सरकारले देखाएको सपना दुःस्वप्नमा परिणत हुने खतरा : डा भट्टराई

 जेठ ११, २०७५ शुक्रबार १७:१०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ११ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले देखाएको सपना दुःस्वप्नमा परिणत हुने खतरा औंल्याउनु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नवगठित नेपाल कम्युनिष्ट पार्टी भित्रको अन्तरविरोध समाधान गरेर जान पनि सहज नरहेको बताउनु भयो ।

संयोजक भट्टराईले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टीले मुलुकको युगीन कार्यभार पूरा गर्न सक्ने संकेत नदेखिएको दावीसमेत गर्नुभयो ।

संयोजक भट्टराईले ५० वर्ष सत्तामा रहने सपना नदेख्न पनि नवगठित नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वलाई सचेत गराउनु भयो । उहाँले २ पार्टीबीचको एकतालाई भने स्वभाविकै रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

भट्टराईका अनुसार सरकारले भारत र चीन दुई छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्नु पर्छ । उहाँले मुलुकलाई समृद्ध बनाउन तीव्र आर्थिक वृद्धि, न्यायपूर्ण वितरण, प्राकृतिक दीगोपना र मानवीय खुशीसहितको समृद्धि हासिल गर्ने दिशामा अघि बढनुपर्ने पार्टीको अडान भएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया