बिरामी लिनै मान्दैनन् अस्पताल : उपचार नपाउँदा एक महिलाको ज्यान गयो

 चैत १९, २०७६ बुधबार १९:४:४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश १ कै सुविधासम्पन्न भनेर आफूलाई चिनाउने ठूला निजी अस्पतालको गम्भीर गल्तीका कारण पहाडी जिल्ला धनकुटाबाट उपचारका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ ।

विराटनगरका न्यूरो, विराट नर्सिङ होम समेतका ठूला अस्पतालले बिरामी लिन अस्वीकार गर्दै उपचार गर्न नमानेपछि धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृत्यु भएको हो।  छोरी लक्ष्मी गुरुङ ९राई० का अनुसार बगैंचाको फूलमा पानी लगाउने क्रममा नरदेवी बिहान करिब  साढे ६ बजे ढलेर बेहोस हुनुभएको थियो ।

स्थानीय क्लिनिकमा उपचारका क्रममा उच्च रक्तचापका कारण आमालाई समस्या भएको पत्ता लागेपछि थप उपचारको लागि सुबिधासम्पन्न अस्पतालमा लग्न भनेपछि ल्याइएको लक्ष्मीले बताउनुभयो ।

त्यसपछि एम्बुलेन्समा राखेर परिवारका सदस्यले लगभग १० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याएका थिए । उच्च ज्वरोका कारण चिकित्सकले आईसीयू खाली नभएको र बिरामीलाई तत्काल आईसीयूमा राख्नुपर्ने भन्दै विराटनगरको न्युरो अस्पताल रेफर गरिदिएको लक्ष्मीले बताउनुभयो ।

रातिको १२ बजे न्युरोमा ल्याएका बिरामीलाई उपचार गर्न पुगेका  राईलाई भेन्टीलेटर खाली नभएको तथा धेरै ज्वरो आएको बिरामीको उचार गर्न नसकिने भनेर फिर्ता गरेको मृतकका आफन्तको भनाइृ छ ।

रातको १ बजे विराट नर्सिङ होम विराटनगर पुर्याएका बिरामीको उपचार गर्न नसक्ने भन्दै फिर्ता पठाएको लक्ष्मीले जानकारी दिनुभयो । औषधि किन्न लगाएपछि अन्य अस्पतालको कागज हेरेर उपचार गर्न नसकिने भनेर अस्पतालबाट नै निकालि दिएको लक्ष्मीको भनाइृ छ ।

आफन्तको अनुनय विनयपछि नोबेल शिक्षण अस्पताल पुर्याएर उपचार शुरु भएको बिरामीको दिउँसो नरदेवीको मृत्यु भएको लक्ष्मीले बताउनुभयो । उपचारमा संलग्न चिकित्सकले बिरामी ल्याउन ढिला भएकाले बचाउन नसकिएको बताएको लक्ष्मीको भनाइ छ। ।

मृतक नरदेवीका दाजु तथा महालक्ष्मी नगरपालिका ५ का वडा अध्यक्ष शिवकुमारले उपचारका लागि बिरामी लिनै नमान्ने अस्पतालको गैरजिम्मेवारीपना र लापरबाहीका कारण बहिनी गुमाउनु परेको गुनासो गर्नुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया