बैंकका एटीएम खुलै, सकभर विद्युतीय कारोबार गर्न बैंकर्स सङ्घको अनुरोध

 चैत १२, २०७६ बुधबार १२:५२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – 'लकडाउन' को समयमा पनि बैंकका एटीएम नियमित खुलिरहेका छन् । नेपाल बैंकर्स सङ्घले सबै बैंकका एटीएम चलेको र नियमित रुपमा पैसा राख्ने काम भइरहेको जनाएको छ । 

अहिले बैंक तथा वित्तीय संस्थामा तीन हजार ६ सय ६२ वटा एटीएम सञ्चालनमा छन् ।  तर एटीएम बुथ नभएका बैंकका शाखाहरु सीमित समयको लागि मात्रै खुल्ने भएका छन । यसको लागि पनि सम्बन्धित ठाउँको प्रशासनसँग अनुमति लिनुपर्नेछ । 

बैंकर्स सङ्घले आफ्ना सदस्य बैंकहरुलाई एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म खोल्न निर्देशन दिएको छ । तर लकडाउनको बेला बाहिर निस्कन नपाइने भएकाले सकभर डिजिटल बैंकिङको प्रयोग बढाउन पनि सङ्घले आग्रह गरेको छ । 

बैंकमा जाँदा कोरोनाका जोखिम हुने भएकाले राष्ट्र्र बैंकले विद्युतीय कारोबार र मोबाइल बैंकिङको कारोबार सीमा बढाएको छ । नोटमार्फत कारोबार गर्दा सङ्क्रमणको जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार मोबाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा एक दिनको सीमा एक लाख  र महिनाको सीमा १० लाख रुपैयाँ पुर्याइएको छ । 

यस्तै इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ । एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ । 

यस्तै बैंक खाताबाट वालेटमा पैसा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र  एक महिनामा पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया