‘विदेशबाट फर्केकाहरु चोरबाटो प्रयोग गर्छन् तर जाँच गर्दैनन्’

 चैत १६, २०७६ आइतबार १४:५२:२ | रासस
unn.prixa.net

जाजरकोट - जाजरकोटमा वैदेशिक रोजगारीबाट फर्कनेदेखि अन्य कामले घरबाहिर भएकाहरु चोरबाटो भएर घर फर्किन थालेका छन । 

बाटोमा स्वास्थ्य जाँच भइरहेको ठाउँमा सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली खटिएको भए पनि अर्को बाटो प्रयोग गरेर गाउँमा छिर्नेको सङ्ख्या ठूलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनु भएको हो । जाजरकोटको सबै पालिकामा यही समस्या देखिएको छ । 

प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरुले लगातार गाउँगाउँमा माइकिङ गरीरहेको भए पनि कसैले वास्ता नगरेको उहाँको भनाइ छ । गाउँहरुले स्थानीय सरकारले प्रवाह गरेको सन्देशभन्दा देवी, देवतालाई बलि दिन देवीदेवताका मन्दिर तथा थानमा पुगेको उहाँको भनाइ छ । नलगाड नगरपालिकाको एैरारीमा तीन वटा बोकाको बलि दिइएको छ । 

बारेकोट गाँउपालिका-२ मा देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात भएकाले कोरोना महामारी गाउँमा आउन नदिन बलि चढाइएका वडाध्यक्ष द्वारिका बुढाले बताउनुभयो । अझै आफ्ना जहान केटाकेटी बचाइदिन देउतालाई पछि बलि दिने भन्दै धेरैले भाकल गरेको उहाँले बताउनुभयो  ।

छिमेककी देशका भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरु धमाधम घर फर्किएका छन् । उनीहरु आफूलाई केही नभएको भन्दै निर्बाध घरपरिवार र साथीभाइसँग घुलमिल गरिरहेका छन् । 

सङ्क्रमण भए पनि तत्काल लक्षण नदेखिँदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्याङ्क राखेको छैन । ठूलो सङ्ख्यामा भारतबाट मजदुरहरु फर्के पनि केही सीमित सङ्ख्यालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । 

घरको मूलढोका खन्दा कोइला भेटिएको भन्दै तेलमा राखे मात्र कोरोनाबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण सबैले मूलढोका खन्ने गरेको पाइएको छ ।

१०७ जना सेल्फ क्वारेन्टीनमा 

जाजरकोटमा विदेशबाट आएका ५८ सहित नेपाली सेनाका ४९ जवानहरुलाई सेल्फ क्वरेन्टीनमा राखिएको छ । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा उनीहरुलाई क्वरेन्टीनमा राखिएको हो ।

छिमेकी देश भारत तथा मलेशिया, दुबई, कतारलगायतका देशमा वैदेशिक रोजगारीबाट फर्केका ५८ जनालाई घरमै  सेल्फ क्वरेन्टीनमा बस्न लगाइएको हो ।जिल्ला प्रवेश गरेलगत्तै उनीहरुलाई आवश्यक परामर्शसहित १४ दिन घरमै क्वरेन्टीनमा बस्न लगाइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो। 

सेल्फ क्वरेन्टीनमा बस्ने भेरी नगरपालिकामा २९, शिवालय गाउँपालिकामा १८, छेडागाड नगरपालिकाको वडा नम्बर ३, ६ र १० मा ८, बारेकोट गाउँपालिका-९ मा तीन जना रहेका छन् । 

यसैबीच नेपाली सेनाको जाजरकोटको ज्वालादल गणमा जिल्ला बाहिरबाट आएका ४९ सैनिकलाई पनि क्वारेन्टीनमा राखिएकोे छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया