लकडाउनको पाँचौँ दिन , काठमाण्डौ उपत्यका सुनसान

 चैत १५, २०७६ शनिबार १७:२२:३८ | मल्लिका थापा
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – देशभर लगाइएको ‘लकडाउन’ को पाँचौ दिन शनिबार अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन चलिरहेका छन् । सरकारले लागु गरेको लकडाउन उल्लङ्घन गर्ने एक सय १६ वटा गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

शनिबार दिउँसो १ बजेसम्म एक सय १० ओटा दुई पाङ्ग्रे र ६ वटा चार पाङ्ग्रे सवारीसाधनलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । लकडाउनको अवधिमा आफूखुसी चलाउने सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

यस्तै लकडाउनको अवज्ञा गर्ने चार सय ८३ जनालाई पनि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरस (कोभिड १९) न्यूनीकरणका लागि सरकारले एक हप्ताका लागि देशभर लकडाउन गरेसँगै अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत प्रतिबन्ध लगाएको छ । 

साथै गएको चैत ६ गतेबाट सबै विद्यालय बन्द भएपछि काठमाण्डौ उपत्यकाबाट बाहिर जानेको सङ्ख्या ह्वात्तै बढेको थियो । चैत ६ गतेयता काठमाण्डौबाट सात लाख ४९ हजार तीन सय ८० जना बाहिरिएका छन् । यस्तै दुई लाख ५९ हजार चार सय ४१ जना विभिन्न जिल्लाबाट काठमाण्डौ उपत्यका भित्रिएका महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अवीधमा एक लाख १३ हजार चार सय १२ वटा ठूलासाना गाडी उपत्यकाबाट बाहिरिँदा ६७ हजार तीन सय ४४ वटा गाडी उपत्यका भित्रिएका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया