उमेरसँगै कोरोना भाइरसको जोखिम बढ्दै जाने अध्ययनको निष्कर्ष

 चैत १८, २०७६ मंगलबार १२:५३:२७ | एजेन्सी

काठमाण्डौ – उमेरसँगै कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम बढ्दै जाने अध्ययनले देखाएको छ । ल्यान्सेट इन्फेक्सिअस डिजिजेजमा प्रकाशित अध्ययन प्रतिवेदनले बालबालिका वा वयस्कभन्दा पाको उमेरका वा अधवैँशेमा कोरोना भाइरसको जोखिम बढी देखिएको हो ।

चीनमा भएको विस्तृत अध्ययन अनुसार कुल सङ्क्रमितमध्ये औसत मृत्युदर १ दशमलव ३८ प्रतिशत मात्रै छ । तर उमेरसँगै मृत्युदर धेरै भएको देखिएको छ । १० वर्षभन्दा कम उमेरका व्यक्तिमा मृत्युदर शून्य दशमलव ००१६ प्रतिशत रहेको छ । तर ८० वा त्योभन्दा बढी उमेरका व्यक्तिमा मृत्युदर ७ दशमलव ८ प्रतिशत देखिएको अध्ययनमा उल्लेख छ ।

अध्ययन अनुसार १० देखि १९ वर्षका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा शून्य दशमलव ०१ प्रतिशतलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने देखिएको छ । तर ८० वा त्योभन्दा माथिको उमेरका व्यक्तिमा संक्रमण भएमा १८ प्रतिशतभन्दा बढीलाई अस्पताल भर्ना गरेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने अध्ययनले जनाएको छ । यस्तै अधवैँशेमा पनि कोरोना भाइरसको सङ्क्रमणले गम्भीर अवस्था सिर्जना गर्ने देखिएको छ ।

४० वर्ष वा त्योभन्दा माथिको उमेरका व्यक्ति सङ्क्रमित भएमा उनीहरुमध्ये ४ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने देखिएको छ । यो दर ५० वा त्योभन्दा माथिको उमेरका व्यक्तिमा ८ प्रतिशत रहेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनमा संलग्न प्राध्यापक अज्रा घानीले आफूहरुको अध्ययनबाट आएको प्रतिवेदनले सङ्क्रमण फैलिएका सबै देशको प्रतिनिधित्व गर्न सक्ने बताएका छन् । ५० वा त्योभन्दा माथिको उमेरका व्यक्तिमा कोरोना भाइरसको प्रभाव ५० भन्दा कम उमेरका व्यक्तिमा भन्दा बढी देखिने गरेको स्पष्ट भएको उहाँले बताउनुभयो ।

यो अध्ययनले अब सङ्क्रमण फैलिएका देशमा परीक्षणको पहिलो प्राथमिकतामा जोखिममा रहेका उमेर समूहका व्यक्तिलाई राखिनुपर्नेमा जोड दिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया