धेरै दिनसम्म मोटरसाइकल थन्क्याउनु भएको छ भने अब स्टार्ट गरिहाल्नुहोस् !

 चैत २०, २०७६ बिहिबार १५:१०:४३ | मल्लिका थापा
unn.prixa.net

सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन देशभर लकडाउन गरेको छ । साना ठूला कुनै पनि गाडी चलेका छैनन् । चलाउनैपर्ने गाडी पनि उच्च सतर्कताका साथ चलाउन भनिएको छ । मोटरसाइकल पनि थन्किएर बसेका छन् ।

देशभर अहिलेसम्म ३५ लाख ३९ हजार ५ सय १९ वटा सवारी दर्ता भएका छन् । यसमा सबैभन्दा धेरै मोटरसाइकलको संख्या २५ लाखभन्दा बढी  छ । यातायात व्यवस्था विभागमा आर्थिक वर्ष २०७५/७६ को फागुन मसान्तसम्म देशभर २५ लाख ३० हजार ७ सय २२ वटा मोटरसाइकल दर्ता भएका छन् । तर लकडाउनले गर्दा यतिबेला यीमध्ये धेरै मोटरसाइकल पनि थन्किएर बसेका छन् ।

लामो समयसम्म मोटरसाइकल नचलाउँदा इन्जिन लगायत अरु पार्टपूर्जामा खराबी आउन सक्छ । 

थन्किएका मोटरसाइकल​ तथा स्कुटर यसरी सुरक्षित राख्न सकिन्छ :
बेलाबेलामा स्टार्ट गर्ने
लामो समयसम्म मोटरसाइकल वा स्कुटर पार्किङ गरेर राख्दा ब्याट्री डाउन हुनसक्ने सम्भावना हुन्छ । त्यसैले दुई–तीन दिनको फरकमा ५/६ मिनेटसम्म स्टार्ट गरेर छोड्नुपर्छ । जसले गर्दा ब्याट्री चार्ज हुनमा मद्दत पुग्छ । यस्तै धेरैपछि एकैपटक स्टार्ट गर्न खोज्दा इन्जिनमा समस्या आउन सक्छ । मोटरसाइकल वा स्कुटरको इन्जिन विग्रिएमा यसलाई बनाउन खर्च पनि धेरै लाग्छ ।

पानी पर्ने ठाउँमा नराख्ने 
आफ्नो मोटरसाइकल वा स्कुटर पानीले भिज्ने ठाउँमा राख्न हुँदैन । पानी परिहाल्यो भने पनि राम्रोसँग पुछ्नुपर्छ । पानी पर्यो भने मोटरसाइकलको विभिन्न भागमा खिया लाग्न सक्छ । घामपानी हुँदा मोटरसाईकल तथा स्कुटरको रंग खुइलिने समस्या पनि हुन्छ । त्यसैले घाम, पानी र धुलोबाट जोगाउन खुला नराखीछोपेर राख्न जरुरी छ ।

सफा गर्ने
मोटरसाइकल सुरक्षित ठाँउमा राखेको भए पनि बेलाबेलामा यसका पार्टसहरु सफा गरिरहन पर्छ । मोटरसाइकलमा थुप्रै पार्टस  प्रयोग भएका हुन्छन्  जसले मोटरसाइकल गुड्न उत्तिकै सघाउँछन् । त्यसैले सबै पार्टसको सरसफाई  हेरविचार गर्नुपर्छ । तर लामो समय मोटरसाइकल थन्काएर राख्दा समयमा ल्यूव नगर्ने, सफा नगर्ने गर्दा मोटरसाइकलको चेनस्पोर्केट र ह्याण्डलबारमा भने समस्या नै आउन सक्छ । यसलाई समय समयमा जाँच गर्ने, सफा गर्ने गरेको खण्डमा केही बचाउ गर्न सकिन्छ ।

टायरमा ध्यान दिने 
मोटरसाइकल वा स्कुटर पार्क गरेको ठाउँमा किला–काँटी वा टायरभित्र पस्न सक्ने कुनै वस्तु भए/नभएको ख्याल गर्नुपर्छ । टायर पन्चर हुनबाट जोगाउन सकियो भने अत्यावश्यक परेको खण्डमा हामी यसलाई सजिलै प्रयोग गर्न सक्छौं । टायर पन्चर भईरहेको रहेछ भने पनि यसलाई बनाउने जुक्ति गरिहाल्नुपर्छ, नत्र पछि आफैंलाई वर्कसपसम्म लान पनि समस्या हुन सक्छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया