'लकडाउन' उल्लङ्घन: यात्रु बोक्ने दुई वटा एम्बुलेन्स नियन्त्रणमा

 चैत २१, २०७६ शुक्रबार १२:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बागमती प्रदेशमा दुई वटा एम्बुलेन्स सहित १२ वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विरामीको सट्टा अरु यात्रुलाई बोकेको पाइएपछि दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

यस्तै काठमाण्डौ उपत्यकामा शुक्रबार लकडाउन उल्लङ्घन गर्ने एक हजारभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान ११ बजेसम्ममा काठमाण्डौबाट एक हजार ७५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोधपुछपछि सम्झाइ बुझाइ गरेर एक सय ४९ जनालाई छाडिएको र बाँकी २६ जनालाई अझै पनि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । 

यस्तै प्रदेश १ बाट एक सय ९२ वटा गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

लकडाउनका बेला अत्यावश्यक काम नपरि ननिस्कन प्रहरीले अनुरोध गर्दै आइरहेको छ । अति आवश्यक कामका लागि हिँडेको भए छाडिने नत्र केही बेर नियन्त्रणमा लिएर अब त्यसो नगर्न सम्झाउने अनि जताबाट आएको हो उतै फर्काउने प्रहरीले जनाएको छ ।

प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया