छल्न खोज्नेलाई घरमै क्वरेण्टीन

 चैत १४, २०७६ शुक्रबार १२:५६:४ | रासस
unn.prixa.net

हुम्ला – कोरोना भाइरस (कोडिड १९) को सम्भावित सङ्क्रमणबाट बच्न दुई हुम्लीलाई प्रहरीले होम क्वरेण्टीनमा राखेको छ ।

नेपालका विभिन्न स्थानीय नाकाहरु तथा प्रहरी चौकीलाई छल्दै भारतबाट आए पनि आफूहरु हवाई टिकट नपाइ नेपालगञ्जबाट आएका हौँ भनि झुट बोल्दै हुम्ला पुगेका खार्पुनाथ गाउँपालिका १ पिउसका एक र त्यही गाउँपालिकाको कारङ्ग गाउँका एक जनालाई होम क्वरेण्टीनमा राखिएको हो ।

प्रहरीले उनीहरु भारतबाट भागेर आएको थाहा पाउनेबित्तिकै याङ्चु प्रहरीको टोली गएर होम क्वरेण्टीनमा बस्न निर्देशन दिएको हो । यसरी भारतबाट भागेर आएकाहरु गाउँ पुग्दा स्थानीयवासी त्रसित हुन पुगेको स्थानीयवासीले बताएका छन् ।

गाउँपालिकामा भारत तथा नेपालका विभिन्न शहरबाट आउनेको सङ्ख्या सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

जिल्लाका सात वटै गाउँपालिकाका सम्पूर्ण पालिका प्रमुख, वडा प्रमुख र वडा सदस्यलाई आफ्नो गाउँठाउँमा आफै परिचालित भइ लकडाउनको पूर्ण पालना गराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया