कोरोनाले रोजगारी गुम्यो, परदेशमा ज्यान चाहिँ गुमाउन नपरोस्

 चैत १९, २०७६ बुधबार १५:१५:८ | उमाकान्त पाण्डे

यूएई – संसारभर फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या यूएईमा पनि बढ्दो छ । यूएईमा ८ जना नेपाली सङ्क्रमित भइसकेका छन् । आठमध्ये दुई जना त निको पनि भए । कोरोना सङ्क्रमितको सङ्ख्यासँगै जोखिम पनि बढेको छ । यही अप्ठेरो परिस्थितीमा कतिपयको त जागिर पनि गुमेको छ । कोरोनाकै कारण कम्पनी बन्दा हुँदा रोजगारी गुमाउने स्याङ्जाका बिष्णु गैरेको कथा उहाँकै शब्दमा ।
***
मेरो घर स्याङ्जा गल्याङ नगरपालिकामा पर्छ । अहिले यूएईको सुन्दर सहर दुबईमा छु । ६ वर्ष भयो यो सरहमा म मेरा रहर पूरा गर्न संघर्ष गरिरहेको छु । यो सहर त्यतिबेलासम्म सुन्दर थियो, जतिबेलासम्म काम थियो । तर अहिले त कोरोनाका कारण काम गुम्यो । मन दुःखी छ । यो सुन्दर सहर पनि दुःखी र उराठलाग्दो लाग्दैछ । 

आजभन्दा ६ वर्ष पहिले यूएई नै बस्ने गाउँकै एकजना दाइले त्योबेला मलाई यूएई आउनका लागि भिसा पठाइदिनुभएको थियो । गाउँमा छँदा परदेश निकै चासोको विषय थियो । दुबई कस्तो होला, त्यहाँ बस्ने मानिस कस्ता होलान्, सहर कस्तो होला, बजार कस्तो होला, यस्तै अनगिन्ती जिज्ञासा थिए मनमा । सोचेभन्दा, कल्पनाभन्दा यो दुबई सहरमा मलाई घुलमिल हुन धेरै समय लागेन । यहींको चालचलन र रहनसहन बुझेपछि त बसाई पनि सजिलो हुँदै गयो । 

मैले नेपालबाट आएदेखि २ वटा कम्पनी परिवर्तन गरें । तर जीवन भने परिवर्तन हुन सकेन । एउटा कम्पनीमा तीन वर्षजस्तो काम गरें । तर अचानक कम्पनी बन्द भयो । कम्पनी बन्द भयो । तर जुन सपना देखेर म यूएई आएको थिएँ, त्यो पूरा भएको थिएन । त्यसैले घर फर्किनँ । तीन महिनाको भिजिट भिसा लिएर यही नयाँ काम खोज्न थालें ।

संयोगले मेरो भेट यूएईका एक नागरिकसँग भयो । उ युएईको लिगल काउन्सेलर पनि रहेछ । म पहिले काम गर्ने कम्पनीमा आउने ग्राहक सबै अरबी नागरिक हुने भएकोले मैले लगभग अरबी भाषामा कुरा गर्न सक्ने भएको थिए । उसले ल फर्म पनि चलाउने रहेछ ।

त्यही भाषाको सीपले मैले उसको असिसमा काम पाएँ । मेरो काम अफिस असिस्टेन्टको थियो ।  त्यहि काम गर्दागर्दै मैले यहाँको ड्राइभिङ लाईसेन्स पनि निकाल्न सफल भएँ ।

काम ठिकै चल्दै थियो । काम गरेको ठ्याक्कै ३ तीन वर्ष लाग्दै थियो । तर अचानक मेरो साहुले अफिस बन्द गर्न लागेको कुरा सुनाए । साहुको कुरा सुनेर म त छाँगाबाट खसेजस्तै भएँ ।

मलाई सुरुमा काम गरेको कम्पनी बन्द भएर काम छाड्नु पर्दा त्यति दुःख लागेको थिएन । किनभने त्यहाँ हुक्काबाट निस्कने धुवाँले स्वास्थ्यमा नै असर गर्छ भन्ने थियो मनमा । तर पछिल्लो पटकको काममा मेरो मन बसेको थियो । यो अफिस बन्द हुँदा रोजगारी गुम्यो । दुःख त लाग्छ नै, तर पनि कताकता सम्झँदा मन दुखेको छ । यही ३१ मार्चदेखि म त्यो अफिसबाट औपचारिक रुपमा बिदा भएँ । 

अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले गर्दा संसार नै असहज परिस्थितीबाट गुज्रिरहेको छ । यसको असरले यूएईमा पनि कतिपय कम्पनीहरु बन्द हुन थालेका छन् । यो अप्ठेरो अवस्थामा गर्दै गरेको काम पनि गुमानु पर्दा दुःखी त छु नै, सँगै डर पनि छ । अब यो अवस्थाको अन्त्य नहुँदासम्म काम पनि पाइने छैन ।

जागिर हुँदासम्म त कुनै समस्या थिएन ।  अब गरिरहेको जागिर नै नभए पछि समस्याहरु त थपिने नै भए । घरपरिवार पनि हेर्नुपर्ने छ । यहाँ काम नहुँदासम्म बस्न खानको लागि पनि समस्या हुन्छ । 

काम बिहीन भएर बस्नुपर्दा गाउँघरमा त गुजारा चलाउन समस्या  हुन्छ भने परदेशमा झन् ठूलो समस्या छ । अब अर्को काम नपाउँदासम्म साथीको साथ र सहयोगमा नै आश्रित हुनुपर्ने बाध्यता छ ।

केही मनकारी साथी पनि छन् । अब उनीहरुकै साथ र सहयोगले यो अप्ठेरो परिस्थितीको सामना गर्नेछु । कामना गर्छु यो अप्ठेरो परिस्थितीबाट संसारले छिट्टै मुक्ति पाउनेछ । र मैले पनि जागिर पाउनेछु ।

अन्तिम अपडेट: बैशाख ३१, २०७७

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

4 Comments

  • फुुुुुुुुुुुपुछिरीङ भोेटेे

    April 3, 2020, 5:04 p.m.

    हेर्नुहोस, कोरोना भाईरसले बिस्वब्यापी रूपमा सताएको बेला यु ए ई पनि अछुत रहन सकेन तर यहाको स्टेेेट सरकारले रोकथाम र नागरिकको सुरक्षाको लागि पुर्ण लागिपरेका छ्न।राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु छ।त्यस समयमा शहरको सबै रोड, आसपास सफाई काम हुन्छ।दिनमा दैनिक कार्य सुचारुरुपले चालू हुन्छ तर सबै नागरिकहरुलाई दुरि बनाएर हिंड्न्, मास्क , पन्जा लगाउन अनिवार्य निर्देशन दिएको छ

  •  0 Reply
  • कृष्ण बहादुर के सी

    April 2, 2020, 12:14 a.m.

    यो परिस्थिति साचैनै हामी जस्ता बैदेशिक रोजगार बाट परिवार को रेख देख गर्ने को अवस्था कहिले सरकारले बुझिदिने होला । म पनि करिब 8वर्ष यसै मुलुकमा ट्क्सी चलाक रूपमा काम गर्दै आफ्नो बालबच्चालाई शिक्षा र पालन पोषण गरि रहेको थिए। यही माघ महिनामा छोरीको विबहा गरि अव केहि वर्ष काम गरि सरसाफट कर्जा लिएको पैसा तिरूला भनि पुन फागुनमा अबुधबीम फर्किए तर आएको केहि दिनमा कामको आवस्था नै रहेन कमिसनको तलब काम नभए पछि खानखाने पैसा पनि नहुने र हाम्रो पेशाको (ट्क्सी )को काम अब 5/6महिना सुधार आउने स्थिति नरहेकोले नेपाल फर्कने निर्णय लिई रिजाईन दियर बसेको रिजाईन दिएको 4चौथौ दिनबाट नै लकड़ाउन भयो नेपालमा अनि युएईबाट फ्लाइट नै भयन अहिले अब कहिले खुल्ने हो भन्ने चिन्ता अनि कम्पनी ले पाउनु पर्ने रकम पनि दिने हो होईन रोजगार नभए पछि कसरी खाने हो । नेपालको समचार सुन्दा सरकारले बिदेश हुने श्रमिकको उद्दारको बारे कुनै सोच नदेख्दा दु:ख लागेको छ ।

  •  0 Reply
  • Binod Kumar Baniya

    April 1, 2020, 4:50 p.m.

    नमस्ते यूएइमा पनि काेराेनाकाे संक्रमण बढे सँगै कम्पनीहरुले कामदार निकाल्न लागेका छन्। सरकारले विदेशिएका नेपालीलाई लैजान के प्रबन्ध मिलाएकाे छ ? यताकाे हेल्थ रिर्पाेट र उता १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्ने गरी नेपाल फर्काउन पहल गर्नु पर्‍याे। धेरैले कम्पनी छाेड्न लागेका छन्। यता खानेकुरा पनी धेरैनै महंगाे हुन थाल्याे। बिशेष गरी हामी हाेस्टलमा बस्ने लाई गार््हाे छ। पकाएर खान पाइदैन। हाेटलबाट किनेर खानु परीराछ। त्यसैले नेपाल फर्किन चाहान्छाैं।

  •  0 Reply
  • Arjun magar

    April 1, 2020, 4:35 p.m.

    सार्है मन छाेयाे। म पनि त्यस्तै एक पिडित हाे। नेपालबाट आएकाे २ महिना भयाे। ७ बर्ष भारत बस्दा पनि ठिकै थियाे।

  •  0 Reply

तपाईको प्रतिक्रिया