झापा र मोरङबाट तीर्थ यात्रामा गएका १४ जना नेपाली भारतमा अलपत्र

 चैत १४, २०७६ शुक्रबार ८:३४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – झापा र मोरङबाट तीर्थ यात्रामा निस्केका १४ जना नेपाली भारतको आन्ध्र प्रदेशमा अलपत्र परेका छन् । 

भारत सरकारले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथामका लागि २१ दिने ‘लकडाउन’ गरेपछि पाँचथरको फालेलुङ गाउँपालिका १ का तीन जना सहित झापा र मोरङ जिल्लाबाट चारधाम यात्राका लागि निस्केका १४ जना अलपत्र परेका हुन् । 

कोरोना सङ्क्रमण नियन्त्रणका लागि २१ दिने लाकडाउन सुरु भएपछि आफूहरु बाटैमा अलपत्र परेको पाँचथर फालेलुङ गाउँपालिका १ का ७० वर्षीय मुक्तिनाथ खतिवडाले बताउनुभयो । आफुहरु अहिले दक्षिणी भारतको चेन्नई भन्दा ६० किलोमिटर टाढा सडकमा रहेको उहाँले जानकारी दिनुभयो । 

आफुहरु रहेको क्षेत्रमा बस्ती पातलो रहेको र स्थानीयले बास दिन नमान्दा झनै समस्या भएको अर्का तीर्थ यात्री गोविन्द पोखरेलले बताउनुभयो । सडकमा पार्क गरेर राखेका गाडीमा ओत लागेर रात बिताउनुपरेको उहाँको भनाइ छ । साथमा लिएर गएको खाना र पानी सकिएपछि बिचल्ली भएको उहाँले बताउनुभयो । 

स्थानीय प्रहरीले आफै सुरक्षित भएर बस्न भनेको पोख्रेलले बताउनुभयो । गएको फागुन २१ गते भारतको सिलिगुडीबाट दक्षिण भारत पुगेका उनीहरुको गएको मङ्गलबार सिलिगुडी आउने रेलको टिकट काटिएको थियो । तर सोमबारदेखि नै भारतमा लकडाउन घोषणा गरिएपछि उनीहरु अलपत्र परेका हुन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया