तीन वटा प्रदेशमा कोरोना परीक्षण सुरु, परीक्षणको दायरा बढाउने तयारी

 चैत २१, २०७६ शुक्रबार ९:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोरोना भाइरस (कोभिड १९) परीक्षणको दायरा बढाउने भएको छ । 

यसअघि कोरोनाको शङ्का गरिएका व्यक्तिको मात्र कोरोना परीक्षण गर्ने गरिएकोमा अब शङ्कास्पद लक्षण देखिएका ६० वर्षमाथिका जोर कोहीको पनि परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसैगरी कोभिड १९ पुष्टि भएका व्यक्तिसँग एउटै विमानमा आएका र उनीहरुसँग सम्पर्कमा रहेका अरु व्यक्तिको पनि परीक्षण गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । 

यसैगरी काठमाण्डौको टेकुमा रहेको केन्द्रीय प्रयोगशालामा मात्र कोरोना परीक्षण हुने गरेकोमा बिहीबारदेखि कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा पनि परीक्षण सुरु गरिएको छ । पहिलो दिन हिजो चार जनाको कोरोना परीक्षण गर्दा चारै जनामा कोरोना नभएको पाइएको थियो । 

प्रदेश १ को धरानमा गएको आइतबारदेखि र गण्डकी प्रदेशको पोखरामा मङ्गलबारदेखि कोरोना परीक्षण सुरु भइसकेको छ भने वाग्मती प्रदेशमा शुक्रबारदेखि परीक्षण सुरु गर्ने सरकारको तयारी छ । 

यस्तै प्रदेश २ को जनकपुरमा, प्रदेश ५ को लुम्बिनीमा र सुदुरपश्चिम प्रदेशको धनगढीमा उपकरण जडान गर्ने क्रममा नै रहेकाले कोरोना परीक्षण सुरु गर्न केही दिन लाग्ने मन्त्रालयले जनाएको छ । 

अहिले काठमाण्डौ उपत्यकाको तीन वटा अस्पतालमा १६ जनाको र विभिन्न प्रदेशमा ८९ जना गरी एक सय पाँच जनाको आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा उपचार भइरहेको छ । विभिन्न प्रदेशका एक सय १३ जनाको रिपोर्ट आउँन बाँकी छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया