माग घटेपछि भारतबाट आउने बिजुली रोक्ने तयारी, विद्युतीय उपकरण चलाउन कुलमानको आग्रह

 चैत १२, २०७६ बुधबार १५:१०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग ९लोड० पनि ह्वातै घटेको छ ।

बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको हो । विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युत्को प्रयोग भइरहेकाले अहिले विद्युत्को लोड घटेको हो ।  

लकडाउन सुरु हुनुभन्दा पहिले देशभरको विद्युतको अधिकतम माग ९पिक डिमाण्ड०  १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमाण्ड मंगलबार साँझ ७ बजे रेकर्ड गरिएको हो । 

मंगलबार राति विद्युतको माग ४ सय ८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युत्को माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको माग ६ सय २८ मेगावाट छ । 

विद्युत् बढी खपत हुने काठमाण्डौ उपत्यकाको विद्युतको माग पनि घटेको छ । लकडाउनभन्दा पहिले विद्युत्को अधिकतम माग  साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार देशभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाण्डौ उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको छ ।

काठमाण्डौ उपत्यकामा मंगलबार बिहान विद्युत्को माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाण्डौ उपत्यकाको विद्युतको माग १ सय ४ मेगावाट मध्यान्ह १२ बजे १ सय ८२ मेगावाट पुगेको छ । 

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग ‘ड्रास्टिकल्ली’ घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्को लोड ह्वातै घटेको हो,’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्याँसको अभावमा भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ ।’ 

घिसिङले पानी, हावाहुरी, प्राविधिक लगायतका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुन सक्ने भए पनि त्यसको मर्मतसम्भार गरी तत्काल सेवा ;सन्चालन गराउन लकडाउनको बेला पनि कर्मचारीहरु चौबीसै घण्टा तयारी अवस्थामा रहेको बताउनुभयो । 

विद्युतको माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिमाण पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन । घिसिङकाअनुसार, अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट मात्रै पिक समयमा झण्डै १ सय ५० मेगावाटसम्म विद्युत् ल्याइएको छ भने बिहीबार बेलुकाबाट ५० मेगावाट मात्रै ल्याइने छ । 

उहाँले राति विद्युतको लोड घटेकाले प्राधिकरणका विद्युत्गृह बन्द गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । प्राधिकरणले आफ्ना स्वामित्वका, निजी क्षेत्रका विद्युत्गृहबाट उत्पादित विद्युत्बाट आपूर्ति गरिरहेको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया