कागले कान लग्यो, मन्त्रीले मन लगे

 साउन १२, २०७५ शनिवार ७:५८:८ | मिलन तिमिल्सिना
unn.prixa.net

बालुवाटारमा मार्सी भातको बास्ना, सडकमा त्यही मार्सीको गन्ध । मार्सी धान फल्ने ठाउँ जुम्लादेखि भात नपचेर उपचार हुने ठाउँ काठमाडौंको शिक्षण अस्पतालसम्म अनसन र विरोधको खैलाबैला । 

केही काम नपाएर बेरोजगारजस्तै बनेर बसेको विपक्षीलाई के निहुँ पाउँ भैरहेका बेला मन्त्रीले गरम मसला दिए । त्यसपछि मार्सी भातकोभन्दा मन्त्रीको मसलाको गन्ध फैलियो ।

हातमा इँटा बोकेर बानेश्वरमा हिँडिरहेको एक युवाको नाकमा पनि गन्ध पुग्यो । ‘ओइ तिमीहरुले सुन्यौ मन्त्रीले के बोलेछ ?’ हातमा इँटा बोकेका उनले साथीलाई सुनाए ।

‘कसले के बोल्यो र ?’ मन्त्रीको गाडीमा ढुंगा हान्न ठिक्क परेको अर्को बोल्यो ।

‘बंगलादेशमा डाक्टर पढ्न जाने हाम्रा चेलीहरुलाई मनपरी भनेछन्’, इँटावालाले भने ।

‘डाक्टर पढ्न जाने चेलीसँग तिनको के रीस ? मन्त्रीजस्तो मान्छेले त त्यसरी भन्न नपर्ने ! के भने र ?’ ढुंगावालाले अलि जान्न खोज्यो ।

‘बंगलादेशमा डाक्टर पढ्न जाने चेलीले शरीर नबेचेसम्म सर्टिफिकेट पाउन सक्दैनन् भनेछन् । मन्त्रीले यस्तो मनपरी बोल्न पाउँछन् ? यिनलाई छाड्न हुन्न’, इँटावाला उफ्रिए । 

ढुंगावालालाई पनि त्यही ढुंगाले कसैको सिसा फुटाउँजस्तो गरी रीसको पारो तात्यो ।

मन्त्रीले यस्तो बोले रे भन्ने खबर महिला अधिकारकर्मीहरुसम्म पनि पुग्यो । लौ कागले कान लग्यो रे भन्दै सबै कान नछामी कागको पछि कुद्न थाले ।

‘मार्सी भात खाएर आफ्नै छोरीचेलीलाई जे पायो त्यही भन्ने मन्त्रीलाई कारबाही गर्नुपर्छ ।’

‘राजीनामा मात्रै होइन, मन्त्रीलाई जेल हाल्नुपर्छ ।’

फेसबुक र ट्विटरभरी मन्त्री छाए । मार्सी भात, मार्सी भात खुवाउने ठेकेदार, त्यही भात खाने नेता, भात नखाएर अनसन बस्ने डाक्टर, डाक्टर पढ्ने विद्यार्थी सबैसँग मन्त्रीलाई घोलघाल पारेर मिसाइयो । मार्सी फिका भयो, मन्त्री गाढा भए । 

सडक र फेसबुकको भित्ता हुँदै कागले कान लगेको चर्चा सुरक्षा घेरा तोडेर बालुवाटार र धुम्बाराहीसम्म पुग्यो ।

‘ए यस्तो पो बोलेछन् यिनले ? यसले त हाम्रै पनि इज्जत जाने भयो त’ नेकपाका तल्ला तहका कार्यकर्ता मसिनो स्वरमा बोले ।

‘विपक्षी शेरबहादुर हुन् कि हाम्रै शेरबहादुर हुन् यिनी ? यस्तो त बोल्न नहुने, नपर्ने ? हामीलाई नै पो अप्ठ्यारो पारे’ नेकपाको अलि उच्च तहका दुई नेताले शीर्ष नेताको कानमा पर्ने गरी खासखुस गरे ।

‘ल अब राजीनामा दिन लगाउनुपर्छ, यसरी त हुँदैन’ नेकपाभित्रको पनि विपक्षी खेमाका नेताले कुरा उठाए । 

‘हो हो त्यसै गरौं’। उनीसँगै रहेका अर्का शीर्ष उफ्रिए ।

आफ्नै घरभित्रका विपक्षीको कुरा काट्ने आँट सबैभन्दा माथिका शीर्षको पनि भएन । दुई शीर्षले मुखामुख गरे । दुवैजना गम्भीर भए । त्यसपछि शीर्षका पनि शीर्षले मन्त्रीलाई हेर्दै भने ‘ल मन्त्रीजी, राजीनामा दिनुहोस् !’

‘मैले त के नै भनेको छु र ? सरकारको बचाउ गरेको मात्र हो । अस्ति मात्र तपाईँले सरकारको पक्षमा बोल्ने कोही भएनन् भन्या हैन र ? त्यही भएर म अघि सरेको । त्यहाँमाथि मैले माफी पनि मागिसकेको छु’ मिलाएर बोल्न नजान्ने पीडित मन्त्रीले फेरि हात जोडे ।

‘कहाँ माफी मागेर मात्र हुन्छ ? हामीलाई अप्ठ्यारो परिसक्यो’, पहिले नबोलेका शीर्षले भने ।

‘हजुर के नै बोल्या हो र ? हजुरहरुले भाषणमा योभन्दा धेरै बोल्नुहुन्छ । मैले त सुनेको कुरा यस्तो छ मात्रै भन्या त हो नि’ उनले स्वरमा अतिरिक्त नम्रता थपेर भने ।

‘ल अब धेरै कुरा नगरौं, राजीनामा दिउँ’ शीर्षका शीर्ष पहिले बोलेको आफ्नो चट्टानी अडानबाट डेग चलेनन् ।

केही जोड नचलेपछि मन्त्रीले राजीनामा दिए । धुरुधुरु रोए । उनको रुवाई र भनाईले सबैलाई भावुक बनायो । अघिसम्म गाली गर्नेहरुले अब प्रशंसा गर्न थाले ।

त्यसपछि उनले के चाहिँ भनेका थिए र यस्तो भयो भनेर उनको भाषण केलाउन थाले । 

खोज्दैबुझ्दै जाँदा उनको भाषण यस्तो रहेछ :

‘‍‍...युएस बांगला एयर दुर्घटनामा हुँदा २१ जना डाक्टरहरू यही हाम्रो विमानस्थलमा बिते, कति मार्मिक छ कुरा । आज म कथा खोल्छु, बंगलादेशमा कयौं चेलीहरू हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुछ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु– उसले कहीँ न कहीँ आफूलाई बेच्नै पर्छ । मैले सुनेको छु यति मार्मिक छ कथा । उनीहरुले खोलेका छन् कथा । हामी हाम्रा छोरीलाई विदेश पढ्न पठाउँछौ, तर उसले आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको अवस्था छैन । त्यसैले सबैले यो मुलुकमा एमबीबीएस पढ्न पाउनुपर्छ भन्दा हामी प्लेकार्ड बोकेर निस्कन्छौँ, पाइँदैन, हुँदैन भनेर ।’

मन्त्री सिंहदरबारबाट रुँदै हिँडेपछि बल्ल उनको भाषण पढ्ने र बुझ्ने मौका मिलेजस्तो भयो । 

‘पूरा भाषण हेर्दा त खासै आपत्तिजनक होइन रहेछ त’ अघिसम्म विरोध गर्नेले भाषणको सप्रसंग व्याख्या गर्यो, ‘यस प्रसंगमा न उनको इतिहास हेरियो । न अभिव्यक्तिको आशय । न त शब्द केलाउने प्रयास नै भयो । कुरा बुझ्दा उनीमाथि अन्याय भयो । गुटबन्दीको सिकार भए । तैपनि उनले दम्भ पालेर बसेनन् । अरुले जस्तो हठ गरेनन् । पहिले माफी मागेका थिए । पछि राजीनामा नै दिए । मन्त्री पदबाट राजीनामा दिए पनि यिनको सांसद पद छँदैछ । आफूले उठाएका कुराको समाधान खोजून् ।’

त्यसपछि राजीनामा माग्नेहरुलाई लाग्यो, ‘मान्छे त राम्रै रहेछन् । चेलिबेटी बेचबिखनविरुद्ध पनि अभियान चलाएका रहेछन् । घरमा श्रीमतीलाई पनि तपाईं भन्छन् रे । छोरीचेलीको इज्जत पनि गर्छन् रे ।’

‘उनको योगदान र भाषणको अर्थ त राजीनामा अघि नै खोजेर प्रष्ट पार्न सकेको भए पो’ एउटाले पछुतो गरेझैँ गर्‍याे ।

‘जे हुनु भैसक्यो, उनले यस्तो सुनेको छु भनेर भाषण गरे । हामीले मन्त्रीले यसो भने रे भन्ने सुनेको आधारमा विरोध गर्यौं, दुवैतिर बराबर’ अर्कोले चित्त बुझाउन खोज्यो ।

अन्तिम अपडेट: भदौ २९, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

3 Comments

  • निसेश सत्यारुप

    July 28, 2018, 8:19 p.m.

    समाचार सारै गज्जबको लाग्यो । कुरा नबुझी हचुवाको भरमा दगुर्ने हामि नेपाली अनि काहा बाट निहु पाउ कनिका बुक्काउ भनेर दाउ हेरेर बसेको नेपाली कङ्ग्रेसले यी समाचार बाट केही सन्देश लिने कि ?

  • Ronit

    July 28, 2018, 5:23 p.m.

    सही हो, हाम्रो देश नै यस्तै हो /

  • Manoj Upadhyay

    July 28, 2018, 10:29 a.m.

    Bahunbadi sasan byabastha ma aaru jaati Kai pratinidhi ta Bali ko Boko banne sarba manya sidhant ma aaschrya manne thaou chha ra? Prasai Lai karbahi garne aant bhako chhaina ta......?

तपाईको प्रतिक्रिया