लकडाउन उल्लंघन गर्ने २ सय ३५ गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा

 चैत १३, २०७६ बिहिबार १९:४३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउन उल्लंघन गर्ने २ सय ३५ गाडीलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले  नियन्त्रणमा लिएको छ ।

बिहीबार दिउँसो ३ बजेसम्म २३ वटा चारपांग्रे र २ सय १२ वटा दुई पांग्रे गाडीहरु नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम ढकालले जानकारी दिनुभयो

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन लकडाउन उल्लंघन गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसबाहेक तुलनात्मक रुपमा बिहीबार काठमाण्डौ उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाइएपछि ‘लकडाउन’को तेस्रो दिन आज काठमाण्डौ उपत्यका निकै सुनसान देखिएको हो ।

एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेका छन् । प्रहरीले उपत्यकाका ३२ ठाउँमा टोलटोलमा गएर माइकिङ गरि लकडाउनमा सरकारको निर्देशनलाई पालना गर्न आग्रह गरिरहेको छ । 

विश्वव्यापी रुपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउनको घोषणा गरेको थियो । सरकारले संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउनको व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

लकडाउनमा अत्यावश्यकीय पसलबाहेक अरु सबै बन्द छन् । सरकारले दूध, पानी, खाद्यान्न, तरकारी लगायतका अत्यावश्यकीय खाद्यान्न पसल खुल्ला गर्न व्यवसायीलाई आग्रह समेत गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया