‘कोरोना भाइरसको पुनः सङ्क्रमण चिन्ताको विषय’

 चैत १६, २०७६ आइतबार ७:४३:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएर निको भएका मानिसमा फेरि चाँडै नै सङ्क्रमण हुने गरेको पाइएको छ । 

जापानका एक पुरुष कोरोना सङ्क्रमणबाट पूरै निको भएर सामान्य जीवनमा फर्किएको केही दिनमा फेरि बिरामी भएको र उनको परीक्षण गर्दा कोरोनाको सङ्क्रमण देखिएको बीबीसीले जनाएको छ । यो निकै चिन्ताको विषय भएको डाक्टरहरुले बताएका छन् । 

प्रतिरोधात्मक क्षमता राम्रोसँग विकास नभएकोले यस्तो हुन सक्ने भए पनि यसले आगामी दिनमा आउने खोप तथा रोग नियन्त्रणमा गम्भीर समस्या ल्याउन सक्ने डाक्टरहरुको बुझाइ छ । 

स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस कम्तीमा १४ प्रतिशत बिरामीमा पुनः कोरोनाको सङ्क्रमण भएको पाइएको छ । यो पुनः सङ्क्रमण भएको नभइ पुरानै भाइरस फेरि बल्झिएको उनी बताउँछन् । 

कतिपय भाइरस शरीरमा तीन महिनाभन्दा लामो समय रहन सक्छ तर कोरोनाको पुनः सङ्क्रमण निकै चाँडो भएकोमा डाक्टरहरुले चिन्ता व्यक्त गरेका छन् । 

दादुराको खोप एक पटक दिएपछि जीवनभरि प्रतिरोधात्मक क्षमता बनाइराख्छ तर कोरोनाको बिरामीमा चाँडै पुनः सङ्क्रमण भएकोले खोपले कसरी काम गर्छ भन्ने चिन्ता थपिएको डाक्टरहरुले बताएको बीबीसीले जनाएको छ । 

कोरोना भाइरसको व्यवहारको बारेमा धेरै कुरा बुझ्न बाँकी छ तर पुनः सङ्क्रमण चाँडो देखिनु निकै अनौठो भएको अनुसन्धानकर्ता इसिडोरो मार्टिनेजले बताएको बीबीसीले जनाएको छ । यदि लामो समयसम्म प्रतिरोधात्मक क्षमता नरहने हो भने एक दुई वर्षपछि यसले अर्को महामारी ल्याउन सक्ने मार्टिनेजको भनाइ छ । 

प्यान अमेरिकन हेल्थ अर्गनाइजेशनले भने कोरोनाका बारेमा हरेक दिन नयाँ तथ्य थाहा पाइराखेको भन्दै पुनः सङ्क्रमण र रोकथामका बारेमा पनि विज्ञानले थाहा पाउने बताएको छ । 

अहिलेकै लागि भने एक पटक निको भइसकेका कोरोना सङ्क्रमितहरु फेरि सङ्क्रमणको जोखिममा छौँ भन्ने बुझेर स्वास्थ्यको ख्याल गर्न डाक्टरहरुको सुझाव छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • krishna khadka

    March 31, 2020, 7:32 a.m.

    निकाे भएका बिरामी थप केही दिन क्वारेन्टाईनमा राखेर उसकाे राेग प्रति राेधात्मक शक्ति पुर्ण गराएर मात्र डिस्चार्ज गर्दा कसाे हाेला ?

  •  0 Reply

तपाईको प्रतिक्रिया