विदेशमा अंगभंग : कसैले पाए ५२ लाख, कोही खाली हात (भिडियो)

 साउन ११, २०७५ शुक्रबार १३:३७:२३ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – ट्रमा सेन्टर काठमाडौंको बेड नम्बर ४०४ मा गएको वैशाख १२ गते भेटिए कपिलवस्तुको बाणगंगा नगरपालिका ६ मनोहरापुरका निरञ्जन थारु । 

दाहिने खुट्टामा सेतो पट्टिले काम्रो बाँधिएको छ । अरुतिर लागेका चोटहरुको खाटा आलै भएकाले पातलो कपडाले शरीर ढाकिएको छ । मलेसियाको अस्पतालमा उपचार गराएको कागजात सिरानीमा च्यापिएको छ । नजिकै दुई वटा वैशाखी उभ्याइएको छ । 

बेडमा सुतेर बाबु मंगन थारुसित बात मारिरहेका निरञ्जनको एउटै मात्र चिन्ता छ, दाहिने गोडा बिसेक होला कि नहोला । 

ट्रमा सेन्टरको चौंथो तल्लामा विभिन्न दुर्घटनामा परेर अंगभंग भएका बिरामी र तिनका कुरुवाहरुको भिड छ । तर यी बाबुछोरालाई तिनीहरुको कुनै मतलब छैन । आफैंलाई परेको दुःख पन्छाउँदा पन्छाउँदै अरुको पीडाबारे सोधीखोजी गर्ने समय र जाँगर पनि छैन । 

क्षतिपूर्ति पाउन वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिई गएको, करार अवधि भित्र अंगभंग भएको, अंगभंग भई स्वदेश फर्किएको एक वर्ष भित्र बोर्डमा निवेदन दिनु पर्छ । श्रम स्वीकृति लिएर विदेशको कम्पनीसित गरिएको करार अवधिमा अंगभंग भए बीमा कम्पनीले म्यादी जीवन बिमा वापतको १० लाख रुपैयाँसम्म आर्थिक सहायता पनि प्रदान गर्छ । 

मलेसियामा सडक दुर्घटनामा परी २५ वर्षे निरञ्जनको दाहिने खुट्टाको घुँडा मुनिको हड्डीमा चोट लागेको छ । ट्रमा सेन्टरमा बैशाख ११ गते भेट्दा त्यसको भोलिपल्ट अर्थात वैशाख १३ गते दाहिने खुट्टाको अप्रेसन गर्ने मिति तोकिएको थियो । ठूलो दुर्घटनाबाट जोगिएर फर्केका निरञ्जनलाई अप्रेसनपछि खुट्टा सग्लो होला कि नहोला भन्ने चिन्ता थियो । 

दुर्घटनामा परि उहाँको देब्रे खुट्टाको एउटा नसा चुँडिनुका साथै घुँडाको जोर्नी समेत फुटेको थियो । त्यो खुट्टा औषधि खाँदै काम्रो बाँधेर निको हुँदैछ । दाहिने हात, अनुहार र पेटमा लागेका चोटहरुको खाटा बस्न थाले । तर दाहिने खुट्टाको नलिहाड भाँचिएकाले अप्रेसन गर्नुपर्ने भएको थियो । 

दुर्घटना पछि मलेसियास्थित साहआलमको मेमो अस्पतालमा एक महिना निरञ्जनको उपचार गराइएको थियो । निरञ्जनले काम गर्ने कम्पनीले एक महिनाको उपचार खर्च बेर्होयो । तर दाहिने खुट्टा अप्रेसन गर्नुपर्ने भएपछि कम्पनीले गएको चैत २४ गते उहाँलाई नेपाल पठाएको थियो । 

ट्रमा सेन्टरमा अप्रेसन गरेर घर फर्केपछि उहाँको घर सोधीखोजी गर्दै कपिलवस्तुको बाणगंगा नगरपालिका ६ मनोहरापुरमा पुग्दा उहाँ ओछ्यानमै हुनुहुन्थ्यो ।अप्रेसन पछि पनि उहाँको दाहिने खुट्टाले राम्रोसित काम गर्ला भन्ने भर छैन । 

अंगभंग भएका पीडितले पासपोर्ट, श्रम स्वीकृति पत्र, करारपत्र, रोजगारदाता मुलुकमा उपचार गराएको कागज पत्र, सम्बन्धित दूतावासको सिफारिस पत्र, कामदारको नागरिकता, अंगभंग भएको कामदारको अंगभंग भएको फोटो, नेपाल फर्किएपछि सरकारी अस्पतालमा उपचार गराएको कागज पत्र र नेपाल फर्कंदाको हवाई टिकटका साथ निवदेन दिए बोर्ड र बीमा कम्पनीबाट क्षतिपूर्ति रकम पाउँछन् ।

अप्रेसन गरेर दाहिने खुट्टाको नलिहाडको चोइटिएका टुक्राहरु निकालियो । अनि स्टिल राखिएको छ । घुँडा देखि गोलीगाँठोसम्म स्टिल राखिएकाले पैताला अझै खुम्चाउन मिल्दैन । घर बाहिर भित्र गर्न दुई वटा वैशाखीको सहारा लिनुपर्छ । 

एक महिना भन्दा धेरै समय काठमाडौंमा उपचार गराएर घर फर्केका निरञ्जनको उपचार अझै सकिएको छैन । नियमित औषधि खानुपर्छ । 

घाउ सफा गर्न चार चार दिन बिराएर स्थानीय सामुदायिक अस्पतालमा जानु पर्छ । खुट्टाको नियमित चेकजाँच गर्न कपिलवस्तु–काठमाडौं आउजाउ गरिरहनु पर्छ । 

कम्पनीले भिसा नवीकरण गरिदिँदा पुन:श्रमस्वीकृति भएन 

निरञ्जन २०७० भदौ १३ गते श्रम स्वीकृति लिएर मलेसियाको सेलेङ्गर साहआलम सेक्सन १५ मा रहेको जुस उत्पादन गर्ने योस ह्याप सिङ कम्पनीमा काम गर्न पुग्नुभएको थियो । मासिक न्युनतम नाै सय रिंगिट तलब हुने गरी काठमाडौंको फ्युजन इन्टरनेशनल म्यानपावरबाट गएका उहाँको काम र कमाई चित्तबुझ्दो नै थियो । 

त्यही कारणले नै निरञ्जन मलेसियाको कम्पनीले भिसा नविकरण गरिदिएपछि छुट्टिमा पनि नआई उतै काम गर्दै आउनु भएको थियो । यता घर बनाएको ऋण पनि तिर्नु थियो ।

तीन वर्षका लागि श्रमस्वीकृति लिएर गएका उहाँको श्रमको म्याद २०७३ भदौ १३ गतेदेखि सकियो । म्याद सकिए पनि वैदेशिक रोजगार विभागबाट पुनः श्रमस्वीकृति गरिएको थिएन । 

भिडियाे 

सामान्यतया मलेसिया जाने कामदारले तीन वर्षका लागि श्रम स्वीकृति पाउँछन् । अर्कातिर निरञ्जनलाई कम्पनीले नै भिसा नविकरण गरेपछि आफैंले केही गर्नु पर्दैन भन्ने लागेको थियो । अप्ठेरो परेपछि मात्रै उहाँलाई नेपालबाट पुनः श्रमस्वीकृति लिँदा हुने फाइदाका बारेमा जानकारी भएको छ । 

निरञ्जनले काम गर्ने मलेसियाको कम्पनीले २९ अगष्ट २०१७ (२०७४ भदौ १३) गतेसम्मका लागि भिसा नविकरण गरिदिएको थियो । त्यसैले ढुक्कले काम गर्दै हुनुहुन्थ्यो । कम्पनीले बर्सेनि भिसा नविकरण गरिदिएकै छ भन्ने सोचेकाले पुनः श्रम स्वीकृति हुन सकेको थिएन । 

मलेसियामा सडक दुर्घटनामा परेको दिन उहाँ आफ्नै खुशीले घुमफिरमा निस्किनु भएको थियो । तोकेको समय र स्थान भन्दा बाहिर दुर्घटनामा पर्दा विदेशका कम्पनीहरुले क्षतिपूर्ति दिँदैनन् ।

विदेशका धेरैजसो कम्पनीहरुले कार्यस्थलको मात्रै बीमा गरिदिएका हुन्छन् । कामका समयमा बाहेक अरुबेला दुर्घटना परिहाले क्षतिपूर्ति पाईंदैन । 

अर्कातिर वैदेशिक रोजगार विभागले दिने श्रम स्वीकृतिको मिति सकिएको झण्डै ६ महिना पछि निरञ्जन दुर्घटनामा पर्नुभयो । श्रम स्वीकृति सकिएकाले उहाँले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोष र बीमा कम्पनीले दिने आर्थिक सहायता पाउन नियमले पनि रोकि दियो । 

वैदेशिक रोजगारमा छँदा दुर्घटनामा परी अंगभंग भई स्वदेश फर्किएका कामदारलाई बोर्डले अंगभंगको प्रकृति अनुसार तीन लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँछ । 

गएको चैत अन्तिमसम्ममा विदेशमा अंगभंग भएका २५ जना महिला सहित सात सय २९ जनाले आर्थिक सहायता पाएका छन् । कार्यस्थलमा हुने दुर्घटना, सडक र्दुघटनामा अंगभंग भएका साथै बिरामी भएर फर्केकाहरुलाई बोर्डले ९ वर्ष अघिदेखि आर्थिक सहायता गर्दै आएको छ । 

आर्थिक सहायता लिनेमध्ये एक सय ३७ जना घातक रोग लागेर फर्केकाहरु छन् । मिर्गौला काम नलाग्ने, क्यान्सर जस्ता घातक रोग लागेका उनीहरुलाई कल्याणकारी कोषबाट क्षतिपूर्ति दिइएको हो । 

क्षतिपूर्ति पाउन वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिई गएको, करार अवधि भित्र अंगभंग भएको, अंगभंग भई स्वदेश फर्किएको एक वर्ष भित्र बोर्डमा निवेदन दिनु पर्छ । श्रम स्वीकृति लिएर विदेशको कम्पनीसित गरिएको करार अवधिमा अंगभंग भए बीमा कम्पनीले म्यादी जीवन बिमा वापतको १० लाख रुपैयाँसम्म आर्थिक सहायता पनि प्रदान गर्छ । 

अंगभंग भएका पीडितले पासपोर्ट, श्रम स्वीकृति पत्र, करारपत्र, रोजगारदाता मुलुकमा उपचार गराएको कागज पत्र, सम्बन्धित दूतावासको सिफारिस पत्र, कामदारको नागरिकता, अंगभंग भएको कामदारको अंगभंग भएको फोटो, नेपाल फर्किएपछि सरकारी अस्पतालमा उपचार गराएको कागज पत्र र नेपाल फर्कंदाको हवाई टिकटका साथ निवदेन दिए बोर्ड र बीमा कम्पनीबाट क्षतिपूर्ति रकम पाउँछन् ।

बाआमालाई पीरैपीर 

कपिलवस्तु जिल्लाको ४ नम्बर । वाणगंगा नगरपालिका पर्ने चार नम्बरबाट झण्डै ८ किलोमिटर जंगल र बस्ती छिचोलेपछि पुगिन्छ मनहरापुर । मनहरापुर चौकबाट पाँच सय मिटर दक्षिणतिर हिँडेपछि थारु बस्ती पुगिन्छ । त्यै बस्तीमा छ मंगन थारु, अथवा निरञ्जनका पिताको घर । 

चार कोठे पक्की घर । छेवैमा फुसको छानो भएको झुप्रो घर । झुप्रोमा राँगा, भैंसी, बाख्रा बाँधिएका छन् । अघिल्लो वर्षसम्म त्यो झुप्रो मंगन थारु र सत्यनारायणी थारुका परिवारको लागि घामपानीमा टाउको लुकाउने ठाउँ थियो । 

मंगनले सत्यनारायणीलाई २९ वर्षअघि त्यै झुप्रो घरमा भित्र्याउनुभएको थियो । त्यही झुप्रोमा तीन छोरी र एक छोरा जन्मिए । उनीहरु त्यहीँ हुर्किए । 

बाआमाको जायजेथा पाँच भाइलाई बाँडीचुँडी गर्दा भागमा परेको पुग नपुग एक कठ्ठा जमिन छ मंगनको । त्यही जमिनमा फुसको सानो झुप्रो छ । पोहोरदेखि त्यहाँ एउटा चार कोठा भएको एक तले पक्की घर पनि थपिएको छ । 

त्यो पक्की घरमा मंगनका एक मात्र छोरा निरञ्जनले मलेसियामा कमाएको पैसाको केही अंश छ । केही अंश मंगन आफैंले साहुको खेत अधियाँ ९बटैया० गर्दा कमाई गरेको पैसा लगानी गर्नु भएको छ ।

मंगन अहिले पनि साहुको अढाई बिगाहा खेत अधियाँ कमाउनु हुन्छ । त्यसैको आयस्ताले उहाँका  परिवारको साँझ बिहान टर्छ । 

पक्की घर बनाउनका लागि नै मंगनले छोरालाई २१ वर्ष पूरा नहुँदै विदेश पठाउनु भएको थियो । ‘फुसको घरमा हिउँदमा आगोपानी, हावाहुरीको डर हुन्थ्यो । बर्खा लागेपछि सर्पको डर । त्यही भएर नयाँ घर बनाउने सोचले विदेश पठाएको थिएँ’ मंगनले भन्नुभयो । 

छोरालाई विदेश पठाएको झण्डै चार वर्षमा नयाँ घर पनि बन्यो । मंगन र उहाँको परिवारले सोचेजस्तै भैरहेको थियो । घर बनिसके पछि जग्गा समेत जोड्ने योजनामा थियो थारुको परिवार । 

‘कोठाबाट निस्नेपछि क्वालालाम्पुर गएर फर्कें । कोठा जानै मन लागेन । त्यसैले हाइवे नै हाइवे दिउँसोभरी हिँडे । साँझतिर सडक काट्दा जिपले ठक्कर दियो । त्यसपछि एम्बुलेन्स आएको मात्रै कानले सुनें । आँखा खोल्नै सकिन’ उहाँले सुनाउनुभयो ‘चार दिन पछि होस् आउँदा अस्पतालको आइसियुमा रहेछु ।’ 

तर अढाई महिनाअघि थारु दम्पत्तिको खुसीमा बज्रपात र्पयो । मलेसियामा कमाइ गरिरहेका छोरा एक्कासी सम्पर्कबिहीन भए । झण्डै दुई हप्तामा थाहा भयो, सडक दुर्घटनामा परेर छोरा घाइते भएका छन् । उनलाई अस्पतालमा राखिएको छ । 

एक महिनापछि छोरोलाई मंगनले नेपाल फर्काउनु भयो । जसोतसो छोरो घर त फर्केका छन्, तर मंगन दम्पत्तिको टाउकामा साहुको ऋण थपिन थालेको छ । उपचार गराउँदा एक महिनामा झण्डै दुई लाख रुपैयाँ सकियो ।

अहिले पनि पैसाको जाने बाटो थुनिएको छैन । थप उपचार गराउनु पर्ने छँदैछ । अर्कातिर कमाउन सक्ने भएको छोरा अंगभंग भएर फर्केपछि निको हुने हो कि नहुने हो भन्ने पीर पनि थपिएको छ । 

यसरी भएको थियो दुर्घटना 

‘कसैले कानमा आएर तँलाई मार्छु भन्थ्यो । बाटोमा, कम्पनीको होस्टलमा पनि आएर मार्लान जस्तो लाग्थ्यो । त्यो दिन पनि कानमा आएर त्यसै भने पछि म होस्टलबाट भागें ।’ दुर्घटना भएको दिनको कुरा सुनाउँदै निरञ्जनले भन्नुभयो । 

स्थानीय मलेसियन नागरिकले नेपालीलाई कुटपिट र लुटपाट गरेको देखेका उहाँ आफूलाई पनि यस्तै आइपर्ला भनेर सधैं डराउनु हुन्थ्यो । अरुबेला भने साथीहरुसित कोठामा बसेर डर भगाउनु हुन्थ्यो । 

‘कोठाबाट निस्नेपछि क्वालालाम्पुर गएर फर्कें । कोठा जानै मन लागेन । त्यसैले हाइवे नै हाइवे दिउँसोभरी हिँडे । साँझतिर सडक काट्दा जिपले ठक्कर दियो । त्यसपछि एम्बुलेन्स आएको मात्रै कानले सुनें । आँखा खोल्नै सकिन’ उहाँले सुनाउनुभयो ‘चार दिन पछि होस् आउँदा अस्पतालको आइसियुमा रहेछु ।’ 

५ मार्च २०१७ (२०७३ फागुन २३) । आइतबारको दिन भएकाले निरञ्जनको साप्ताहिक बिदा थियो । त्यस दिन भने साथीहरुसित बस्दा पनि उहाँलाई डर लागिरह्यो । त्यसपछि कोठाबाट निस्किनु भएको थियो । र, कोठाबाट बाहिरिने त्यो गल्ती जीवनको सबैभन्दा दुःखदायी क्षण सावित भयो । 

प्रकाशका सपना बहराइनमा निभे 

मोरङको विराटनगर महानगरपालिका १५ पिचराको डेरामा पुग्दा प्रकाश राई दाहिने खुट्टाले कागजमा आफ्नो नाम लेख्ने प्रयास गर्दै हुनु हुन्थ्यो । 

३४ वर्षको उमेरमा खुट्टाले लेख्नु प्रकाशको रहर होइन । कर नपरी नपरी खुट्टाले कलम च्याप्दा उहाँका शरीर थर्रर काँप्छ । तर पनि लेख्ने कोशिस गर्दै हुनुहुन्छ । 

एक वर्षअघि बहराईनमा भएको दुर्घटनामा परेपछि उहाँको दुवै हात काट्नु परेको थियो । कुमदेखि तल दुवै हात काटिएका प्रकाशका लागि कि त नलेखी बस्नु पर्‍यो कि खुट्टाले नै भए पनि लेख्नु पर्ने अवस्था आयो । 

मोरङको पथरी शनिश्चरे नगरपालिका १ कानेपोखरीका प्रकाश झण्डै चार वर्षअघि रोजगारीका लागि बहराइन पुग्नु भएको थियो ।

आफन्तले पठाएको तनुवा भिसासँगै उहाँका लागि बहराइनमा काम गर्न जाने अवसर खुलेको थियो । त्यही भिसामा प्रकाशले २०७० असार २४ गते वैदेशिक रोजगार विभागबाट व्यक्तिगत श्रम स्वीकृति लिनु भयो । 

अंगभंग भएपछि पाएको आर्थिक सहायताले राहत मिलेको छ । ९ र ७ कक्षामा पढ्ने छोराछोरीका लागि पढाउने खर्च र डेरामा बसेर खानेबस्ने खर्च त्यसैको ब्याजले चलेको छ । कार्यस्थलमा भएको दुर्घटनापछि बहराइनको कम्पनीले ४३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

श्रम गरेको केही समयमा नै उहाँ अदलिया कन्ट्रयाक्टिङ कम्पनीमा लेवरको भिसामा बहराइन पुग्नुभयो । पहिलो पटक विदेश गएका उहाँलाई त्यहाँको कमाई राम्रै लागेको थियो । 

सप्लाई कम्पनी भए पनि प्रकाशका लागि विदेशको काम र कमाई ठिकै भैरहेको थियो । ओभरटाइम चल्दा उहाँले ३५ हजार रुपैयाँसम्म कमाई गर्नुहुन्थ्यो । 
केही महिना लेवरको काम गरेपछि कम्पनीले उहाँलाई क्लिनरको काममा खटायो । प्रकाशका लागि लेवरको भन्दा क्लिनरको काम सुविस्ताको थियो । 

भवन सफा गर्दा १६ हजार भोल्टको करेन्ट 

दुई वर्षका लागि श्रम स्वीकृति लिएर विदेश पुगेका प्रकाश गएको वर्ष छुट्टिमा नेपाल आउनुभयो । कम्पनीको काम र कमाई ठिकै भएकाले फेरि काम गर्न त्यै कम्पनीमा पुग्नुभयो ।

भिडियाे 

तर यो पालिको उहाँको बहराइनको बसाई सुखद रहेन । नेपालबाट छुट्टि मनाएर फर्केको एक हप्तामा उहाँ दुर्घटनामा पर्नुभयो । 

२०७२ माघ १९ गते कम्पनीले खटाएको ठाउँमा उहाँ काम गर्दै हुनुहुन्थ्यो । भवन सफा गर्ने क्रममा उहाँ १६ हजार भोल्टेजको हाइटेन्सन तारमा पर्नुभयो । करेन्ट लागेपछि उहाँको पूरै शरीर जल्यो । भाग्यले उहाँको ज्यान त बच्यो, तर दुवै हात बचाउन सकिएन । 

५२ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता

दुवै हात काटिएर फर्केपछि हिजोआज प्रकाश घरैमा बस्नुहुन्छ । हात बिना काम गर्ने बानी अझै बसिसकेको छैन । त्यसैले छोराछोरीका लागि खर्च जुटाउने काम श्रीमती विना राईको काँधमा आएको छ । दुर्घटनामा परेर दुवै हात गुमाएका श्रीमानको स्याहारसुसार गर्ने काम पनि थपिएको छ । 

तर प्रकाशले अंगभंग भएपछि पाएको आर्थिक सहायताले राहत मिलेको छ । ९ र ७ कक्षामा पढ्ने छोराछोरीका लागि पढाउने खर्च र डेरामा बसेर खानेबस्ने खर्च त्यसैको ब्याजले चलेको छ । कार्यस्थलमा भएको दुर्घटनापछि बहराइनको कम्पनीले ४३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

कम्पनीले बीमा वापतको रकमका साथै कम्पनीमा काम गर्नेहरुबाट सहयोग रकम उठाएर प्रकाशका परिवारलाई सहयोग गरेको हो । ४३ लाख क्षतिपूर्ति वापत र ५० हजार रुपैयाँ घरखर्चका लागि प्रकाशलाई कम्पनी र सहकर्मीहरुले सहयोग गरे । 

विदेशमा काम गर्दा अंगभंग भएर घर फर्कनु र लामो समय उपचार गरेपछि पनि अपांगता सँगै बाँच्न बाध्य हुने युवाको संख्या दिनदिनै बढिरहेको छ । 

त्यस्तै वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याणकारी कोषबाट तीन लाख र बीमा कम्पनीले ६ लाख रुपैयाँ आर्थिक सहायता गरेको छ । वैदेशिक रोजगार विभागबाट पुनः श्रम स्वीकृति गरेर गएकाले उहाँले बोर्ड र बीमा कम्पनीबाट क्षतिपूर्ति वापतको पैसा पाउनु भएको हो ।

काम गर्ने स्थल बाहिर दुर्घटनामा परेको र श्रम स्वीकृतिको म्याद सकिएका कारण निरञ्जनले कुनै खालको सहायता पाउनु भएन । तर, कार्यस्थालमा दुर्घटनामा परेका प्रकाशलाई बीमा र बोर्डको सहायताले केटाकेटी पढाउन सहयोग मिलेको छ। 

विदेशमा काम गर्दा अंगभंग भएर घर फर्कनु र लामो समय उपचार गरेपछि पनि अपांगता सँगै बाँच्न बाध्य हुने युवाको संख्या दिनदिनै बढिरहेको छ । 

बोर्डबाट क्षतिपूर्ति लिनेको संख्या ९ वर्ष अघि आठ जना मात्रै थियो, तर अघिल्लो वर्ष यस्तो क्षतिपूर्ति पाउनेको संख्या एक सय १६ पुग्यो । चालु आर्थिक वर्षमा त यसरी आर्थिक सहायता पाउनेको संख्या नौ महिनामै एक सय १८ पुगिसकेको छ ।

अन्तिम अपडेट: भदौ १७, २०७५

रीतु थेबे

वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्ने थेबेलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया