कुवेतमा एक जना नेपालीमा कोरोना सङ्क्रमण, सुरक्षित रहन दूतावासको आग्रह

 चैत २०, २०७६ बिहिबार ८:१२:२१ | उज्यालो सहकर्मी

कुवेतमा एकजना नेपालीमा कारोना सङ्क्रमण भएको पुष्टि भएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले मार्च ३१ मा थपिएका २८ जना नयाँ कोरोना सङ्क्रमितमध्ये एकजना नेपाली नागरिक पनि रहेको जनाएको छ ।

सङ्क्रमितकाे अवस्था सामान्य रहेकाे दूतावासले जनाएकाे छ । कुवेतमा सङ्क्रमण बढ्दै गएको र नेपाली नागरिक पनि सङ्क्रमित भएपछि त्यहाँ रहेको नेपाली दूतावसले सावधानी र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कुवेतमा रहेका सम्पूर्ण नेपालीहरुलाई सरसफाईमा विशेष ध्यान दिन, साबुन पानीले पटकपटक हात धुन, मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, भिडभाडमा नजान आग्रह गरेको छ । यस्तै सामाजिक दूरी  कायम गर्न, अत्यावश्यक कामबाहेक अन्य प्रयोजनको लागि घरबाट ननिस्कन र आफू सङ्क्रमित भएको आशंका लागेमा नजिकको अस्पतालमा गएर सम्पर्क राख्न अनुरोध गरेको छ ।

यस्तै कोरोना भाइरससम्बन्धी थप जानकारीको लागि कुवेतको स्वास्थ्यमन्त्रालयको सम्पर्क नम्बर २४९७०९६७ मा सम्पर्क गर्न सकिनेछ । यस्तै थप जानकारीको लागि नेपाली दूतावास कुवेतको सम्पर्क नम्बर २५३२१६०३ र २५३२१६०४ मा सम्पर्क गर्न सकिने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अहिलेसम्म कुवेतमा ३१७ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ८० जना निको भएर घर फर्किसकेका छन् ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया