चीनबाट ल्याइएका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण

 चैत १६, २०७६ आइतबार १५:५०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीनले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।

चिनियाँ दूतावास एवं सिन्चुवान प्रान्तले पुन प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाइन्टी फाइब मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भेन्टीलेटर एक थान र क्वरेन्टीन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ । 

त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले  एन नाइन्टी फाइभ मास्क १ लाख २ सय थान र पीसीआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । 

चाइना सी ए एम सी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ । 

सिन्चुवान हुसी ग्रुपले २ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसी सिमेन्ट कम्पनिले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र  पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे चिनियाँ राजदूत यान्छीले कोभिड १९ को समस्या कुनै पनि एउटा देशको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो देश, नेपालसँगै अन्तराष्ट्रियस्तरमा नै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड-१९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

असल छिमेकीको रुपमा एक अर्कालाई सहयोग गर्ने असल परम्परालाई कायम राख्दै चीन सरकार र चीनका विभिन्न संस्थाहरुबाट प्राप्त सहयोगको मन्त्री ढकालले प्रशंसा गर्नुभयो ।

उहाँले कोभिड-१९ बाट अति प्रभावित हुने कुराबाट जोखिम न्यूनीकरणका लागि विश्वका विभिन्न देशले अपनाएको लकडाउनको नीति सफल भएको र नेपालले पनि संक्रमणको विस्तारलाई न्यूनीकरण गर्न सोही नीतिलाई अवलम्बन गरेको बताउनुभयो ।

उहाँले नेपालस्थित चिनियाँ राजदूतबाट प्राप्त यी सामग्रीलाई आवश्यकता अनुसार सक्दो छिटो नेपालका सात वटै प्रदेशमा पुर्याइने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Mega

    March 29, 2020, 6:26 p.m.

    अब यों पनी मीलेर बेची खानु

  •  0 Reply

तपाईको प्रतिक्रिया