दाङमै कोरोना परीक्षणको तयारी

 चैत १५, २०७६ शनिबार १४:२५:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै दाङको बेलझुण्डीमा एक सय शय्याको आइसोलेशन कक्ष बनाउन लागिएको छ ।

घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा आइसोलेशन बनाएर उपचार सुरु गर्नुको साथै कोरोना परीक्षण गर्न मिल्ने कोरोना विशेष अस्पताल बनाउन लागेको प्रतिष्ठानकी उपकुलपति डा सङ्गीता भण्डारीले जानकारी दिनुभयो । सुरुवातमा ३० शय्याको अस्पतालबाट सेवा  सुरु गरिने उहाँले बताउनुभयो । 

अहिले कोरोनाको परीक्षणका लागि नमुना काठमाण्डौ पठाउनुपर्ने बाध्यता रहेको छ । पालिकाहरुले क्वरेण्टीन तथा आइसोलेशन वार्ड बनाउने कामलाई तीव्रता दिन थालेका छन् । कोरोना नियन्त्रणका लागि दाङका सय वटै वडामा सर्वदलीय समिति गठन गरिएको छ । 

समितिहरुले भारतलगायतका देशबाट आउनेहरुको लगत तयार गरिरहेका छन् । समितिमार्फत गाउँमा मास्क, साबुन, स्यानिटाइजरलगायतका सामान वितरण समेत भइरहेको छ। 

आइसोलेशनमा बस्नुपर्नेहरुको खानालगायत व्यवस्थापनका लागि दाङका घोराही र तुल्सीपुर उपमहागरपालिकाले एक/एक लाख रुपैयाँ तथा अरु नगरपालिका र सात वटै गाउँपालिकाले ५०/५० हजार रुपैयाँ सङ्कलन गरी कोष बनाएका छन् ।

यो बाहेक सम्भावित जोखिमको लागि आर्थिक जोहो गर्न लमही नगरपालिका र बङ्गलाचुली गाउँपालिकाले ५०/५० लाख रुपैयाँको कोष बनाएका छन् । हात धुनुपर्ने, मास्क लगाउनुपर्ने जस्ता चेतनामूलक काम पनि भइरहेका छन् । 

नेपाल-भारत सीमा नजिकका दाङका बस्तीमा खाद्यान्न अभाव 

'लकडाउन'का कारण नेपाल-भारत सीमामा पर्ने  दाङका बस्तीमा खाद्यान्न अभाव भएको छ । 

दाङ देउखुरीका राजपुर र गढवा गाउँपालिकामा पर्ने विभिन्न बस्तीमा खाद्यान्न अभाव हुन थालेको हो । भारतसँग जोडिएको २६ वटा नाका बन्द भएपछि नाकामा खाद्यान्नको अभाव हुन थालेको छ । 

घरमा रहेको खाद्यान्न सकिन थालेपछि समस्यामा परेको स्थानीयले दुखेसो गरेका छन् । दाङको गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीले व्यक्तिगत लगानीमा झण्डै ३५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री लिएर कोइलाबास नाका पुग्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘वडामा रहेका अति विपन्न घर परिवारलाई नि:शुल्क खाद्यान्न वितरण गर्ने र पैसा भएर पनि लकडाउनका कारण रासन लिन आउन नसकेकालाई खरिद मूल्यमै खाद्यान्न उपलब्ध गराउने हो ।’ 

वडाध्यक्ष सिद्दिकीले तीन क्विन्टल चामल, २४ लिटर खाने तेल, १५ थैला पिठो, एक पेटी अण्डा, पाँच हजार रुपैयाँको रिचार्ज कार्ड, तीस किलो आलु, तीस लिटर दूध, १० किलो टमाटर र अन्य तरकारी खरिद गरी लैजानुभएको  छ  ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया