पीपीई सेट नहुँदा चिकित्सकलाई समस्या

 चैत १२, २०७६ बुधबार १२:५:१ | विमल बिष्ट
unn.prixa.net

डोटी - कोरोना भाइरस (कोभिड १९) सङ्कमण भएका बिरामीलाई चेक गर्दा चिकित्सकले लगाउने पीपीई सेटको अभाव भएको छ । 

कोरोना सङ्क्रमण भएका बिरामीलाई राख्न जिल्लामा आइसोलेशन कक्ष तथा बेडहरु तयारी अवस्थामा भए पनि चिकित्सकले लगाउने पीपीई सेट र एन ९५ मास्क उपलब्ध हुन सकेको छैन  । 

चिकित्सकहरु जोखिम मोलेरै भए पनि अस्पतालमा बिरामीको जाँच गर्न बाध्य भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका डा. बबिता गजमेरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पालहरुमा  पीपीई  सेट छैन, सङ्क्रमितको सङ्ख्या बढ्यो भने के गर्ने भन्ने समस्या छ ।’

सरकारले जिल्ला अस्पताल डोटीमा मात्रै पाँच सेट पीपीई सेट उपलब्ध गराएको छ । जिल्लामा रहेका अन्य निजी क्षेत्रका अस्पताल तथा सरकारी स्वास्थ्य संस्थामा पीपीई सेट नभएको चोपडा अस्पताल दिपायलका निर्देशक हिक्मतसिंह चोपडाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बिरामी जती सबै निजी अस्पतालमा छन्, ती अस्पतालका चिकित्सकले पीपीई सेट बिना नै जाँच गरिरहेका छन्, बिरामीभन्दा पनि चिकित्सकलाई बढी जोखिम छ ।’ 

बिरामीको उपचारका लागि पर्याप्त स्वास्थ्य उपकरण नहुँदा स्वास्थ्यकर्मीलाई झनै समस्या हुँदै आएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योति पाण्डेले बताउनुभयो । 

स्वास्थ्यकर्मीका लागि पीपीई सेट प्रदेश सरकारसँग माग गरिए पनि अहिलेसम्म उपलब्ध नभएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका डा. बबिता गजमेरले गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, 'बिरामीको जाँचका लागि खटिनु भन्ने खबर आउँछ, पीपीई सेट र उपकरण माग गर्दा केही उत्तर आउँदैन, बिना सामग्री उपचार गर्न खटिनु परेको छ।'

कोरोना भाइरसको सङ्क्रमण भएका बिरामीलाई उपचार तथा जाँच गरिसकेपछि पीपीई सेट डिस्पोज अर्थात् जलाउनु पर्ने भएकाले एउटा चिकित्सकलाई कीमा पनि तीनदेखि चार जोर पीपीई सेट  चाहिने डा. गजमेरले जानकारी दिनुभयो । 

सरकारले पीपीई सेट उपलब्ध नगराएका कारण यहाँका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुले हिजो आज सामान ज्वरो, रुघाखोकी लागेका बिरामीको जाँच गर्न समेत आनाकानी गर्न थालेको स्थानीयबासीहरु बताउँछन्।

सरकारले पीपीई सेट, एन ९५ मास्क र अन्य उपकरण उपलब्ध गराउन नसकेका कारण चिकित्सकहरु बिरामी जाँच गर्न डराउन थालेको जोरायल गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया