कोरियामा कोरोना नियन्त्रण भैरहनुमा सरकार र नागरिकको भूमिका महत्वपूर्ण

 चैत १२, २०७६ बुधबार १२:३९:५७ | मेरो कथा मेरो भोगाई

जोकराज कुलुङ– चीन बाहिर कोरोना भाइरसको संक्रमण एकैपटक धेरै फैलिएको देश दक्षिण कोरिया हो । नेपालीहरुको आकर्षक वैदेशिक रोजगारीको गन्तव्य समेत रहेको दक्षिण कोरियामा संक्रमण तीव्र बन्दै गर्दा धेरैले अब त्यहाँ चीनको अवस्था आउने आँकलन गरेका थिए । दक्षिण कोरियामा रहेका नेपालीहरुमा पनि चिन्ता फैलियो । 


विश्व स्वास्थ्य संगठनले समेत दक्षिण कोरियालाई सचेत भएर भाइरस नियन्त्रणका काम गर्न भन्यो । दक्षिण कोरियापछि भाइरस फैलिएको यूरोपका देश तथा अमेरिकामा समेत अवस्था खराब बन्दै गर्दा दक्षिण कोरियाले भने अहिलेसम्म समस्यालाई नियन्त्रणमा लिइरहेको छ । 


पछिल्ला दिनमा नयाँ संक्रमण र ज्यान गुमाउनेको संख्या घटिरहेको छ । बुधबार दिउँसोसम्ममा दक्षिण कोरियामा नौ हजार १३७ जनामा संक्रमण र एकसय २६ जनाको ज्यान गएको छ । यो कुल संक्रमितमध्ये एक दशमलब ३७ प्रतिशत मात्रै हो । यसको अर्थ त्यहाँ उपचार पनि राम्रोसँग भएको छ । यस्तै तीन हजार ७३० जना निको भैसकेका छन् अर्थात ४० प्रतिशतभन्दा धेरै संक्रमित उपचारपछि निको भैसकेका छन् । 


अहिले बाहिरबाट आएकाहरुमा संक्रमण देखिएको र कोरियामै रहेकाहरुमा संक्रमण घट्दै गएको कोरियाको सरकारले जनाएको छ । यसको अर्थ कोरियन सरकारले भाइरसको फैलावट नियन्त्रणको साथसाथै बिरामीहरुलाई निको बनाउने काममा पनि सफलता पाइरहेको छ । 


सरकारको सुझबुझपूर्ण कदमकै कारण कोरोना भाइरस नियन्त्रणमा सफल भएको हो । यसमा यहाँका नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । सरकारले भनेका सबै कुरा यहाँका नागरिकले मानेका छन् र कोरोना हाम्रो शत्रु हो भन्ने राम्रोसँग बुझेका छन् । नागरिकको सचेतनाका कारण पनि सरकारलाई सजिलो भएको छ । 


कोरोना विरुद्ध कोरियन सरकार सफल हुनु पछाडिका कारण:


१. Drive through Testing: (सडकको छेउमा गाडी भित्रै भाइरस चेकजाँच गर्ने प्रणली): ५ करोड १२ लाख ५७ हजार १५० जनसंख्या रहेको कोरियामा सरकारले ठाँउ ठाँउमा यस्तो केन्द्रको स्थापना गर्‍यो जस्ले गर्दा दैनिक १५ हजार जनाको परीक्षण गर्न सम्भव भयो । समस्यालाई बेलैमा काबुमा राख्न सक्नुको मुख्य कुरा पनि परीक्षणलाई तिब्रता दिनु नै हो । परीक्षण गरेर बेलैमा पहिचान गर्दा संक्रमण धेरै फैलनबाट रोकियो । सरकारी तथ्यांक अनुसार यस्तो बिधिबाट मार्च १२ सम्ममा दुई लाख ४८ हजार ६४७ जनाको कोरोना परीक्षण सफल भयो । चीनले पनि पनि यही बिधिबाट तीन लाख २० हजार जनाको परीक्षण गरिएको जनाएको छ । 


अहिलेसम्म यस विधिमार्फत कोरियामा दोस्राे धेरै सफल परीक्षण गरिएको कोरिया सरकारको दावी छ । भयावह अबस्था आउन नदिनुको मुख्य कारण पनि यही हो । निःशुल्क उपलब्ध गराइएको यो विधि अस्पताल र मेडिकलमा भन्दा बिरामी र स्वास्थ्यकर्मी दुवैलाई सहज, छरितो र सुरक्षित हुने कोरिया सरकारको भनाई छ । मानिसहरुको बाक्लो आवतजावत हुने ठाउँमा कोरोना जाँचका लागि आवश्यक उपकरण सहित स्वास्थ्यकर्मीको समूह बस्ने र गाडीमा रहेकाहरुलाई रोकेर जाँच गर्ने र प्रतिवेदन आएपछि एसएमएसमार्फत पठाईदिने गरिएको छ । यदि कोही संक्रमित भएका तत्काल तोकिएको अस्पताल लैजाने व्यवस्था मिलाउने गरिएको छ । 

सरकार, नागरिक र स्वास्थ्य संस्थाबीचको समन्वय: कोरियन सरकारले नागरिकको चिन्तालाई कम गराई जनविश्वासको वातावरण बढाएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया ( स्वास्थ्य सम्वन्धी सूचना दिने सरकारको आधिकारिक निकाय) ले सही सूचनालाई सञ्चार माध्यममार्फत आफनो नागरिकसामु पुर्‍याएको छ । समयमा जानकारी दिने, नअत्याउने गर्दै अवस्थालाई सामान्य बनाइरहेको छ । सुरक्षाको लागि प्रयोग गरिने मास्कको बिक्री वितरणबारे स्वास्थ्य मन्त्रालय र साना तथा मझौला कम्पनीहरुको समन्वयमा सार्वजनिक तथा निजी स्वास्थ्य संस्थाहरुमार्फत सरकारले उपलब्ध गराउँदै आएको छ । उपलब्ध हुने ठाउँ, रकम सबै बारेमा जानकारी दिईन्छ । कसले कति किन्यो भन्ने तथ्याँक रहन्छ । आवश्यकता अनुसारका सामान उपलब्ध गराईन्छ । यसले गर्दा नागरिकहरु आत्तिएका छैनन् । कालोबजारी हुनबाट सरकारले पुरै रोकेको छ भने अत्यावश्यक सामान जसरी पनि उपलब्ध गराउछौं भन्ने विश्वास सरकारले सबै नागरिकलाई गराएको छ ।  


नवीनतम प्रविधिको प्रयोग: सरकारले तयार पारेको तथ्यांकलाई कमर्सियल कम्पनीहरुको वेवसाईट तथा मोबाइल एपको प्रयोग गरेर कोरोना संक्रमित मानिसको लोकेशनबारे सजिलै जानकारी सजिलै पाईन्छ र आफू बच्न सजिलो हुन्छ । जस्तै: १०० मिटर भन्ने एउटा मोबाइल एप्लिकेशन डाउनलोड गरेर १०० मिटर वरपर कोही संक्रमित भए मोबाइलमा नोटिफिकेशन आउँछ र सतर्क अपनाउन सकिन्छ । त्यस्तै कोरियन सरकारले टेलिकमको सहयोगमा संक्रमणको शंका गरिएको वा क्वारेनटाईनबाट भागेको बिरामीका लोकेशन ट्रयाक गरी पत्येक नागरिकमा एसएमएस पठाईरहेको हुन्छ ।

त्यस्ता मानिस कुन रेस्टुरेण्टमा गएको छ ? कुन बस चढेको छ ? कुन एटीएमबाट पैसा निकालेको छ ? लगायतका सूचनाहरु सम्बन्धित क्षेत्रका मानिसहरुको सीमकार्डमा एसएमएस पठाइरहेको हुन्छ । कोरियामा रकम नभइ कार्डको प्रयोग धेरै हुने भएकोले पनि संक्रमितहरु आफ्नो एरियामा भए नभएको सजिलै थाहा पाईन्छ । यसले गर्दा आफ्नो वरिपरी कोही संक्रमित छ भन्ने थाहा पाउनासाथ हरेक नागरिकले थाहा पाउँछन् र आफू सुरक्षित रहन सुरक्षाका उपायहरु अपनाई हाल्छन्, जुन जानकारी पनि सरकारले मोबाइलमै पठाईरहन्छ । 


कम्पनीहरु चलिरहेका छन् । कामदारलाई कम्पनीबाट बाहिर जान अनुमति छैन । रोजगारको चिन्ता नगर भने कामदाराई विश्वास दिइएको छ । रेष्टुरेन्टहरु खुलेका छन्, तर ग्राहकहरु शून्य जस्तै छ । अत्यावश्यक सेवा चलिरहन्छ । तर नागरिक अत्यन्तै जरुरी नहुञ्जेल घरबाट बाहिर निस्कँदैनन् । सबै कम्पनीहरुमा स्यानिटाइजर र ज्वरो नाप्ने मेसिन ढोका अगाडि राखिन्छ । सार्वजनिक यातायातका साधनमा पनि यो अनिवार्य छ ।

लकडाउन त छैन, तर सबै सचेत छन् । उत्पादनहरु भैरहेका छन्, धेरै काम चलिरहेका छन् । नआत्तिन र सचेत रहन भन्दै र आवश्यक सामानको बन्दोबस्त सहित काममा लगाइएको छ । यही कारण कोरियामा एकैपटक डरलाग्दो गरि फैलिएको कोरोना संक्रमण सरकार र नागरिकको समन्वयबाट अहिलेसम्म नियन्त्रणमा रहेको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया