भारतमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित, २४ घन्टामा ४३७ थपिए

 चैत २०, २०७६ बिहिबार २१:४:५८ | रासस
unn.prixa.net

काठमाण्डौ - भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । भारतमा अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएको छ ।

 २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित भएको बताइएको छ । भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने देशको अवस्था झनै गम्भीर हुने  बताएका छन ।

भारतमा अहिलेसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ ।  सङ्क्रमितहरुमध्ये १४३ जना निको भएर घर फर्किएका छन् । अरु सबैजना अस्पतालमा उपचाररत छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले लकडाउनको अवस्थामा थप कडाइ गर्नुपर्ने धारणा राखेको छ ।

पछिल्ला केही दिनमा भारतमा यसरी सङ्क्रमितहरुको संख्या थपिँदै जान लागेपछि बिहीबार बिहान भारतीय गृहसचिव अजय भल्लाले भारतको गृह प्रशासनको आदेशमा जारी लकडाउनको नीतिलाई अझै कडा रुपमा पालना गराउन सबै राज्य सरकारहरुलाई आग्रह गर्नुभएको छ ।

भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले हालैमात्र त्यहाँ २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गर्नुभएको थियो । भारतमा सबै देशभरमा लकडाउन गरेर सामाजिक दुरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको बताउनुभएको थियो ।

उहाँले नागरिककै स्वास्थ्यका लागि यस्तो नीति लिनुपरेको भन्दै आफ्नो स्वास्थ्यका लागि घरैमा बसिदिन र खाद्यान्न आदि किनमेलका लागि छुट्याइएको समयमा पनि सामाजिक दूरी कायम गरेर किनमेल आदि गर्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया