विभिन्न देशबाट फर्किएका ९६ जना खरिपाटी क्वरेण्टीनमा

 चैत १३, २०७६ बिहिबार १३:१९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर : भक्तपुरको खरिपाटी क्वरेण्टीनमा २३ जना नेपाली नागरिक थपिएका छन् । विभिन्न देशबाट नेपाल आएका नागरिकहरुलाई बुधबार राति करिब ८ बजे सुरक्षाकर्मीको टोलीले खरिपाटी क्वरेण्टीनमा पुर्याएको हो । 

क्वरेण्टीनमा ७७ पुरुष र १९ महिला गरी ९६ जना राखिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । 

गएको चैत ८ गते भारत, कतार लगायतका देशबाट थाई एयरवेजमार्फत आएका ४९ र एयर इण्डियाबाट आएका १३ गरी ६२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खरिपाटी क्वरेण्टीनमा पुर्याइएको थियो । गएको चैत्र १० र ११ गते विभिन्न देशबाट फर्किएका थप ११ जनालाई पनि यही क्वरेण्टीनमा राखिएको थियो। 

क्वरेण्टीनमा रहेका नेपालीहरुको नियमित ज्वारो जाँच भइरहेको छ । २ जना चिकित्सक सहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँच जनाको टोली सेवामा खटिएका छन् । कोरोना संक्रमणको आशंका देखिए अस्पताल लैजान एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा राखिएको छ ।
    
उनीहरुलाई कम्तीमा १४ दिन क्वरेण्टीनमा राखिने भएको छ भने त्यसबीचमा कोरोना भाइरस संक्रमण पोजिटिभ भए उपचारका लागि शहीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल, टेकु लैजाने तयारी गरिएको छ ।

आफ्नै इच्छाले देश फर्किएका उनीहरु क्वरेण्टीनमा रहँदाको खर्च आफैँले गर्नेछन् । प्राधिकरणको क्यान्टिनबाट खाना प्याकिङ्ग गरी उनीहरुलाई पठाइने गरेको छ भने क्वा\रेण्टीनमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको सबै व्यबस्थापन गरिएको छ । 

क्वा\रेण्टीनमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया