प्रहरीको नयाँ योजना : आदेश उल्लङ्घन गर्नेलाई पक्राउ होइन ‘होल्ड’

 चैत १५, २०७६ शनिबार २१:३०:१२ | रासस
unn.prixa.net

काठमाण्डौ – अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रकाशित गरेको सरकारी आदेशविरुद्ध तपाईँ बिना काम वा रमिता हेर्न भन्दै उपत्यकाका सडकमा निस्कने गर्नुभएको छ ?

अब त्यसरी जानुभयो भने तपाईँले सडकमै कारबाही भोग्नुपर्ने छ । कारबाही पनि नयाँ खालको । त्यसरी निस्किँदा प्रहरीले जहाँ भेट्छ, त्यही ठाउँमा बस्नुपर्नेछ ।

यसअघि सरकारी आदेश उल्लङ्घन गरेर निस्किँदा प्रहरीले पक्राउ गर्थ्यो । अब प्रहरीले जुन ठाउँमा भेटेको छ, त्यही ठाउँमा केही घण्टाका लागि ‘होल्ड’ गर्ने (एकै ठाउँमा राख्ने) छ । त्यहाँबाट कही जान पाइँदैन, केही घण्टापछि जुन ठाउँबाट आएको हो, त्यही ठाउँमा फर्कनुपर्छ । 

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रकाशित गरेको आदेश उल्लङ्घन गर्ने क्रम बढेपछि शुुक्रबारदेखि नेपाल प्रहरीले नियन्त्रण अभियानलाई तीव्रता दिएको थियो । यसरी नियन्त्रणमा लिँदा जोखिम बढ्ने देखेपछि प्रहरीले कारबाही अभियानलाई परिवर्तन गरेको हो । 

विभिन्न ठाउँबाट पक्राउ गर्दा सयौँको सङ्ख्यामा एकै ठाउँमा मानिसको भिड हुन्छ । भिड जम्मा गर्दा कसैमा रोगको सङ्क्रमण भए फैलन सक्ने सम्भावना अधिक हुन्छ । 

प्रहरीमा रोग फैलियो भने समुदायमा जाने सम्भावना झन् बढी हुन्छ । त्यसैले शनिबार मात्रै उपत्यकामा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आदेश उल्लङ्घन गर्नेका लागि कारबाहीको नयाँ नियम लागु गरेको छ । 

कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले भन्नुभयो, ‘पक्राउ गरेर लैजाँदा मानिस धेरै जम्मा हुने र राख्ने ठाउँको अभाव तथा भिड बढी हुँदा जोखिम बढ्ने देखियो, त्यसैले अब कारबाही स्वरुप जसलाई जहाँ भेटिन्छ, उसलाई त्यहीँ होल्ड गर्न थालेका छौँ ।’

उहाँका अनुसार सडकपेटीमा जहाँ भेटिन्छन्, त्यही ठाउँमा केही मिटरको दुरीमा मानिसलाई कम्तीमा दुई घण्टा राखिने छ । त्यसो गर्दा उनीहरुलाई प्रहरीले छुन पनि पर्दैन । जसले सबै जना सुरक्षित हुन सकिन्छ । 

उपत्यकाको काठमाण्डौ, ललितपुर र भक्तपुर प्रहरी परिसरलाई उक्त विषयमा निर्देशन नै दिइसकेको पोखरेलले बताउनुुभयो । एकै ठाउँमा बस्दा उल्लङ्घनकर्तामा एउटा चेतावनी पनि हुने र जोखिम पनि कम हुने प्रहरीको विश्लेषण छ । 

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारले प्रकाशित गरेको आदेश उल्लङ्घन गर्ने विरुद्ध कडा रूपमा प्रस्तुत भएको प्रहरीले अपराह्नसम्ममा पाँच सय बढीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैलाई प्रहरीले शनिबार नै छाडिसकेको छ । यसरी फक्राउ गर्दा समस्या देखिएपछि प्रहरीले शनिबारदेखि नयाँ अभ्यास थालेको हो । 

कोरोना भाइरसको सङ्मण रोकथामका लागि सरकारले प्रकाशित गरेको आदेशलाई बेवास्ता गर्ने क्रम भने अझै रोकिएको छैन । चेतना भएर पनि मानिसमा लापर्वाही गर्ने क्रम देखिएको छ । 

अन्य बेलाको जस्तो बन्द नभएकाले स्वास्थ्यमा खेलबाड गर्न नहुने चिकित्सकहरुले बताउँदै आएका छन् । साँझ बिहान अझै बढी मान्छे निस्किने गरेका छन् । 

दिनदिनै जोखिम रहेको र एउटाको लापर्वाहीले आम समुदायलाई नै असर गर्ने भएकाले कुनै सम्झौता गर्न नसक्ने प्रहरीले जनाएको छ । घरमै बसेर घरमै रमाउनुभन्दा अन्य विकल्प नहुने मनोविद् पदमराज जोशी बताउनुहुन्छ ।

विश्वव्यापी रूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले गएको चैत ११ गतेदेखि लागु हुने गरी यही चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश प्रकाशित गरेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया