सामान्य व्यवहार सुधारे भाइरसको जोखिम घट्छ : विश्व स्वास्थ्य सङ्गठन

 चैत १४, २०७६ शुक्रबार ८:१२:० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाँच वटा कुरा पालना गरे कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम घट्ने बताएको छ । डब्ल्यूएचओले व्यवहारमा लागु गर्नुपर्ने कुराहरुको चित्र सहित सूचना निकालेर भाइरसको प्रकोपबाट बच्न सजिला र प्रभावकारी उपाय भएको बताएको हो । 

हात

डब्ल्यूचओले सबैभन्दा ध्यान दिनुपर्ने कुरामा मानिसको हातलाई लिएको छ । अहिलेसम्मको अध्ययनमा भाइरस फैलनुको मुख्य माध्यम हात भएको भन्दै डब्ल्यूएचओले साबुन पानीले बारम्बार हात धुन भनेको छ । साबुन पानीले हात धुँदा हातमा भएको भाइरस मर्ने भएकोले यो सरल र महत्वपूर्ण उपाय हो । 

कुहिनो

कुहिनोलाई पनि भाइरस रोक्ने माध्ययमका रुपमा लिइएको छ । खोक्दा, वा हाच्छिउँ गर्दा टिस्यु पेपर जस्ता कागजको प्रयोग गरेर सुरक्षित ठाउँमा फ्याँक्न सकिन्छ भने रुमालको प्रयोग गरेर रुमाललाई बारम्बार साबुन पानीले धुन पनि सकिन्छ । तर यी कुरा उपलब्ध नहुँदा आफ्नै कुहिनो पनि प्रभावकारी हुने डब्ल्यूएचओले जनाएको छ ।

खोक्दा, वा हाच्छिउँ गर्दा कुहिनोले मुख छोपेमा भाइरस अरु व्यक्तिमा फैलिने खतरा कम हुने भन्दै डब्लुएचओले आफ्नो सरसफाइमा ध्यान दिन जोड दिएको छ । कुहिनाको प्रयोगको कोरोना मात्र नभइ चिसो, फ्लु लगायतका भाइरस पनि अरुमा फैलनबाट रोक्न सकिने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । 

अनुहार

भाइरस शरीरमा प्रवेश गर्ने मुख्य माध्यम अनुहार भएको भन्दै डब्ल्यूएचओले विशेषगरी आफ्नो अनुहारका आँखा, नाक र मुखलाई हातले छुनबाट रोक्न भनेको छ । हातले धेरै सतहहरुलाई छुन्छ र चाँडै भाइरसको सङ्क्रमण फैलिन सक्छ ।

एक पटक दूषित भएपछि, हातहरूले भाइरसलाई अनुहारमा लैजान्छ र नाक, मुख वा आँखाबाट भाइरस शरीरभित्र जाने भएकोले हातले अनुहार छोइरहने बानी पूरै त्याग्न डब्ल्यूएचओले सुझाव दिएको छ । यदि अनुहार छुनै परे छुनुअघि साबुन पानीले हात धुन भनिएको छ । 

दुरी

अर्को महत्त्वपूर्ण कुरा मानिसबीचिको दुरीलाई लिएको छ । डब्ल्यूएचओले अब दोस्रो मानिससँगको दुरीमा एक कदमपछि हट्न भन्दै अर्को व्यक्तिसँगको दुरी कम्तीमा एक मिटर कायम गर्न भनेको छ । हात मिलाउने, अङ्कमाल गर्ने तथा चुम्बन गर्ने बानी त्याग्न सुझाव दिइएको छ । यसो गर्दा आफूमा भएको सङ्क्रमण अरुमा सर्ने र अरुमा भएको सङ्क्रमण आफूमा सर्ने जोखिम कम हुने भनेको छ ।

अनुभव/महसुस 

डब्ल्यूएचओले भनेको छ, ‘यदि तपाईँले आफूलाई असहज महसुस गर्नुभएको छ भने घरमै बस्नुस्, स्थानीय स्वास्थ्य अधिकारीले भनेका कुराहरु पालना गर्नुस् तर तपाईंलाई ज्वरो, खोकी र सास फेर्न गाह्रो भएको छ भने डाक्टर वा सरकारले तोकेका अधिकारीहरुलाई तत्काल जानकारी गराउनुस् ।’ आफै अस्पताल जाँदा सङ्क्रमण अरुमा फैलिन डर हुने भएकोले स्थानीय अधिकारीमार्फत सुरक्षित भएर अस्पताल जान पनि डब्ल्यूएचओले अनुरोध गरेको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया