व्यङ्ग्य - गुडलक एण्ड ब्याडलक, थ्यांक यु लकडाउन एण्ड सरकार !

 चैत १५, २०७६ शनिबार ७:४६:६ | मिलन तिमिल्सिना
unn.prixa.net

कसैकसैले भन्थे, कम्युनिष्ट सरकार आयो भने घरमै बसी बसी खान पाइन्छ । कुरो होइन जस्तो लाग्थ्यो, तर हो रैछ । घरबाहिर निस्केर काम गर्छु भन्दा पनि सरकार भन्छ, “पर्दैन घरमै बस ।”

सरकार अति जनप्रेमी भयो । भन्छ, घरमा खानेकुरा छैन भन्ने चिन्ता नगर । खानेकुरा सकिए होम डेलिभरिबाट मगाउ । ग्यासको चिन्ता नगर, बरु इन्डक्सन किन र बिजुली बत्तीमा पकाउ, खाउ, हात माझ, मुख धोउ । जे गर्छौ गर, तर घरभित्रै गर । सडकमा ननिस्क ।

नागरिकप्रति यति धेरै चिन्ता गर्दा पनि कोही बाहिर निस्के प्रहरीले लौरो ताक्छ, एक दुई सुम्ला उठाउँछ र परैबाट सनासोले समाएझैं समातेर लैजान्छ भने यो न प्रहरीको दोष हो, न सरकारको । दोष सरकारले खाउ भन्दा नखाने र घरमा बस भन्दा नमान्ने नागरिकको हो । 

भान्सामा पकाउने सामल र गोजीमा सामल किन्ने तुमल भए पनि, नभए पनि अब घर नै सबैथोक भएको छ । घर पनि घर, अफिस पनि घर, बाटो र चौबाटो पनि घर, चियापसल र चौतारी पनि घर, सिनेमा हल र दारु खाने भट्टि वा बार जे भने पनि घर । 

एउटा कुनामा बसेर भात पकायो । अर्को कुनामा गएर पस्क्यो । अर्को कुनामा गएर खायो । अर्को कुनामा गएर चुठ्यो । पकाउँदा र खाँदा घरका चार कुना मारेपछि केही छिन उभिएर सरकारलाई धन्यवाद दियो यो सुखी दिनचर्याका लागि । अनि केहीबेरपछि एउटा कुनामा गएर सुत्यो । निन्द्राका लागि नसुतेकाले त्यो लाग्ने भएन । अब उठेर अर्को कुनामा गयो । अलिअलि बाँकी भएको खानेकुरा जोहो गरीगरी खायो, फेरि उँघ्यो, मोबाइल खेलायो, खुट्टा तन्कायो, गालामा हात लगायो बस्यो । दिन त गाँठे सुती सुती के स्वादले पो जान थाले !

सधैं नुहाइरहन, कपाल कोरिरहन, मुख धोइरहन, दाह्री काटिरहन पनि परेन । मेकअपको खर्च पनि जोगियो । मोटरसाइकल र स्कुटरमा पेट्रोल हाल्न नपरेपछि पैसाको खाँचै परेन । घरमै बसीबसी तलब पाउँदासम्म त यस्तो एकान्तबास जति लम्बियो, उति जाति ! भरे खान अहिल्यै कमाउन पर्ने र अहिले नकमाए भरे खान नपाउनेको त अहिले नै किन कुरा गर्नु र !

लकडाउनले निम्त्याएको यो एकान्तबासले पछि के होला के, कसले देख्या छ र ? भोलि जे त होला, अहिले त आनन्दै भएको छ । पहिलो आनन्द त अब नयाँ लुगा किन्न नपर्ने भयो, हिँड्न नपरेपछि अहिले भैरहेको लुगा मैलो नहुने भयो । नयाँ लुगा लगाउने भनेको बाहिर जाँदा हो ।

अब बाहिरै जान नपरेपछि किन चाहियो नयाँ लुगा ? किन चाहियो नयाँ जुत्ता ? अब भैरहेका लुगा र जुत्ता पनि बढी हुने भयो । अफिस जाँदा लगाउने लुगा कहिल्यै मैलो नहुने भयो । न लुगा धुनको टेन्सन, न जुत्ता पुछ्नको टेन्सन । बढीमा दुई जोर लुगा भए पुग्ने भयो । पछि त त्यति पनि चाहिंदैन होला ।

घरमै पनि छुट्टै बस्नु भनेपछि कसले देख्छ र लुगा लगाइरहन पर्यो । लुगा लगाए पनि भयो, नलगाए पनि भयो । दुई दिन जति ज्यानलाई आनन्द मात्र भएको थियो, तेस्रो दिनदेखि सबैका ज्यानलाई निकानन्द भएको छ ।

सधैं नुहाइरहन, कपाल कोरिरहन, मुख धोइरहन, दाह्री काटिरहन पनि परेन । मेकअपको खर्च पनि जोगियो । मोटरसाइकल र स्कुटरमा पेट्रोल हाल्न नपरेपछि पैसाको खाँचै परेन । घरमै बसीबसी तलब पाउँदासम्म त यस्तो एकान्तबास जति लम्बियो, उति जाति ! भरे खान अहिल्यै कमाउन पर्ने र अहिले नकमाए भरे खान नपाउनेको त अहिले नै किन कुरा गर्नु र !

कोरोना भाइरसको आँखा र कान छल्नको लागि भोकै भए पनि घरभित्रै एकान्तबासमा बस्नुपर्यो । तर कोरोनाले केही नगरे पनि एकान्तवास सकिँदा धेरैजनाका सन्तान बढ्ने देखियो, सम्बन्ध बिच्छेदको मामिलाले पनि लकडाउनका बेला लपक्क छोप्न थालिसके । अहिले कोरोना भाइरसका कारण डाक्टर तनावमा छन् । अर्को वर्ष सम्बन्ध बिच्छेदका मुद्दा मामिला थाम्न नसकेकर वकिल तनावमा पर्ने लक्षण पो देखियो । 

अहिले परिवारका सबै घरमा छन् । वर्षमा एकपटक चाडपर्वको मौकामा मात्र घर जाने बुहारी पनि अहिले सासुसँगै छिन् । बेलुका एकछिन मात्र भेट हुने श्रीमान श्रीमती पनि दिनभर सँगै घरमा छन् । 

लकडाउनले धेरै श्रीमान श्रीमतीबीचको सम्बन्ध नै लक होला जस्तो छ । बिहान उठेदेखि राती ननिदाएसम्म एकअर्काको त्यही अनुहार कति हेर्नु ? लकडाउन नहुँदा पो दुवैजना बिहान उठेर दुईतिर हिँड्थे । दिनभर देख्न, बोल्न पर्दैनथियो । अरुसँगै गफ गरेर, भेटेर, अरुकै अनुहार हेरेर मन भुल्थ्यो ।

पहिलेपहिले सासबुहारीबीच वर्षमा दुई दिन भेट हुन्थ्यो । दुई छाक भात खाएको भाँडा माझ्दा बुहारीलाई त्यति गाह्रो पनि लाग्दैनथ्यो । सासुबुहारीको खटपट पर्नेगरि फुर्सद हुँदैनथ्यो । तर अब दिनभरि लुगा धुन परेन । भाँडा पनि दिनभर माझ्नै परेन । फेरि घरभरि जम्मा भएका सबैले खाएका भाँडाको थाक कति दिनसम्म एकैजनाले माझ्नु ? कति दिन दैलो कसिंगर गर्नु ? कति दिन घाँसको भकारो र पानीपँधेरो गर्नु ? 

घरमा सासु र बुहारीले गर्ने कुरा एक दुई दिनमा सकिए । सासुलाई मज्जा लाग्ने गफ बुहारीले दुई दिनमै दिइसके । सासुले पनि बुहारीलाई गर्ने माया दुई दिनमा सकियो । कोरोनाको कुरा पनि कति गर्नु ? गफ गर्ने कुरा नभएपछि कुरा काट्नै पर्यो ।

आफू सासुबाट कँजिदा खेपेको दुःख कलकलि सम्झेर दुई दिनपछि सासुलाई लाग्न थाल्यो बुहारी कँज्याउने मौका यही हो । अरुको कुरा काटेर सकेपछि आफ्नै पालो आउँछ । अनि खटपट सुरु हुन्छ । यो लकडाउनले पहिले मिलिरहेका सासुबुहारीबीच पनि अब झगडा होला भन्ने डर सुरु भैसक्यो । लम्बिंदा बावुछोरा, जेठानी देउरानी पक्कै मिसिएलान् । त्यसपछि चुल्हामा भाँडा बज्न थाल्नेछन् भने घरका चारकुना र कोठामा पाखुरा बज्न थाल्छन् । लकडाउन सकिँदा मुख एकअर्काेतिर फर्काएर अदालत हिँड्नेको लर्कै लाग्ने देखियो ।  

लकडाउनले धेरै श्रीमान श्रीमतीबीचको सम्बन्ध नै लक होला जस्तो छ । बिहान उठेदेखि राती ननिदाएसम्म एकअर्काको त्यही अनुहार कति हेर्नु ? लकडाउन नहुँदा पो दुवैजना बिहान उठेर दुईतिर हिँड्थे । दिनभर देख्न, बोल्न पर्दैनथियो । अरुसँगै गफ गरेर, भेटेर, अरुकै अनुहार हेरेर मन भुल्थ्यो ।

तर लकडाउन सकिनेबेलासम्म घरमा नयाँ मान्छे आउने संकेत दिनेगरी केही मान्छेका पेट बढ्ने पक्का छ । लकडाउन खुल्दा अदालतमा सम्बन्ध बिच्छेद गर्नेहरुको भीड बढ्ने कुरा सहज अनुमान गर्न सकिन्छ भने पागलपन नामक भाइरसले केहीलाई ध्वस्तै पार्ने लक्षण पनि देखिइसकेको छ । 

बिहान र बेलुका एकैछिनको भेटमा १० फेरभन्दा धेरै झगडा हुँदैनथियो । अब त बिहान, दिउँसो, बेलुका जतिखेर पनि झगडा हुने भयो । दिनभर केही काम नगरी घर बस्दा झगडा नगरेर अरु के गर्नु । देशको लक खुल्दासम्म श्रीमान श्रीमतीको बीचको सम्बन्ध सधैंलाई लक होला भन्ने डर ।

अर्को ठूलो चिन्ता त धेरै मान्छे पागल हुने भए । घर बसेर उपयोगी र सृजनात्मक काम गर्न अल्छी लाग्छ । खेतीपाती गर्न त झन् बिर्सिसक्यो । गर्न मिल्ने र गर्नैपर्ने काम नगरेपछि मान्छे अन्त भुल्न थालेका छन् । कोही लकडाउनको बेला दिउँसो सडकमा गाडी र मान्छे गन्न निस्केका छन् । कोही साँझ परेपछि छतमा उत्तानो परेर आकाशको तारा गन्न थालेका छन् । कसैले एक गास भातमा कति सिता हुन्छ र एक थाल भातमा कति गाँस हुन्छ भन्ने नयाँ तथ्याँक सार्वजनिक गरिसके । कति अझै चामल, मकै र भटमासको गेडा गन्दैछन् । झूलको प्वाल गनिसकेर कपालको रौं गन्न बसेकाहरु पनि भेटिन थालिसके । 

घरमा बसिरहँदा भाइरसले नदेख्ने र नभेट्ने त पक्का हो । तर लकडाउन सकिनेबेलासम्म घरमा नयाँ मान्छे आउने संकेत दिनेगरी केही मान्छेका पेट बढ्ने पक्का छ । लकडाउन खुल्दा अदालतमा सम्बन्ध बिच्छेद गर्नेहरुको भीड बढ्ने कुरा सहज अनुमान गर्न सकिन्छ भने पागलपन नामक भाइरसले केहीलाई ध्वस्तै पार्ने लक्षण पनि देखिइसकेको छ । 

कोरोनाका त्रासमा अहिले डाक्टर ज्वरो छाम्न डराउँछन्, अर्को वर्ष डाक्टरहरुको अभाव प्रसुती सेवामा होला भन्ने चिन्ता थपिएको छ । लकडाउनले कतिलाई गुडलक र कतिलाई ब्याडलक बनाउँछ भनेर अहिले अनुमान मात्र गर्न सकिन्छ, तर लकडाउन नै कति दिन हुन्छ भन्ने थाहा नभएको बेला गुड र ब्याडलकको हिसाब किताव के को आधारमा कसरी निकाल्न सकिएला र !!

अन्तिम अपडेट: जेठ १२, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया