गाजाको अस्पतालमा इजरायली सेनाको कारबाही शुरु
चैत ६, २०८० मंगलबार
बझाङ – बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा रहेको बादी समुदायमा भोकमरी भएको छ । मागेर जीविका चलाउँदै आएका बादी समुदायमा सरकारले लकडाउन गरेसँगै भोक भोकै बस्नु पर्ने अवस्था आएको छ ।
केही दिन अघिसम्म गाँउ घरबाट मागेर जम्मा गरेको खाद्यान्न सकिएपछि आफूहरु भोक भोकै बस्नु परेको सदरमुकाम चैनपुरकी हरिना बादीले बताउनुभयो । दुई छोराछोरीकी आमा हरिनाले दुई दिनदेखि केही पनि नखाएको तर छोरा छोरीलाई भने पल्लो घरबाट मागेर एक छाक खान दिएको बताउनुभयो ।
बजारमा सबै पसलहरु बन्द छन्, गाँउ घरमा जान पाइँदैन । बिहीबार लुकेर एउटा गाउँमा गए पनि गाँउलेहरुले अन्न दिन नमानेपछि रित्तो हात फर्किनुपरेको उहाँले बताउनुभयो ।
‘आफूभन्दा पनि ससना छोरा–छोरीको माया लागेर आउँछ', उहाँले भन्नुभयो, ‘छोरा–छोरी भोक लाग्यो भन्दै कराएको करायै छन् । यहाँको पालिकाले पनि हेरेकोे छैन । सबैले काम गरेर खाउ भन्छन् । यस्तो समयमा काम पनि कस्ले दिन्छ ?’
हरिनाजस्तै यहाँका १४ परिवार बादी समुदायको अवस्था उस्तै रहेको स्थानीय राधा बादीको भनाइ छ ।
१४ परिवारकै उब्जनी गर्ने जग्गा जमिन समेत नरहेको र बर्षौदेखि मागेरै गुजारा चलाउँदै आएकोमा अहिले माग्न जाने समेत ठाँउ नभएका कारण आफूहरु समस्यामा परेको उहाँले बताउनुभयो ।
अहिलेसम्म आफुहरुको अवस्था बुझ्न उद्योग वाणिज्य संघ बझाङको टोली मात्रै पुगेको र टोलीले चामल दिने भनेर गएका अर्की स्थानीय जानु बादीकाे भनाइ छ ।
यता जयपृथ्वी नगरपलिकाका उपप्रमुख जुना जाग्रीले भने नगरपालिकाल राहतका विषयमा केही निर्णय र त्यसका लागि सबै वडाबाट तथ्यांक संकलन गर्ने काम भैरहेको बताउनु भयो ।
जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दल बहादुर विष्टले भने अहिलेसम्म राहत दिने कार्य नभएको र शनिबारसम्म व्यक्तिगत रुपमा भए पनि राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने बादी समुदायका लागि मात्रै नभएर जिल्लाभन्दा बाहिरबाट मजदुरी गर्न आएकालाई समेत नगरपालिकाले राहत दिने तरीकाले काम गर्न आफूहरुले नगरपालिकालाई अनुरोध गरेको बताउनुभयो ।