‘लकडाउन’ अवधिभर प्रदेश २ सरकारले गरिब र मजदुरलाई खाना खुवाउने

 चैत १६, २०७६ आइतबार १९:२८:३७ | सुभाष कर्ण
unn.prixa.net

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बगैँचामा आइतबार बसेको मन्त्रिपरिषद्को बैठक

जनकपुरधाम– प्रदेश २ सरकारले ‘लकडाउन’को मारमा परेका प्रदेशभरिका गरिब र मजदुरलाई ‘लकडाउन’ अवधिभर खाना खुवाउने भएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को आइतबार जनकपुरधाममा सम्पन्न बैठकले ‘लकडाउन’को कारण समस्यामा परेका गरिब र मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको हो । 

संघीय सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि देशैभरि ‘लकडाउन’ गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले खानाको व्यवस्थापनका लागि  प्रदेशभित्रका स्थानीय सरकारसँग समन्वय गर्ने र त्यसको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो । 

सोही बराबरको रकम व्यवस्था गर्न स्थानीय सरकारहरुलाई आग्रह गर्ने निर्णय समेत गरिएको मन्त्री यादवको भनाइ छ ।  

प्रत्येक स्थानीय तहमा स्थानीय सरकारका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय समाजसेवी संस्थाहरुसम्मिलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि समेत तयार पारिएको छ ।

यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन बीमा गरिनुका साथै शतप्रतिशत प्रोत्साहन भत्ता दिइने निर्णय पनि गरिएको मन्त्री यादवले बताउनुभयो ।

सरकारले कोरोना रोकथामको लागि हालसम्म गरेको प्रयास र आउँदा दिनमा लिइने नीतिबारे जानकारी गराउन आजै सर्वदलीय बैठक समेत बोलाएको थियो ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु, काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल र विभिन्न मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया