‘विदेशमा भिसाको म्याद सकियो, कोरोनाको डर बढ्यो, नआत्तिनुहोस्, दूतावासमा सम्पर्क गरेर समाधान खोज्नुहोस्’

 चैत १४, २०७६ शुक्रबार १४:६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका ६ देश (साउदी, कतार, यूएई, कुवेत, बहराइन, ओमान) र मलेसियामा पनि कोरोना भाइरस सङ्क्रति बढिरहेका छन्। कोरोना सङ्क्रमणको जोखिमसँगै रोजगारीका लागि यी देशमा करार अवधि र भिसा सकिएका, ओभर स्टे भएका, कागजातबिहीन भएर काम गरिरहेका, पर्यटक भिसामा गएर काम गर्र्दै गरेका नेपाली श्रमिकलाई अर्को समस्या थपिएको छ । 

बिरामी भए उपचार कसले र कहाँ होला भन्ने चिन्ता छ भने कम्पनीमा काम बन्द हुँदा कतिलाई खान बस्नको पनि समस्या छ । गन्तव्य देशमा यस्तो समस्या भोग्ने श्रमिकलाई नेपाल सरकार वा विदेशमा रहेका नेपाली दूतावासले कसरी सहयोग गर्छन् त ? यिनै विषयमा हामीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेसँग कुराकानी गरेका छौं । 
 

खाडीका केही देशमा अहिले कर्फ्यु लागेको छ भने मलेसिया लकडाउन छ । यी देशमा कोरोनाको जोखिम पनि उत्तिकै छ । यस्तो बेला त्यहाँ रहेका नेपाली श्रमिक बिरामी परे उपचार कसले गर्छ ? 

अहिलेको अवस्था भनेको बच्ने र बचाउने हो । नेपाल सरकारसहित अहिले विदेशी सरकारले पनि मिलेर अहिले उपचारको व्यवस्था गरेका छन् । यस्तो बेला कुनै स्वास्थ्य समस्या देखिएमा नेपाली दाजुभाइ दिदीबहिनीले जहाँ बसिरहनुभएको छ, त्यहीँ तोकिएको नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गर्ने हो । उपचार खर्चको कुरा गर्दा धेरै नेपालीको स्वास्थ्य बीमा गरिएको हुन्छ । त्यसबाटै गर्ने हो, छैन भने सम्बन्धित देशमा रहेका नेपाली दूतावासमा गएर अनुरोध गर्ने हो । दूतावासका पदाधिकारीले उपचारका लागि सहयोग र समन्वय गर्नेछन् । 

अहिले थुप्रै नेपाली श्रमिकको भिसा र करारको अवधि सकिएको छ । कतिले त नेपाल फर्कने टिकटसमेत काटिसकेका थिए । अब उनीहरु फर्कन नपाउँदा ओभरस्टे हुने डर भयो । उनीहरु कसरी नेपाल फर्कने ? लकडाउन खुलेपछि खर्च कसले दिन्छ ?

नेपाली श्रमिकहरु करार गरेर नै काममा जाने हुँदा रोजगारदाता कम्पनीले नै फर्कने टिकट दिएको हुन्छ, समस्या हुँदैन । करारको अवधि सकिएको अवस्थामा परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित नेपाली दूतावासले सम्बन्धित देशका सरकारसँग समन्वय गरेर काम गरिरहेका छन् । यो नेपालीसहित धेरै देशका नागरिकको साझा समस्या भएकाले करारको पनि म्याद थप्ने र भिसाको पनि म्याद थप्ने गरी धेरै जसो देशले निर्णय पनि गरिसकेका छन् । धेरैले यस्तो समस्या भोग्ने श्रमिकलाई कानुनी रुपमै यो लकडाउनको अवधिभरि बस्ने व्यवस्था मिलाउने भनेर दूतावासमार्फत हामीलाई जानकारी गराएका छन् । 

जो विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, उहाँहरुले अहिले आत्तिनु पर्दैन । धैर्य गर्ने र आफू रहेको देशमा रहेका दूतावासमार्फत सही सूचना लिने गर्नुहोला । करार र भिसाको समय थप गर्नका लागि हामीले दूतावासमार्फत सम्बन्धित देशसँग समन्वय गरिरहेका छौं । केही न केही उपाय निस्कन्छ । काम र भिसाको म्याद थप्न परराष्ट्रमार्फत उपायहरु खोजिरहेका छौं ।  

कोरोना लाग्नासाथ मरिने पनि होइन । आत्तिनु पर्दैन । साथीभाइ सकेसम्म नभेटौं । भेट्दा पनि दूरी कायम गरौं । आफूलाई ज्वरो आएमा सावधानी अपनाउने गर्नुहोला ।  परराष्ट्र मन्त्री र श्रम मन्त्रीले खाडीका देश र मलेसियामा रहेका नेपाली राजदूतहरुसँग भिडियो कन्फ्रेन्स गरेर नेपाली श्रमिकको समस्या र अवस्थाको बारेमा जानकारी लिनुभएको छ । त्यसैले अहिले भनेको आफू पनि जोगिनुहोस् र अरुलाई पनि जोगाउनुहोस् ।

कतिपय कम्पनी बन्द भएका छन् । हवाइ उडान पनि बन्द छ । कति कम्पनीले तलब दिएका छैनन् भन्ने श्रमिकको गुनासो छ । बन्द रहेको समयमा तलब दिलाउन भनेर नेपाल सरकारले पहल गर्ने सक्ने अवस्था छ कि छैन ?

सरकारले पहल गरेको छ । करार सम्झौता गरेरै गएका छन् नेपालीहरु काम गर्न । नेपाली श्रमिकको कारणले यो अस्वस्था सृजना भएको होइन । हामीले यो कुरालाई गम्भिर रुपमा लिएका छौं । श्रमिकले कम्तिमा यो अवस्थामा पनि न्युनतम पारिश्रमिक पाउन पर्छ भनेर छलफल गरिरहेका छौं । केही देशले यो अमानवीय हुन्छ भनेर दिने भनेका छन् भने केही देशमा कठिनाइ भएको छ । त्यसैले न्युनतम ज्याला पाउने व्यवस्थाका लागि समन्वय र सहजिकरण गरिरहेका छौं । 

कोरोनाको जोखिम बढ्दो छ । भोलि कुनै दिन गन्तव्य देशले तिम्रो नागरिक लैजाउ भन्यो भने विदेशमा रहेका लाखौं नेपाली ल्याउन सरकारको के तयारी छ ?

त्यस्तो दिन नआओस् भनेर कामना गरौं । नेपाली नागरिकता भएका हरेक व्यक्तिको जिम्मा नेपाल सरकारले लिन्छ । सरकारको लक्ष्य भनेको नेपालीको हीत र रक्षा नै हो । हामी ल्याउने छौं । ल्याएपछि एउटा स्वास्थ्यको प्रोटोकल चाहिँ हुन्छ । क्वारेण्टीनमा बस्नुपर्ने हुन सक्छ । नेपाल सरकारले आवश्यक व्यवस्था गर्छ । नेपालबाट जानुभएकाले आत्तिनुपर्ने अवस्था छैन । 

क्षमता बढाउन पालिका, प्रदेश र स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ । मिलेर गर्ने हो । नेपाल सरकार भनेको नागरिक र आमसमुदायको नै हो । हामी सबै मलेर महामारिको बिरुद्ध लाग्न पर्ने छ । कुनै पनि नागरिक राज्यबिहीन हुँदैन । नेपाली दाजुभाइ दिदीबहिनीलाई सरकारले जस्तोसुकै परिस्थितीमा पनि राहत र उद्दार गर्छ। त्यसमा ढुक्क हुनुभए हुन्छ ।  नेपालको क्षमताले पुगेन भने  मित्र राष्ट्रसँग पनि समन्वय र सहयोग माग्छौं । अहिले पनि हामीसँग नभएको खण्डमा ल्याइरहेका छौं । तर अहिले त्यो अवस्था आइसकेको छैन । 

नेपाली दूतावासहरुले नेपाली श्रमिकको सुरक्षा र स्वास्थ्यको लागि अहिले कसरी काम गरिरहेका छ्न् ? नेपाली दूतावासको क्षमताले यो सबै भ्याउँछ ? 

विदेश जानेको संख्या बढ्दो छ । दूतावासको क्षमता पनि त्यही अनुसार बढाउन आवश्यक छ । तर तत्काललाई महामारीबाट पार पाउने उपायमा नै ध्यान केन्द्रित छ । दूतावास, श्रम सहचारी र श्रम काउन्लिलहरुलाई हामीले त्यहाँको अवस्थाबारे दिनहुँ रिपोर्ट पठाउन भनेका छौं । पठाइरहनुभएको पनि छ । उहाँहरुले पठाएको रिपोर्टको आधारमा अपनाउनुपर्ने रणनीति र निर्णयहरु गरिरहेका छौै । क्षमता बढाउनुपर्ने कुरा छ त्यो पनि हामी गर्छौं ।

अन्तिम अपडेट: चैत १६, २०८०

6 Comments

  • Bijaya ghimire

    April 11, 2020, 7:54 p.m.

    म आहिले दुबै मा छु ।मेरो घर मा बाबा बिरमी हुनुहुन्छ मलाई घर जान आवश्यक भएको छ ।म अब कसरी घर जान मिल्छ ।दुबै एम्बेस्सी मा भनेर जान मिल्छ कि मिल्दैन होला।

  •  0 Reply
  • Suman

    March 28, 2020, 8:48 a.m.

    श्री प्रदिपज्यूले गर्नु भएको निवेदन युएईको दूतावासमा इमेलबाट अनुरोध गरी पठाइएको छ । तत्काललाई त्यहाँ सम्पर्क गर्नु हुन अनुरोध छ ।

  •  0 Reply
  • Suman

    March 28, 2020, 8:45 a.m.

    श्री प्रकाशज्यूले गर्नु भएको निवदेन युएइ दूतावासमा इमेलबाट अनुरोध गरी पठाइएको छ । तत्काललाई आवश्यक सहयोगका लागि त्यँहा सम्पर्क गर्नु होला । धन्यवाद ।

  •  0 Reply
  • Pradeep

    March 27, 2020, 5:29 p.m.

    भिसा सकिएको, टर्मिनेट भएर हातमा घर जाने भनी बसेका नेपाली दाजुभाइ दिदी बहिनी का समस्या त पूराना भए!! यहाँ कोरोनाको संत्रास अर्कै कुरा ले नि गरेको छ।। म लगाएत ४०० बढी नेपाली को ड्युटि छैन काम मा नगएको १६ मार्च बाट हो , हामी बस्ने क्याम्प मुहैस्नाह-2, सोनापुर हो। यो केम्पमा ४००० करिब काम्दार हरु बस्छौँ,जस्मा २२०० जति दिन र रात को गरि २ शिफ्ट गरेर ड्युटिमा जान्छन। त्रास के मा छ भने- ड्युटी सकेर आउने ती काम्दारबाट हामी कति सुरक्षित छौ? तपाईं भन्नुहोला नजिक नपर्नुस, दुरि बढाउनुस , हात नमिलाउनुस।।हो त्यही नै गर्दा गर्दै पनि हामी मा कोरोना सर्ने प्रबल सम्भावना देखिन्छ।। सौचालय एउटै प्रयोग गर्न बाध्री छौँ, खाना खान छुट्टै ठाउमा I mean(कोठा) बस्न नपाउने , मेषहलमै बसेर खाना खानु पर्ने बाध्यता छ।। हजुर आफै भन्नुस हामी कति सुरक्षित ??? छौँ हामिहरुलाइ आफ्नै देस्को जङलमा छोडियोस।। जङल्मै मर्न पाउ।। परदेसमै सास नजाओस

  •  0 Reply
  • Pradeep

    March 27, 2020, 5:12 p.m.

    अब का केही दिन मा बालुवा खानु पर्ने अवस्था आउन सक्छ, किन भने काम गरेको कम्पनि छैन, सहयोग गरिरहेका साथिहरु पनि आफै रित्तिन थाली सके, उनिहरु पनि बिना काम कोठामा बस्नु पर्ने स्थिति भैसक्यो, #नेपाल_सरकार_कृपा_गर्नुस_हामी_खाडिमा_पसिना_बगाउने_पनि_नेपाली_नैँ_हौँ_होइनौँ_र!! हाम्रो उद्दारको लागि दुबइमै covid19 test गरेको कोभिड19 नेगेटिभ इंकित सर्टिफिकेट को अप्सन को ब्यबस्था गराएर बिचल्लिमा परेका हरुलाइ घर आउने वातावरण मिलाइ सहयोग गर्नु हुन नेपाल सरकार समक्ष अपिल गर्दछौ।।। हाम्रो चीत्कार सुनियोस। #यदि_रिपोर्टमा_पोजेटिभ_आयो_भनेँ_बरु_यहिँ_मर्छौ_हामी_कोहि_पनि_घर_फर्किने_छैनौँ ।।

  •  1 Reply
  • Sharma

    March 27, 2020, 4:08 p.m.

    भन्छन तर रियालटी मा एम्बेसी मा ३हप्ता जती भयो फ़ोन त उठाउदैन मदत के गर्छन मैले फ़्रांस को एम्बेसी को कुरा गरेको बिस्वास लाग्दैन कल गरेर हेर्नुस धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया