै देशमा लकडाउन गरिएको छ । चीनपछि कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि त्यसलाई रोक्न लकडाउन गरिएको हो । 

अहिले नेपालसहित भारत, इटली, स्पेन, डेनमार्क, आयरल्याण्ड, जर्मनी, पोर्चुगल, चेक गणतन्त्र, फ्रान्स, बेल्जियम, नर्वे, स्लोभेनिया, इन्डोनेसिया, एल साल्भाडोर, न्युजिल्याण्ड र पोल्याण्डमा कोरोना भाइरसलाई थप फैलिन नदिन लकडाउनको नीति अवलम्बन गरिएको छ । 

इटलीमा के भइरहेको छ ? 

इटालीमा चार सय ६३ जनाको ज्यान जानुका साथै ९ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि मार्च ९ अर्थात् गएको फागुन २६ गतेदेखि लकडाउन गरिएको छ । त्यहाँ लकडाउनपछि अत्यावश्यक बाहेकका काममा निस्कन बन्देज लगाइएको छ भने आवश्यक सामग्री पाइने पसल र औषधि पसल लगायत मात्र खुला गरिएको छ । 

विद्यालय भने सुरुदेखि नै बन्द गरिएको इटलीमा सार्वजनिक यातायातका साधन भने अत्यावश्यकमा पर्ने भन्दै चलिरहेका छन् । त्यहाँ प्रहरीले अत्यावश्यक काम बाहेक कोही निस्किएका छन् कि भनेर निगरानी गरिरहेको छ । 

स्पेन

स्पेनमा मार्च १५ अर्थात् गएको चैत २ गतेदेखि लकडाउन गरिएको छ । त्यहाँ दुई सय ८८ जनाको ज्यान जानुका साथै सात हजार सात सय ५३ जनामा सङ्क्रमण देखिएपछि लकडाउन गरिएको हो । 

स्पेनमा अत्यावश्यक काम बाहेक घरबाट निस्कन प्रतिबन्ध लगाइएको छ । त्यहाँ राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गरेर बार, रेस्टुरेन्ट, क्याफे, फुटबल मैदान र सिनेमा घर बन्द गरिएको छ । काममा जाने मानिससँगै खानेकुरा र औषधि, स्वास्थ्य संस्था र बैंकमा जान तथा बुढाबुढीको हेरचाहका लागि जान दिने व्यवस्था गरिएको छ । 

फ्रान्स 

एक सय ४८ जनाको ज्यान जानुका साथै ६ हजार ६ सय ३३ जना सङ्क्रमित भइसकेपछि मार्च १६ अर्थात् गएको चैत ३ गते बेलुकीदेखि फ्रान्समा लकडाउन गरिएको हो । यहाँको लकडाउन इटलीको सँग मिल्दोजुल्दो छ । तर फ्रान्समा लकडाउन नमान्नेलाई युरो १ सय ३५ जरिबाना तिराइनेछ । यस्तै घर नजिकै वा बढीमा दुई किलोमिटरसम्म दौडन सकिने पनि मापदण्ड त्यहाँको सरकारले बनाएको छ । 

अनावश्यक कामको लागि निस्किएको भेटे प्रहरीले कारबाही गर्ने भएको छ । यसअघि बेलायतले जस्तै फ्रान्सले पनि स्कुल, बार, क्याफे, रेस्टुरेन्ट र अनावश्यक पसल बन्द गराएको थियो । तर अझै पनि केही ठाउँमा भने सार्वजनिक यातायातका साधन चलेका छन् । 

बेलायत

बेलायतमा पनि मङ्गलबारदेखि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले केहीबेरअघि सम्बोधन गरेपछि बेलायतमा पनि लकडाउनको घोषणा गरिएको छ । बेलायतमा लकडाउनसँगै दुई जनाभन्दा धेरै मानिस एकै ठाउँमा भेला हुन नपाउने निर्णय पनि गरिएको छ । 

भारत 

भारतको ३० राज्यको पाँच सय ५८ जिल्लामा लकडाउनको घोषणा गरिएको छ । सोमबार लकडाउन उल्लङ्घन गरेका ९६ जनाविरुद्ध मुद्दा दायर भएको छ । यस्तै कोलकातामा लकडाउन उल्लङ्घन गरेका दुई सय ५५ जनालाई पक्राउ गरिएको छ भने उत्तर प्रदेशको १७ जिल्लामा पाँच सयभन्दा धेरै मानिसविरुद्ध मुद्दा दायर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यस्तै लकडाउनलाई थप प्रभावकारी बनाउन मध्य प्रदेशको भोपाल जबलपुरमा मङ्गलबारदेखि कर्फ्यु लगाइएको छ । ३६ जिल्लामा लकडाउनको घोषणा गरिएको छ । भारतमा २२ राज्यको ७५ जिल्लामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । महाराष्ट्र, कर्नाटक, केरला, दिल्ली–एनसीआर र उत्तर प्रदेशमा धेरै सङ्क्रमित भेटिएका छन् ।  

अन्तिम अपडेट: चैत १३, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया