पोखरामा क्वरेन्टीनमा ज्यान गुमाएका व्यक्तिमा कोरोना नभएको पुष्टि

 चैत १४, २०७६ शुक्रबार १९:४७:२० | रासस
unn.prixa.net

कास्की - रुपा गाउँपालिकामा क्वरेन्टीनमा राखेर बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गुमाएका विश्वबन्धु नेपालीमा कोरोना नभएको पुष्टि भएको छ । 

रुपा गाउँपालिका-५ देउरालीमा रहेको सामुदायिक वनको भवनमा स्थापना गरिएको क्वरेन्टीनमा राखिएका नेपालीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरा लगिएकोमा चैत १२ गते ज्यान गएका थियो ।

उनको ज्यान गएपछि कोरोना भए वा नभएको पुष्टि गर्न नमुना परीक्षणका लागि काठमाण्डौको टेकु अस्पताल पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदबिन्दु घिमिरेले जानकारी दिनुभयो । 

क्वरेन्टीनमा राखिएका व्यक्तिको ज्यान गएपछि कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको थियो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार भारतको हैदरावादबाट आएका ५५ वर्षीय नेपालीको क्वारेन्टीनमा ज्यान गएपछि सर्वसाधारणमा देखिएको मनोवैज्ञानिक त्रास नमुना परीक्षणको रिपोर्टले अन्त्य भएको छ ।

क्वारेन्टीनमा रहेका २३ जनामध्ये दुई जनाको १४ दिन अवधि पूरा गरेर आज घर फर्केको जानकारी दिंदै उहाँले विदेशीबाट गाउँ फर्कने सङ्ख्यामा थप हुने भएपछि रामकोट मावि र ध्रुवतारा क्लबको भवनमा २७ बेड तयार गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया