प्रहरीलाई ६५ थान पीपीई हस्तान्तरण

 चैत १४, २०७६ शुक्रबार २०:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ प्रहरी प्रधान कार्यालयलाई आज सनराइज बैंकले ६५ थान पीपीई (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट) हस्तान्तरण गरेको छ । 

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहका बीच सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई सामग्री हस्तान्तरण गर्नुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले सामग्रीले रोग फैलनबाट जोगाउन महत्वपूर्ण सहयोग गर्ने भन्दै सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो । पौडेलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि नेपाल प्रहरीले आफ्नो जीउ ज्यान जोखिममा राखेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बची जोखिममा अहोरात्र खटिने प्रहरी कर्मचारी र सर्वसाधारणहरुमा सङ्क्रमण भएको खण्डमा बचाउन पीपीई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु तथा सनराइज बैंकका पदाधिकारीहरुको उपस्थिति थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया