जिल्ला अस्पतालमा छैन थर्माेगन, अन्य थर्माेगनले ज्वरो देखाएन

 चैत २१, २०७६ शुक्रबार १३:११:१२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा–विशेष क्लिनिकमार्फत ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको जिल्ला अस्पताल स्याङ्जामा आवश्यक उपकरण तथा सामाग्री नभएको भन्दै स्वास्थ्यकर्मी चिन्तित बनेका छन् ।

कोरोना भाइरसको रोकथामको लागि देशभर ‘लकडाउन’ गरिएपछि अस्पतालले रुघाखोकी लागेका बिरामीलाई लक्षित गरी छुट्टै ‘फिभर क्लिनिक’ निर्माण गरेको छ । 

जिल्ला अस्पतालमा दैनिक छ, सात जना ज्वरोका बिरामी आउने गरेका छन् । तर उनीहरुको ज्वरो नाप्न अस्पतालमा ‘थर्माेगन’ छैन । ‘थर्माेगन’ नहुँदा समस्या भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील मरासिनीले जानकारी दिनुभयो ।

पुतलीबजार नगरपालिकाले केही थान पीपीई उपलब्ध गराएपनि प्रयाप्त नभएकोले उपचारका क्रममा आफूहरुले असुरक्षित महसुस गरेको डाक्टर मरासिनीको गुनासोे छ ।

अस्पतालमा आउने बिरामीको अवस्थाबारे पहिले सोधपुछ गर्ने र रोगको प्रकृतिअनुसार परीक्षण गर्ने गरिएको जिल्ला अस्पतालका वरिष्ठ स्वास्थ्य अधिकृत माधवप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

बिरामीहरुलाई २४ सै घण्टा सेवा दिइरहेको अस्पतालले जनाएको छ । ‘आवश्यक सामाग्रीको अभाव भएपनि हामीले बिरामीको परीक्षण निरन्तर गरिरहेका छौं,’ अधिकृत भट्टराईले भन्नुभयो ।  

यस्तै वालिङमा पनि छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालन गरिएको ग्रह्रौं प्राथमिक अस्पतालले जनाएको छ । दैनिक ज्वरोका बिरामी आउने गरेको बताउँदै प्राथमिक अस्पतालले आवश्यकताअनुसार उपचार गरिएको जानकारी दिए ।

वालिङमा ज्वरो नाप्ने ‘थर्माेगन’ र केही थान पीपीई बाहिरबाट समेत आएको अस्पतालका वरिष्ठ स्वास्थ्य अधिकृत तथा सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

अस्पतालमा रहेको ‘थर्माेगन’ले ज्वरोका बिरामीको समेत ज्वरो नदेखाउने गरेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया