मेडिकल सामग्री खरिदका लागि ओम्नी समूहसँग गरिएको सम्झौता सरकारद्वारा रद्द

 चैत १९, २०७६ बुधबार १९:२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले मेडिकल सामाग्री खरिदका लागि ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले खरिद सम्झौता रद्द भएको जानकारी दिनुभएको हो ।

सरकारले नेपालमा कोरोनाका बिरामी देखिएपछि कोरोना परीक्षण र उपचारसम्बन्धी मेडिकल सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग सम्झौता गरेको थियो ।

सम्झौतामा उल्लेख भए अनुसारको सामान निर्धारित समयभित्र ल्याउन नसकेकाले ओम्नीसँगको सम्झौता रद्द गरिएको उहाँले बताउनुभयो । उहाँले आवश्यकताको १० प्रतिशत मात्रै सामान आएको बताउनु भयो । त्यस सामानले केही समयका लागि पुग्ने भएकाले थप सामग्री ल्याउनका लागि सरकारले बिहीबारदेखि नै नयाँ प्रक्रिया सुरु गर्ने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कुल कबोल अंकको १८ प्रतिशत मात्रै सामान ल्याएको छ । अन्य सामान नल्याएकाले सम्झौता रद्द गरेको छु ।’ उहाँले कुनै पनि अस्पताललाई मेडिकल सामग्रीको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै  स्वास्थ्य सामग्रीको अभावमा बिरामीको उपचारमा सम्झौता नगर्न पनि अनुरोध गर्नुभयो । 

‘हामीले तुरुन्तै भोलि नयाँ टेन्डर प्रक्रिया सुरु गर्दैछाैँ । ३ दिनभित्र सप्लायर्सको प्रस्ताव आएपछि सबैभन्दा कम भएका सँग सम्झौता गर्छौँ ’उहाँले भन्नुभयो । 

विश्वस्तरमा संक्रमणको फैलावट तीव्र हुँदै गएपछि थप सामान किन्नका लागि सरकारले प्रक्रिया अघि बढाएको भन्दै उहाँले सो क्रममा भएका छलफलको फेहरिस्त नै सुनाउनुभयो । उहाँले ओम्नीसँग गरिएको खरिद सम्झौता बजार भाउभन्दा २० प्रतिशत बढी भएको पनि स्वीकार गर्नुभयो ।

उहाँले र्यापिड टेस्ट किट परीक्षणपछि आवश्यकता हेरेर प्रयोग गर्ने स्पष्ट पार्नुभयो । र्यापिड टेस्ट किटको परीक्षण गरेपछि मात्रै पेमेण्ट गरिने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘र्यापिडटेस्ट किट संसारभरी प्रयोग हुन्छ । अहिले चाइना सरकारले १९ वटा कम्पनीलाई मात्रै मान्यता दिएको छ । आइसकेको टेस्ट किटहरुको परीक्षणको क्रममा नै छ । परीक्षण भएपछि पास भएपछि मात्रै लिन्छौँ र पेमेण्ट गर्छौँ ।’

सङ्क्रामक रोगको टेष्ट गर्दा जहिले र जहाँ पनि सेन्सेटिभिटी र स्पेसिभिटी हुने उल्लेख गर्दे उहाँले समुदायमा संक्रमण देखिएको र महामारी फैलिएको अवस्थामा मात्रै र्यापिड टेस्ट किट प्रयोग गरिने बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘७५ हजार टेस्ट किट किनेका छौँ । अहिले हामीले प्रयोग गर्दैनौँ । भोलि महामारी भयो भने  ५ सयभन्दा बढी बिरामी भए भने तुरुन्तै हामीले त्यो टेष्ट प्रयोग गर्नु पर्छ । सबै ठाउँमा प्रयोग गर्नुपर्छ ।’

अन्तर्राष्ट्रिय अनुभव, सल्लाह, सुझाव र वर्तमान आवश्यकता अनुसार नै मन्त्रालयले काम गरिरहेको भन्दै अनावश्यक रुपमा प्रश्न उठाएर जनतामा नकारात्मक संदेश फैलाउने काम नगर्न पनि उहाँले संचारक्षेत्रलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया