भारतमा कोरोना सङ्क्रमित वृद्ध दम्पती उपचारपछि निको भए

 चैत १९, २०७६ बुधबार ६:२२:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित वृद्ध दम्पती उपचारपछि निको भएका छन् । ९६ वर्षीय श्रीमान् र ८८ वर्षीया श्रीमती उपचारपछि निको भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२० दिनदेखि कोट्टयम मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेको दम्पतीको कोरोना रिपोर्ट 'नेगेटिभ' आएको डाक्टर आर पी रेनविनले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै वृद्ध उमेरमा कोरोनालाई जित्ने यो दम्पती दोस्रो बनेको छ । यसअघि इटालीमा ९५ वर्षीया एक वृद्धा उपचारपछि निको भएकी थिइन् ।

सामान्यतया कोरोना भाइरस ६० वर्षभन्दा माथिको उमेर समूहलाई खतरा मानिन्छ । उमेरसँगै मधुमेह वा मुटुको समस्या भएका बिरामीलाई कोरोना सङ्क्रमण खतरनाक मानिन्छ ।

यसैबीच कोरोना सङ्क्रमण विश्वका दुई सय दुई देशसहित दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ । मङ्गलबार बुरुण्डीमा दुई र सियरा लियोनमा एक जनामा कोरोना पुुष्टि भएसँगै कोरोना फैलिएको देशको सङ्ख्या दुई सय दुई पुगेको हो ।

अहिलेसम्म आठ लाख ५६ हजार पाँच सय ५१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । एक लाख ७७ हजार एक सय ३२ जना उपचारपछि निको भएका छन् भने ६ लाख ३७ हजार तीन सय २६ जनाको उपचार चलिरहेको छ । ४२ हजार ९६ जनाको ज्यान गएको छ ।

अहिलेसम्म इटलीमा सबैभन्दा धेरै १२ हजार चार सय २८ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै इटालीमा आठ सय ३७ जनाको ज्यान गएको हो ।

यस्तै स्पेनमा सात सय ४८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या आठ हजार चार सय ४६ पुगेको छ ।

अमेरिकामा पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा अमेरिकामा सात सय ९ जनाको ज्यान गएको छ । योसँगै अमेरिकामा कोरोना भाइरसका कारण तीन हजार आठ सय ५० जनाको ज्यान गएको छ । अमेरिकामै सबैभन्दा धेरै एक लाख ८७ हजार तीन सय २१ जनामा कोरोना पुष्टि भएको छ ।

अमेरिकापछि फ्रान्समा चार सय ९९ जना थपिएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन हजार पाँच सय २३ जना पुगेको छ ।

कोरोना पहिलो पटक देखिएको चीनमा भने ज्यान गुमाउनेसँगै नयाँ सङ्क्रमितको सङ्ख्या पनि घट्दो छ । चीनमा अहिलेसम्म तीन हजार तीन सय पाँच जनाको ज्यान गएको छ भने ८१ हजार पाँच सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । ७६ हजार ५२ जना उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया