निजी क्षेत्रले बाँडेका पीपीईमा प्रश्नैप्रश्न : चौधरी ग्रुपले बाँडेको पीपीईको गुणस्तर के ?

 चैत १७, २०७६ सोमबार १३:४१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नभएर नेपालका अस्पतालमा काम गर्ने डाक्टरले बिरामी जाँच्नै अप्ठेरो परेका बेला गएको हप्ता एउटा बैंक र एक व्यापारिक घरानाले अस्पतालहरुलाई पीपीई हस्तान्तरण गरेका समाचार सार्वजनिक भए । यसरी पीपीई वितरण गर्नेमा सनराइज बैंक र चौधरी ग्रुप (सीजी) को नाम आएको छ । सरकारले धुइपाताल खोज्दा नपाएका पीपीई निजी संस्थाले कहाँबाट पाए र तिनको गुणस्तरको ग्यारेण्टी कसले गरेको छ भन्ने प्रश्न अहिले सबैतिर उठेको छ । 

अहिलेसम्म काठमाण्डौका ठूला दुई अस्पताल वीर र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीपीई दिने सनराइज बैंक मात्रै हो । बैंकले यी दुई अस्पताललाई ५० थान पीपीई हस्तान्तरण गर्‍यो । कहाँबाट आए त यी पीपीई भन्ने उज्यालोको प्रश्नमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकराज शर्माले भन्नुभयो, ‘निकै खोजी गर्दा हामीले बल्ल ५० थान प्राप्त गर्‍यौँ । त्योभन्दा धेरै कतै फेला पार्न सकिएन, साधारण पीपीई दिने कुरा भएन, गुणस्तरीय र मापदण्डको पीपीई पाउन समस्या रहेछ ।’

उहाँले यो बेला सरकारलाई पैसाभन्दा पनि पीपीई ठूलो कुरा रहेकाले बैंकले सुरुमै खरिद गरेर अस्पताललाई दिएको जानकारी दिनुभयो । 

सरकारलाई पीपीई दिने तयारी गरे पनि गुणस्तरीय पीपीई नपाएर एनएमबी बैंकले यो काम सर्जिकल सामग्री ल्याउने व्यापारीलाई जिम्मा लगाएको जानकारी दिएको छ । एनएमबी बैंकका सीईओ सुनिल केसीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘डाक्टर, नर्सको सुरक्षाको कुरा छ, गुणस्तरहीन पीपीई दिने कुरा आएन, गुणस्तरीय र मापदण्ड अनुसारको पीपीई नेपालमा पाइएको छैन’,  हामीले चीनबाट ल्याउँदैछौँ । 

अहिलेसम्म सबैभन्दा धेरै पीपीई बाँड्ने व्यापारिक घराना चौधरी ग्रुप हो । उसले  अहिलेसम्म सात प्रदेशका ४८ वटा अस्पताल, कोरोना विशेष अस्पताल र स्वास्थ्य संस्थालाई पीपीई दिएको र प्रदेश २ मा त मुख्यमन्त्रीलाई नै पीपीई हस्तान्तरण गरेको जानकारी दिएको छ । सीजीका प्रवक्ता मधुसूदन पौडेलले उज्यालो अनलाइनलाई दिएको जानकारी अनुसार केही पीपीई नेपालका आयातकर्ताले राखेको स्टकबाट उठाइएका हुन् भने अधिकांश नेपालमै तयार परिएका हुन् ।

चीनमा तयार पारिएका र युरोपमा निर्यात गरिएका पीपीई स्पेन, चेक रिपब्लिक र फ्रान्स जस्ता देशले भटाभट फिर्ता गरिरहेका बेला यसरी बजारबाट उठाइएका र नेपालमा तयार परिएका पीपीईको गुणस्तर कसैले मापन गरेको भेटिँदैन । चौधरी गु्रपले बाँडेका पीपीईमा एकातिर गुणस्तरको ग्यारेण्टी छैन भने अर्काेतिर ती पीपीई अस्पतालमा हस्तान्तरण हुनुअघि सिल खोलेर दिने गरिएको गुनासो जिल्ला जिल्लाबाट आउन थालेको छ । यसले स्वास्थकर्मीमाथि हुने जोखिम बढाएको छ  । 

‘सहयोगमार्फत आएका पीपीई फ्रन्टलाइनमा प्रयोग हुँदैनन्’

नेपालको निजी क्षेत्रले दिएको पीपीई फ्रन्टलाइनमा खटिने चिकित्सकले प्रयोग नगर्ने स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले निजी क्षेत्रले दिएको पीपीई कोरोना सङ्क्रमित र शङ्का लागेका व्यक्तिको उपचारमा खटिने डाक्टरले नलगाउने बताउनुभयो । 

‘निजी क्षेत्रले सहयोग गरेको छ, राम्रो हो, उहाँहरुलाई धन्यवाद दिनुपर्छ । तर कोरोना सङ्क्रमित  र शङ्का लागेकाहरुको उपचार गर्ने फ्रन्टलाइनका स्वास्थकर्मीले निजी क्षेत्रले दिएको हैन, सरकारले दिएको पीपीई मात्रै लगाउनुहुन्छ ’, देवकोटाले भन्नुभयो । 

‘मास्क (मुखावरण), पञ्जा, बुट लगायतका धेरै कुरा पीपीई अन्तर्गत नै पर्छन् तर हामीले कस्तो अवस्थामा कुन प्रयोग गर्ने भन्ने कुराको मापदण्ड अपनाएका छौँ’, प्रवक्ता देवकोटाले भन्नुभयो । 

पीपीई उत्पादन गर्दा नै गुणस्तर तथा नाप तौल विभागले तोकेको मापदण्ड अनुसार उत्पादन हुनुपर्ने उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया