कान्तिमा शङ्का गरिएका १४ बालबालिकाको ‘रिपोर्ट नेगेटिभ’

 चैत २०, २०७६ बिहिबार २०:१३:४ | रासस
unn.prixa.net

काठमाण्डौ - कान्ति बाल अस्पतालमा  कोभिड-१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि  निको भएर घरसमेत फर्किसकेका छन् । 

ती १४ मध्ये ११ नेपाली र तीन भारतीय बालबालिका रहेको अस्पतालले जनाएको छ । कोभिड-१९ का लक्षणसँग मिल्दा लक्षण देखिएपछि अस्पतालले ती बालबालिकाको टेकुमा रहेकोले शुक्रराज सरुवा रोग अस्पतालमा स्वाब पठाएर परीक्षण गरेको थियो । नौ बालबालिकाका घरमा परिवारका सदस्य विदेशबाट फर्किएकाले शङ्का गरिएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

उहाँका अनुसार बिरामीका परिवार र आफन्तका बारेमा विस्तृत जानकारी लिइएको थियो । त्यस क्रममा यी बालबालिकाको परिवारका सदस्य  विदेशबाट फर्किएपछि अरुको संसर्गमा नआई ‘क्वारेन्टाइन’ बसेको नपाइएको उहाँले बताउनुभयो । 

 कोभिड-१९ का लक्षणसँग मिल्दा लक्षण भएकाले बालबालिका, अभिभावकसँगै अस्पताल आउन पनि डराएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरुमा सङ्क्रमण नभएको पुष्टि भइसकेको छ र नयाँ बिरामी यस्तो लक्षणका आएका छैनन् ।’

 सरकारको निर्देशानुसार अस्पतालले कोभिड–१९ का बिरामी आउन सक्ने भन्दै आवश्यक तयारी गरिसकेको छ । अस्पतालमा ‘आइसोलेसन बेड’ तयारी रहेको र यी बिरामीलाई हेर्न चिकित्सकलाई आवश्यक पर्सनल पोटेक्टिभ इक्युपमेन्ट (पीपीई) तयारी रहेको अस्पताल निर्देशक डा पौडेलले जानकारी दिनुभयो । 

अस्पतालले विभिन्न निकायबाट आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री जोहो गरेको छ । यी पोशाक बिरामी हेर्नुपर्ने प्रथम प्राथमिकताका कर्मचारीले मात्रै प्रयोग गर्छन्। उहाँले भन्नुभयो, ‘कतिपय सरकारले दिएको हो भने कति हामीले खरिद गरेको र कतिपय दाताले सहयोग गरेका छन् ।’

विदेशबाट आएकासँग नजिक रहेको  कुरुवाले जानकारी दिएमा उसलाई ‘आइसोलेसन’ मा राखेर परीक्षण गरिन्छ । परीक्षणको नतिजा पोजेटिभ हुँदा थप उपचार हुन्छ भने  नदेखिएमा उसमा देखिएका स्वास्थ्य समस्याको उपचार हुन्छ । 

यो १४ दिनबीच विदेशबाट परिवारका सदस्य आएको छ भने उसलाई  कोभिड–१९ सँग मिल्दो लक्षण देखिँदा शङ्का गरिन्छ । अहिलेसम्म सङ्क्रमण पुष्टि भएका ६ जना विदेशबाट आएकाले पनि    नेपालमै बसिरहेका व्यक्तिलाई शङ्का नगरिएको हो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म यहाँको समुदायसम्म सङ्क्रमण फैलिइसकेको छैन ।’

‘लकडाउन’ मा जिल्ला जिल्लाबाट वा काठमाण्डौमा पनि आउन सहज नभएकाले अत्यावश्यक बाहेक अस्पताल नआउन भनिएको हो । जुनसुकै बालबालिकामा स्वास्थ्य समस्या देखिँदा ड्युटीमा रहेका चिकित्सकलाई  सोध्न सकिने गरी नम्बर तय भएका छन् । 

अभिभावकले सामान्य रुघाखोकीलगायतका समस्या देखिएकामा ०१४४२७४४९ वा ९८४७३८६२०५ मा फोन गरेर डाक्टरसँग बुझ्न सक्नेछन् । त्यस्तै शल्यक्रियासम्बन्धी समस्याका बारेमा अस्पतालमा ४४४३१३१ वा ९८४७३८६१५० नम्बरमा फोन गरेर बुुझ्न सकिनेछ ।  

अस्पतालका प्रशासकीय अधिकृत गंगाराम गिरीले अस्पतालमा जुनसुकै समयमा सङ्क्रमित बालबालिका आउन सक्ने भनी  तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया